देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अक्षर बनिदिए भावहरूको भावभूमि

देशान्तर

ज्ञाननिष्ठ ज्ञवाली

कवि तथा गीतकार अमर रोकाद्वारा रचित अक्षर बनिदिए भावहरू (२०७८) कविता तथा गीतसंग्रह प्रकाशित भएको छ । कवि अमरका कविता र गीतमा मन र जीवनको प्रवाह प्रवाहित भएको छ । कोमल सुललित अनुभूतिका लयात्मक स्वरहरू मुखरित भएका छन् । जीवनका अनेक प्रहरहरू प्रहरित भएका छन् । सरल भाषा र प्रस्तुतिको चमक यहाँ पाइन्छ ।

सु्रुका १० रचनाहरूमा शीतल छहारीको खोजी, उत्साह र उमंगको चाह, मित्रताप्रति आबद्धता, चोटबाट पाएको जीवन अनुभूति, सम्झौताको स्थिति, उज्यालोको चाहना, सहिदप्रति सम्मान भाव, जीवनयात्राको प्रसंग, देवत्वको खोज, कसैप्रतिका भावनाहरू छताछुल्ला पारिएका छन् ।

११ देखि २० सम्मका रचनाहरू इच्छा नै आफू भएको, मनसँगको वियोगावस्था र स्थिति, विचारको घेरो, अरूको सफलताप्रति प्रसन्नताको भाव, स्वच्छ आकाश र स्वतन्त्रताको पक्षधरता, शान्ति र स्वतन्त्रताप्रतिको लगाव, प्रेमपूर्ण हाँसो र खुसीको चाहना, परदेशीका पीडा, जीवनका अनेक आयाम र मोडको प्रस्तुति, प्रतीक्षाको प्रयासजस्ता भावहरूमा आबद्ध रहेका छन् ।

२१ देखि ३० सम्मका रचनाहरूमा आफ्नै गाउँप्रतिको मोह, प्रेयसीको यादको अनुभूति, कमजोर व्यक्तिले नेतृत्व पाउँदाको परिणाम, प्रेमपछि समाधि अर्थात् मोक्षसम्मको चाहना, वास्तविक प्रेमको खोज, पाखापखेरा र विरहका व्यथा, निराकार प्रेमको अधुरो चाहना, आफ्नो जीवनलाई आफैंले डोर्‍याउन सकिने सन्देश, छुटेको साथ र उठेको बासको कहानी, चोट र होसका अनुभूतिहरू प्रस्तुत भएका छन् ।

३१ देखि ४१ सम्मका रचनाहरू खुला आकाशमुनिको उत्मुक्त चाहना, जीवनजगत्को अनुभूति र प्रस्तुति, प्रियतमसँगको मिलनको चाहना, मनको बह, इन्द्रेणीको वहार, नयनका भाकाहरूको सुमधुर स्वर आत्मीयताको महत्व, अतीतका अनुभूति, रङहरूको रङ्गमङ्ग, सपनाका रङहरू, जीवनको अँध्यारो र उज्यालो पक्षको प्रस्तुति विषयमा आबद्ध छन् ।

संरचनागत दृष्टिले हेर्दा प्रस्तुत रचनाहरू लघु आकारका, छोटो समयभित्रै पनि पाठकले आस्वादन गर्न सक्ने खालका छन् । गीतहरू गेयात्मक र श्रुति मधुर रहेका छन् । यी रचनाहरू कवि अमर रोकालाई अमर बनाउने सामथ्र्य बोकेका छन् । आगामी समयमा पनि उहाँलाई सिर्जन यात्राका लागि हार्दिक शुभकामना तथा यस कृतिका लागि बधाई दिन्छु ।