देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रहरी अस्पतालमा अक्सिजन उत्पादन शुरू

देशान्तर

काठमाडौं । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा अक्सिजन उत्पादन शुरु गरिएको छ । उक्त अस्पतालले दैनिक १४० सिलिन्डर उत्पादन क्षमताको ‘डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम’ सञ्चालनमा ल्याएको हो ।

यहाँ प्रतिसिलिण्डर ४६ लिटर अक्सिजन क्षमता रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार अस्पतालमा खपत हुनेभन्दा बढी अक्सिजन उत्पादन हुने भएकाले महामारीको समयमा अन्य क्षेत्रमा मागअनुसार अक्सिजन वितरण हुनेछ ।

कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिण्डर फिलिङस्टेसनलगायतका उपकरण राखिएको उक्त सिस्टम ‘युनाइटेड नेसन अफिस फर प्रोजेक्ट सर्भिसेज’ (युएनओपिएस) को सहयोगमा करिब तीन करोड लागतमा सञ्चालनमा ल्याइएको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंगलबार उक्त सिस्टमको निरीक्षण गर्दै यसले काम गर्ने पद्धतिबारे जानकारी लिए । उनले अस्पतालका विभिन्न विभाग कोभिड–१९ बाट संक्रमितको उपचार सेवा, नयाँ थप भएका शय्या, पिसिआर परीक्षणस्थल लगायतको समेत निरीक्षण गरे ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अक्सिजन सिस्टम निर्माणमा सहयोग पुर्‍याउने संस्थालाई धन्यवाद दिँदै यसबाट अस्पतालको उपचार पद्धति तुलनात्मक रुपमा अझै राम्रो हुने विश्वास व्यक्त गरे । अस्पतालको सेवालाई उत्कृष्ट बनाउन सबैले आ-आफ्नो क्षेत्रबाट सक्रिय हुनुपर्ने र यसका लागि प्रहरी प्रधान कार्यालयको पूर्ण साथ र सहयोग कायम रहने उनले बताए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालले उत्कृष्ट सेवा दिने र बिरामी निको पार्ने विषयमा सबैले एकिकृत प्रयास गरी काम गर्नुपर्ने बताए । राम्रो सेवा, असल व्यवहार र उपलब्ध साधन स्रोत तथा जनशक्ति व्यवस्थापनमा अझै सुधार गर्दै समूहगत रुपमा लाग्दा वर्तमान महामारीलाई परास्त गर्न सहज हुने उनले बताए ।

उनले चुनौतीपूर्ण अवस्थामा जोखिम मोल्दै अस्पतालले राम्रो काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत चुनौतीलाई अवसरको रुपमा लिएर चनाखो भई इमानदारी पूर्वक काम गर्न अस्पतालका कर्मचारीलाई निर्देशन दिए । उपचारको साथै बिरामी र तिनका आफन्तलाई सूचना तथा सुझाव दिने, बिरामीको अवस्था बुझ्नको लागि छुट्टै टेलिफोनको व्यवस्था गर्ने, काउन्सिलिङ गर्ने र आफ्नो कर्तव्यप्रति दत्तचित्त भई लाग्नुपर्नेमा उनले जोड दिए ।

उक्त अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले अस्पतालबाट भए गरेका काम कारबाही र उपचारको अवस्थाबारे जानकारी गराएकी थिइन् ।