देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धरहराको भयो, पातालको उद्घाटन कहिले ?

देशान्तर

माथवरसिंह बस्नेत

काठमाडौंमा धरहरा छ । त्यो अहिले होइन, मुख्तियार भीमसेन थापाको पालादेखि नै छ । हो, धरहरा दुई पटक भत्क्यो । दुवै पटक धरहरा फेरि बन्यो । अर्थात् धरहरा भत्केपछि जीर्णोद्धार भएको हो, पहिले पनि, अहिले पनि । नयाँ निर्माण भएको होइन । २०७२ सालको भूकम्पमा भत्किएकाले पाताल भासिन पुगेको थियो, त्यसैले पुनः निर्माण गरिएको हो । भीमसेन थापाले निर्माण गरेको धरहरा विसं १९९० सालको भूकम्पमा भत्केको थियो । त्यसबेला पनि उत्तिबेलाको सरकारले यसपालि जस्तै त्यो समयको उपलब्ध सबैभन्दा राम्रा निर्माण सामग्रीको प्रयोग गरेर जीर्णोद्धार गरेको थियो, यसपालि चाहिँ भूकम्प प्रतिरोधी प्रविधिबाट पुनर्निर्माण भएको छ । होइन भने भुइँचालोमा ढलेका हजारौं घर जसरी जगैदेखि फेरि उठे, त्यसैगरी धरहरा पनि उही ठाउँमा उसैगरी ठडियो, कुरा त्यत्ति हो । कम्युनिस्ट सरकारले काटे मुसाको कान, जोगाएँ ससुराको धन भन्ने कथा स्मरण गराएको मात्र हो ।

एक समय थियो, सरकारले उपत्यकाका तीन सहरमा जरुरी सार्वजनिक सूचना जारी गर्नुप¥यो भने पहिले धरहराबाट बिगुल फुक्न लगाउँथ्यो, त्यसपछि झ्याली पिट्ने टोलीले तीनै सहरका मुख्यमुख्य केन्द्रमा मल्लकालमा निर्मित डबलीमा खडा भएर सरकारी सूचना विस्तारमा पढेर सुनाउँथे– अहिले रेडियो र टेलिभिजनका समाचारवाचकले जसरी समाचार सम्प्रेषण गर्छन्, त्यसै गरेर । धरहराबाट बिगुल फुक्ने सेवा पहिलो पटक १९९० सालको भूकम्पले खोसेको थियो, २००७ सालको क्रान्तिपछिका सरकारले नै बन्द गरिदिएको थियो– रेडियो नेपालले त्यो काम गर्ने भएकाले ।

मन्दिर, पाटी, पौवा, ढुंगेधारा आदि निर्माण गरेर कीर्ति राख्ने जमानामा मुख्तियार भीमसेन थापाले धरहरा, कुन प्रेरणाले किन बनाएका थिए, त्यसको अन्तर्य प्रष्ट कतै भेटिएको छैन । एकथरी भन्छन्, राजा रणबहादुर शाहलाई आफ्नै झड्केला भाइ शेरबहादुर शाहले भारदारी सभामै तरबार प्रहार गरेर मारेको र त्यही हत्याकाण्डबाट भीमसेन थापाले आफ्ना विरोधी भारदार सयौंलाई एकै चिहान पारेर सर्वसत्तावादी तानाशाह बनेकाले त्यो हत्याकाण्डको पाप पखाल्न अथवा प्रायश्चित गर्न धरहरा बनाएका हुन् । तर अर्काथरीको तर्क बेग्लै छ । उनीहरू भन्छन्– नेपालका पुराना अनुभवी जर्नेलहरू तथा भारदारहरूको भारतको इस्ट इन्डिया कम्पनी सरकारसँग युद्ध गर्नु हुँदैन भन्दाभन्दै पनि मुख्तियार भीमसेन थापाको निजी र व्यक्तिगत हठले युद्ध भएको र त्यो युद्धमा नेपालले तीनखण्डको एक खण्ड भूभाग गुमाउनु परेकाले पराजयको घाउ पुर्न उनले धरहरा निर्माण गरेका हुन् । कारण जेसुकै भए पनि उनले त्यसको निर्माण गरेकाले त्यसलाई ‘भीमसेन स्तम्भ’ भन्ने गरिएको हो ।

त्यो ऐतिहासिक भीमसेन स्तम्भको पुनर्निर्माण हुनै पर्ने थियो, भयो । जनताले तिरेको करबाटै त्यो काम हुनुपर्ने थियो त्यो पनि भयो । त्यहाँसम्म त ठीकै थियो । तर त्यसको उद्घाटन गरेर वर्तमान कम्युनिस्ट प्रधानमन्त्री ओलीले धरहरा र भीमसेन थापा, दुवैको घोर अपमान गरे । नेपाली जनताको भयानक आपत्ति र विरोध त्यसमा हो । अर्काको कीर्तिलाई आफ्नो र आफूले बनाएको झलक दिनेगरी प्रचार गर्नु अपराधको श्रेणीको पाखण्ड हो । नपाएको पगरी गुँथ्नुलाई त्यही कारण मुलुकी ऐनले अपराध घोषित गरेको छ । ओलीको प्रचारमोहको बीभत्सता, त्यसकारण पनि निन्दनीय मात्र होइन, आपराधिक घटना मानिएको हो ।

