देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मोहत्तरीमा खानेपानीको हाहाकार

देशान्तर

बर्दिवास। बर्दिवास नगरपालिका क्षेत्रमा खानेपानीको हाहाकार मच्चिएको छ । 

नगरपालिकाको किसाननगरमा इनार धमाधम सुक्न थालेपछि खानेपानीको हाहाकार मच्चिएको हो । सर्वसाधारण यसको कारण खोतल्दै चुरे संरक्षण गर्नुपर्ने टुङ्गोमा पुगेका छन् । किसाननगरका मनहरीपुर, कृष्णपुर, फूलबारीटोल, चौलिखा, प्रेमनगरसहितका बस्तीमा खानेपानीका स्रोत सुक्न थालेपछि स्थानीयबासिन्दा चुरे क्षेत्रको लगातारको उत्खनन, वनसम्पदाको चोरी निकासी र संरक्षण नपाएका जलाधार तथा सीमसार क्षेत्रबारे चासो देखाउन थालेका छन् । 

“हामीले बल्ल चुरे विनासले पानीका मुहान सुकेका थाहा पायौँ,” स्थानीय सुजोतियादेवी पञ्जियारले भनिन् ।  पानीको मुहान सुक्न नदिन चुरे संरक्षण र वन विनास नियन्त्रणमा लाग्नुपर्ने उनी बताउछिन् ।  सडक, खानेपानी, विद्युत् र शिक्षासहितका पूर्वाधारको समुचित प्रबन्ध बिना बर्दिवास नगरपालिकामा गाभिएको किसाननगरमा अहिले खानेपानीको अभावले यहाँका बासिन्दा काकाकुल अवस्थामा छन् । 

चुरे दोहन र वन विनासका कारण पानीका मुहान सुक्दै गएको थाहापाएपछि यहाँका बासिन्दा सङ्गठित रुपमै चुरे संरक्षणमा लागेका छन् । वन अतिक्रमण, रुख कटान र चुरे क्षेत्रका वनसम्पदाको दोहन राजनीतिक संरक्षणमा भइरहेकाले त्यसतर्फ राजनीतिक दलको सहयोग आवश्यक भएको स्थानीय धनबहादुर स्याङ्वाको भनाइ छ । 

नगरपालिकाका गणन्ता, ढुङ्ग्रे, बरडाँडा, टुटेश्वर र भब्सी तथा हात्तीलेट, बिजलपुरा, पशुपतिनगर र भङ्गाहा गाविसका बस्तीमा खानेपानीका स्रोत धमाधम सुक्दै गएका छन् । बर्दिवास नगरपालिकाको मुख्य बजार, हटिया र चोक क्षेत्रमा भण्डारण केन्द्रमा पानीको कमी भएपछि धारामा पानी आउन छाडेको छ ।

]]>