देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोभिड संकटमा पनि वीरको भ्रष्टाचार रोकिएन

देशान्तर

काठमाडौं । यतिबेला जनताको भरोसाको एक मात्र केन्द्र अस्पताल हो । कोभिड महामारीको चपेटामा परेका जनता अस्पतालमा ज्यान जोगिने आशाले जाने गर्छन् । त्यसमाथि सरकारी अस्पतालको सेवाप्रति सर्वसाधारणको चासो हुने गरेको छ । सरकारी अस्पतालमा गए निःशुल्क वा अत्यन्तै न्यून मूल्यमा उपचार सेवा पाइने उनीहरूको बुझाइ हुने गर्छ । विशेषगरी निमुखा वर्गको आशाको केन्द्र नै सरकारी अस्पताल रहेको छ । तर त्यही सरकारी अस्पतालमा भ्रष्टाचारको दलदलमा फसेपछि गरिब÷निमुखा जनताले कसरी उपचार सेवा पाउने ?

प्रसंग हो– मुलुकको एक मात्र जेठो सरकारी अस्पताल वीर अस्पतालको । कोभिड महामारीमा समेत वीर अस्पताल र ट्रमा सेन्टरमा व्यापक भष्ट्राचार भएको तथ्य प्रमाणसहित अख्तियारसहितका सम्बन्धित निकायहरूमा उजुरी परेको छ । वीर अस्पतालको कर्मचारी युनियनले नै वीर अस्पतालमा भएका भ्रष्टाचारको उजुरी गर्दै प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा तथा स्वास्थ्य समिति, सीसीएमसी, अख्तियार, सतर्कता केन्द्र, स्वास्थ्यमन्त्री, स्वास्थ्य राज्यमन्त्री, स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभाग, सम्पत्ति शुद्धीकरण विभाग न्याम्सका पदाधिकारीलगायतलाई उक्त भष्टाचार छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्ने माग गरेको छ ।

उजुरीमा अस्पतालको खरिद एकाइले गरेको भष्ट्राचार, उपकरणहरू अक्सिजन, मनिटर, भेन्टिलेटर, एबीजी मेसिन, कमिसन नपाएका कारण मर्मत नगरेको, कोटेसनमा महँगोमा सामान तथा ओपीडी छाप किनेको, कोभिड भत्ता र होटललाई शुल्क भुक्तानी गर्दा अनियमितता गरेको, अघिल्लो वर्षदेखिकै कोभिड भत्ता, शैक्षिक भत्ता, सेवा विस्तार भत्ता, औषधि उपचार खर्च नदिएको, अस्थायी, करार, ज्यालादारी कर्मचारीलाई समयमै तलब भत्ता नदिएको, उनीहरूलाई समान सेवा नदिएको, कोभिड भ्याक्सिनमा अहेबहरू युवराज सुवेदी र नवराज श्रेष्ठले अनियमितता गरेको लगायतका विषय समेटिएका छन् । युनियनले भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर्न र अस्पतालमा तत्काल योग्य, सक्षम तथा यी माथिका भ्रष्टाचारको विषयमा कारबाही गर्न सक्ने निर्देशक नियुक्तिको पनि माग राखेका छन् । माग सम्बोधन नभए कडा कदम चाल्न बाध्य हुने कर्मचारी संघका एक पदाधिकारीले बताए ।

उजुरी जस्ताको तस्तै

विषय : कोभिड महामारीमा पनि वीर अस्पताल र ट्रमा सेन्टरमा व्यापक अनियमितता भएको हुँदा छानबिन गरी कारबाही गरी पाउँ भन्नेबारे ।

सम्माननीयज्यू, माननीय तथा श्रीमान्ज्यू

देशकै ठूलो र पुरानो अस्पताल र पटकपटक अनियमितता हुँदै आइरहेको र सो सम्बन्धमा समाचार प्रकाशित भइरहेको अवगतै होला ।