राजा महेन्द्रले आफ्नो राज्याभिषेक अगाडि त्यो अवसरलाई महिमामण्डित तुल्याउन उपत्यकाका सबै पुराना प्रमुख मन्दिरको जीर्णोद्धार गर्न लगाएर आफ्ना नाममा शिलालेखसमेत खडा गर्न लगाएका थिए । त्यसका अवशेष ठूला मन्दिरका वरिपरि अझै देख्न सकिन्छ । राजाका हैसियतबाट उनले आफैंले मर्मत गर्न अथवा बनाउन लगाएको भए पनि शिलान्यास अथवा उद्घाटन भने गरेका थिएनन् र अरूलाई गर्न पनि लगाएनन् । पुरानै मन्दिरका झ्याल–ढोका टुँडाल, छाना तथा गजुर क्षतिग्रस्त भएकाले तिनलाई भत्काएर उस्तै डिजाइनमा नयाँ निर्माण गर्न लगाएकाले तिनको उद्घाटन नगरिएको हो । त्यसकारण पनि उनले अरू राजाका कीर्तिलाई आफूले निर्माण गरेको दाबी गरेनन्, त्यसैले जीर्णोद्धार गरिएका मन्दिरको पुनः उद्घाटनको नाटक उनले देखाएनन् । उनको शेषपछि राजा बनेका वीरेन्द्र्रका पालामा त त्यो चलन नै हरायो, किनभने उनले त्यस्तो

मध्ययुगलाई स्मरण गराउने सामन्ति परम्परालाई निरन्तरता दिन चाहेनन् । उनका पालामा पनि धेरै मन्दिर तथा देवालयहरूको जीर्णोद्धार अवश्य भएका थिए । तर ती सबै पुराना कलाकृतिको जगेर्ना गर्ने उद्देश्यले पुनःनिर्माण भएकाले उद्घाटन गर्न अनावश्यक मात्र देखेका होइनन्, उनका प्रशासकहरूले पनि त्यसको खाँचो अनुभव गरेनन् ।

पुराना दरबार, मन्दिर, भवन, पोखरी आदि सबैथोकको खोजीखोजी जीर्णोद्धार र मर्मत गराउँदै उद्घाटन गर्ने रहर मेट्ने नै हो भने त्यसका निम्ति सर्वोत्तम विकल्प हो– कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको कब्जाबाट फिर्ता ल्याएर त्यो भूभागको नयाँ नामकरण गरेर एउटा भव्य समारोहका बीचमा उद्घाटन गरे त त्योभन्दा ठूलो गौरव र प्रतिष्ठाको घटना अर्को कुन हुन सक्थ्यो र ! तर त्यसका लागि भारतसँग राजनीतिक स्तरमा कुरा गरेर मात्र पुग्दैन । ओलीजीका खास इष्ट तथा मित्रहरू सामन्त गोयल र जनरल नरवणेको भित्री र बाहिरी दुवै प्रकारको सहमति र सहयोग चाहिन्छ । २०७२ सालको ओली सरकारका विरुद्ध आर्थिक नाकाबन्दीका बेला जुटेको त्यस्तो सहयोगले ओलीलाई “महान् राष्ट्रवादी नेता”को अपूर्व छवि प्राप्त भएको थियो । फलस्वरूप विश्वबाट मात्र होइन, भारतबाट समेत लुप्त भएको कम्युनिस्ट पार्टीले नेपालमा झन्डै दुई तिहाइ बहुमत ल्याएको थियो । त्यस्तै चमत्कार, नेपालको नयाँ नक्सा प्रकरणमा पनि दोहोरिएकै हो । नक्साका ठाउँमा नक्सा प्रकाशित हुने, तर भू–भाग भने फर्काउन नपर्ने ! आहा, कस्तो न्यानो सद्भावना, कस्तो उदार समझदारी ! सक्छन्, अरू कसैले त्यस्तो जादुगरी प्रदर्शन गर्न ?

समृद्ध नेपालका सुखी नेपालीले चीनमा उत्पादित तथा विश्वव्यापी महामारी भएर फैलिएको कोरोना भारतहुँदै नेपाल प्रवेश गरेर ताण्डव मच्चाइरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली अर्को ऐतिहासिक फड्को मार्ने तयारीमा जुटेका छन्, जसबाट नेपाली जनतालाई पहिलेभन्दा ठूलो र आश्चर्यजनक सरप्राइज मिल्ने ठोकुवा गर्न थालिएको छ । त्यो हो, भारतले पुरानो नक्साअनुसार निर्माण गरेको बहुचर्चित कालापानी, लिम्पियाधुरा, लिपुलेकहुँदै मानसरोवर जोड्ने त्रिदेशीय राजमार्गको समुद्घाटन गर्ने योजना । शिलान्यास र उद्घाटन भनेपछि हुरुक्कै हुने ओलीलाई अन्तर्राष्ट्रियस्तरको उक्त परियोजनाको उद्घाटन गर्ने अवसर जुराएर उनको पाताल प्रवेशको मूल ढोकाको उद्घाटनको पनि मार्ग प्रशस्त भारतले नै पारिदिन लागेको बताइएको छ । स्वर्गको बाटो ओलीका लागि अवरुद्ध भएकाले पातालको विकल्प उपलब्ध गराउन त्यस्तो तारतम्य मिलाइदिन लागेको हो भनिन्छ । सत्य के हो, त्यो समय आएपछि देखिने नै छ ।