काठमाण्डौ – स्मार्ट शौचालय निर्माण तथा शौचालय आधुनिकीकरणको काम गर्दै आएको एरोसान संयुक्त राष्ट्रसङ्घ विज्ञान, प्रविधि र नविनता पुरस्कारबाट सम्मानित भएको छ ।
स्मार्ट नमुना सार्वजनिक शौचालयका लागि संस्था पुरस्कृत भएको एरोसान सस्टेनेबल स्यानिटेसनका प्रमुख कार्यकारी प्रकाश अमात्यले जानकारी दिए ।
एरोसानले संयुक्त राष्ट्रसङ्घले हिजो गरेको भर्चुअल सम्मेलनमा आफ्नो नमुना शौचालयको प्रस्तुति समेत दिएको छ । एरोसानले काठमाण्डौ महानगरपालिका र ललितपुर महानगरपालिकामा नयाँ स्मार्ट शौचालय र भएका पुराना सार्वजनिक शौचालयको पुनःनिर्माण गरी अत्याधुनिक शौचालयमा रुपान्तरण गरेर रत्नपार्क, नयाँ बानेश्वर, बुद्धपार्क र मंगलबजारमा गरेर चार वटा नमुना सार्वजनिक शौचालय सञ्चालनमा ल्याइसकेको छ ।
त्यसैगरी त्रिपुरेश्वर र पाटन ढोकामा यही वर्षबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रमुख कार्यकारी प्रकाश अमात्यले जानकारी दिए ।
एरोसानहबद्वारा सञ्चालित सार्वजनिक शौचालय अत्याधुनिक, स्वच्छ, महिला मैत्री, अपाङ्ग मैत्री र समुदायमा आधारित छन् । शौचालयहरुमा महिलाहरुको लागि स्वचालित मेसिनबाट स्यानिटरी प्याड किन्ने व्यवस्था गरिनुका साथै प्रयोग भएको प्याडको व्यवस्थापनका लागि प्याड जलाउने मेसिन पनि जडान गरिएको छ ।
एरोसानले काठमाण्डौ उपत्यका क्षेत्र भित्रका महानगरपालिका र नगरपालिकामा ५० वटा महिला मैत्री, अपाङ्ग मैत्री, पहुँचयुक्त सार्वजनिक शौचालयको निर्माण गर्ने उद्देश्य लिएको जनाएको छ ।
प्रतिक्रिया