वीर अस्पतालमा अनियमितता भएको सम्बन्धमा सार्वजनिक खरिद अनुगमनको कार्यालयको वार्षिक प्रतिवेदन २०७५/०७६, महालेखाको वार्षिक प्रतिवेदन २०७५/०७६ राष्ट्रिय सतर्कता केन्द्र २०७५ असोजको प्रतिवेदनले कर्मचारी भर्ना, उपकरण खरिद, खरिद एकाइ गठन र आफू निकटसँग महँगोमा कोटेसनमार्फत सामान आयात र अस्पतालभित्रको निर्माण कार्य गर्दा आफूनिकटलाई कोटेसन लिँदै महँगोमा दिने गरेको हुँदा जिम्मेवार खरिद प्रमुख, तत्कालीन उपकुलपति र ट्रमाको निर्देशकलाई कारबाही र सो रकम असुल उपर गर्ने भनी प्रतिवेदन दिएको तर हालसम्म कुनै कारबाही भएको छैन ।

हालै कोभिड महामारीमा २०७७/०७८ को अनियमितता

१. फिभर क्लिनिकमा अहेब युवराज सुवेदीले पीसीआर गर्न आउनेहरूसँग रु. एक हजार लिँदै अस्पताल प्रशासकबाट गरिब भनेर फ्रि गराएर जाँच गराउने गरेको र प्रतिव्यक्ति एक हजार आफ्नो खल्तीमा हाल्ने गरेको फोकल पर्सन डा. अच्युत कार्कीले भने नदेखेझै गरेको ।

२ कोभिड भ्याक्सिन कोभोसिल्ड दोस्रो मात्रा दिँदा दर्जंनौंसँग पैसा लिई पहिलो मात्रा भन्दै सुवेदीले लगाउने गरेको ।

३ सुवेदी र श्रेष्ठले कोभिड भ्याक्सिन भेरोसेल दिँदा विदेशी, नेपालमा व्यापार गर्ने भारतीय, फाइनान्समा काम गर्नेहरूसँग रु. २०–३० हजारसम्म लिँदै खोप लगाउने गरेको सोको प्रमाण त्यहाँ कार्यरत अन्य स्वास्थ्यकर्मी र सुरक्षा गार्ड र ट्रमा तथा वीर अस्पतालका सयांै कर्मचारीले समेत भनेको र बताउने गरेका छन् ।

४. भ्याक्सिनको भत्ता सुवेदी र कोभिड फोकल पर्सन डा. अच्युत कार्कीले मात्र लिने गरेको अन्य सुरक्षाकर्मी तथा अन्य खटिने कर्मचारीलाई भत्ता नदिएको । कोभिडको अघिल्लो सालको भत्ता पनि कर्मचारीलाई डा. अच्युत कार्कीले उपलब्ध गराउन नसकेको र कोभिड संक्रमित कर्मचारीहरूले हालसम्म पनि अघिल्लो वर्षको बिमाको रकम उपलब्ध नगराएको । कोभिड संक्रमित कर्मचारीलाई गत वर्ष जमल र सुन्धाराको होटलमा राख्दा करोडौं अनियमितता खरिद प्रमुख र डा. अच्च्युत कार्कीले गरेको ।

५. गत २०७७ कात्तिक २१ मा अख्तियार दुरुपयोग अनुसंधान आयोगले वीर अस्पतालमा बिग्रिएका उपकरण कसरी, कहिले र कतिमा किनेको सबै रेकर्ड एक हप्ताभित्र पठाउन पत्राचार गरे वीर अस्पतालका भ्रष्टहरूले हालसम्म सोको जवाफ नपठाएको ।

