देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भूकम्पको एकवर्षः पीडितले अझै पाएनन् राहत

देशान्तर

भक्तपुर। भक्तपुर नगरपालिका महाकाली मन्दिरको ठिक पछाडि एउटा पुरानो घर छ । त्यही घरको साँघुरो कोठाको एउटा कुनामा भान्सा छ भने बाँकी रहेको ठाउँमा दराज, ड्रम, खाट राखिएका छन् । त्यहीभित्र रश्मिला अवालको चार जनाको परिवार बस्दै आएको छ ।  

गत वर्ष वैशाख १२ गतेको भूकम्पले घर भत्किँदा नौ वर्षकी छोरी सोनिया र पाँच महिनाको छोरा सोनिस पुरिएका थिए । सोनियाको स्थानीयवासीले दुई घण्टापछि तथा सोनिसको २२ घन्टापछि सेनाको टोलीले जीवितै उद्धार गरेको थियो । उक्त घट्नाले सर्वत्र चर्चा पायो । 

भूकम्पपीडित अवाल परिवारले घरको लालपूर्जा नहुँदा रातो परिचयपत्र पाउन सकेको छैन । भूकम्पले विध्वंस गरेपछिको एकवर्ष उहाँहरुको पीडामा बित्यो । “लालपूर्जा नभएकै कारण हामीले परिचयपत्र र राहत पाएनौँ, हामी सुकुम्वासी भएका छौँ” रश्मिलाले भनिन् ।  

भक्तपुर नगरपालिकाको मूलढोकामा रहेको घरमा रश्मिलाले घरमै लुगा सिलाउने काम गर्थिन् ।   उनका श्रीमान् श्याम सवारी चालक थिए ।  भूकम्पले मेसिन टुक्राटुक्रा भएपछि उहाँको रोजगारी खोसियो । “मेसिन किन्न नसक्दा आफूसँग भएको सीप प्रयोग गर्न पाइन, अब बालबालिकालाई कसरी हुर्काउने भन्ने पिर परेको छ” उनले दुखेसो पोखिन् ।  

भूकम्पले जेठाजूका दुई छोरीको ज्यान गयो । सरकारले घर पूर्ण क्षति हुनेलाई रातो कार्ड दियो, टहरा निर्माण गर्न रु १५ हजार तथा न्यानो कपडा किन्न रु १० हजार दिएपनि अवाल परिवारलाई कुनै सुविधा दिइएन । “सुकुम्वासी हुँदा समेत हामी सरकारको नजरमा भूकम्पीपडित भएनौँ” उनले पीडा सुनाइन् ।  रश्मिलासँग अहिले नत सिलाई मेसिन किन्ने पैसा छ नत छोराछोरीको इच्छाअनुसार पढाउने क्षमता नै छ । 

वास्तविक मूल्याङ्कन गरेर भूकम्पपीडितलाई परिचयपत्र र राहत दिनुपर्ने तथा पीडितका सन्तानलाई पढाउन छात्रवृत्ति उपलब्ध गराउन अवाल परिवारले सरकारसँग माग गरेको छ ।  

]]>