६. २०७७ मंसिर १० गते च न ३५९ को पत्रमार्फत स्वास्थ्य मन्त्रालयले १०० बेड वार्ड सञ्चालन गरी सोको जानकारी दिन ताकेता गरे पनि बार्ड सञ्चालनलाई आवश्यक बेड, मनिटरलगायत सामान कोसँग किन्ने भन्ने र कसले बढी कमिसन दिन्छ भनेर खरिद प्रमुख थपलिया, खरिदकै अरुण महतो, श्याम बिक कोभिड फोकल पर्सन डा. अच्युत कार्कीबीच कमिसनको कुरा नमिल्दा यस्तो महामारीमा समेत उक्त एचडीयू बार्ड सञ्चालनलाई कुनै प्रक्रिया अघि बढाएका छैनन् ।

७. यस्तो कोभिड महामारीमा अति आवश्यक मनिटर, भेन्टिलेटर, अक्सिजन मेसिन, एबीजी मेसिन, बेडलगायत उपकरण तथा सामानहरू कमिसनको कुरा नमिल्दा खरिद एकाइले मर्मत गरेको छैन । सो खरिद एकाइमा १० जना को टिम विगत ६ वर्षदेखि बसिरहेका छन् ।

८. यस्तो महामारीमा समेत वीरका भ्रष्ट खरिद एकाइले अस्पताल ओपीडीको काठको छाप रु ८०–९० मा पाइनेलाई रु. ५२५ रुपैयाँमा १५० वटा खरिद गरेको छ सो पनि खरिद एकाइकै कर्मचारी निकट श्रीचौरी गगा सप्लाईसँग खरिद गरेको हो ।

९ अस्थायी, करार ज्यालादारी कर्मचारीलाई तीन—तीन महिनासम्म तलब नदिने गरेको र भत्तामा समेत विभेद गर्ने गरेको ।

१०. वीर अस्पतालमा १८ जना सुरक्षाकर्मी (गार्ड) ठेक्कामा लिए पनि खरिद एकाइले १२ जनालाई १२ घण्टा काममा लगाई श्रमशोसण गरेको र बाँकी ६ जनाको पैसा ठेकेदार कम्पनीसँग खरिद एकाइले खाने गरेको ।

११. विगत ५ वर्षदेखि वीर अस्पताल अगाडिको औषधि पसल खरिद एकाइले करोडौं कमिसन लिई टेन्डर नै नगरी सञ्चालन गरिरहेको ।

१२. स्वास्थ्य कर्मचारी समायोजनमा वीर अस्पतालमा नै समायोजन हुन वीर अस्पतालका केही स्वास्थ्यकर्मी युवराज सुवेदीलगायतले बिरामी नभए पनि जटिल रोग लागेको भन्दै मेडिकल बोर्डबाट नक्कली बिरामी भएको बोर्ड सिफारिस बनाई स्वास्थ्य मन्त्रालयमा पेस गरी हाल वीर अस्पतालमा नै बसिरहेका छन् । यस्ता दरबन्दीभन्दा बढी ८० जना कर्मचारी छन् ।

१३. ट्रमा सेन्टरमा नि.मेसु डा. सन्तोष पौडेल, करार सेवाका डा. गौरव ढकाल र नर्सिंङ प्रमुख सोचना सापकोटाको मिलेमतोमा पैसा लिँदै अनियमितता तरिकाले कर्मचारी भर्ना गरेको ।

१४. ट्रमा सेन्टरमा डा. सन्तोष र डा. ढकालले नियमविपरीत क्यान्टिन ठेक्का दिएको, विभागीय प्रमुख, बार्ड प्रमुखको राय सल्लाहविपरीत महँगोमा सि–आर्म, डेक्सा मेसिन, गुणस्तरहीन ऐम्बुलेन्स खरिद गरेको, अपरेसन गर्दा महँगो सामान उनीहरू कमिसन दिने कम्पनीको मात्र प्रयोग गर्ने गरेको र अन्य कम्पनीको सामान, औषधि बिरामीले किनेमा अपरेसन नै नगर्ने गरेको छन् ।