देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वसन्तपुरका सांस्कृतिक सम्पदा पुनः निर्माण सुरु

देशान्तर

काठमाडौँ। गत वर्ष वैशाख १२ र २९ गतेको भूकम्प एवम् पटक–पटकको परकम्पले क्षतिग्रस्त वसन्तपुरस्थित सांस्कृतिक सम्पदाको पुनःनिर्माण सुरु भएको छ । 

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आयोजित कार्यक्रममा वंशगोपाल मन्दिर पुनःनिर्माणको शुभारम्भ गर्नु भई वसन्तपुरका धार्मिक, पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक सम्पदा बनाउने अभियान सुरु गरेका हुन् ।  

पुनःनिर्माणको शुभारम्भ गर्दै नेता पौडेलले भूकम्पबाट क्षतिग्रस्त सम्पदा एवम् जनताको घर निर्माण गर्न सरकारले तदारुकता दिन नसकेको बताए ।  “सरकारले पुनःनिर्माण सुरु गर्न ढिलाइ गर्दा दाताले दिएको अनुदान फिर्ता जाने खतरा बढेको छ, एक वर्षसम्म सरकारले पुनःनिर्माणको काम अघि बढाउन सकेन, यसबाट सबैमा निराशा छाएको छ”–उनले भने ।  

सञ्चारकर्मीसँग कुरा गर्दै सांसद नवीन्द्रराज जोशीले पुनःनिर्माण सुरु गरिएका सांस्कृतिक सम्पदाको मौलिकता नबिगारी बनाइनुपर्ने माग गरे ।  “पुरातात्विकस्थल निर्माणमा प्रयोग हुने काठ ठेकेदारले ल्याएमा राम्रो नआउन सक्छ, सरकारले नै ल्याएर दिएमा मात्र पुरानै स्वरुपमा सम्पदाको पुनःनिर्माण हुनसक्छ”उनले भने  । 

काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सांस्कृतिक सम्पदाको पुनःनिर्माण पुरानै स्वरुपमा गरिने प्रतिबद्धता जनाए ।  

भूकम्पमा पूर्ण क्षति भएका १०४ सम्पदामध्ये ४९ सम्पदा पुनःनिर्माणका लागि ठेक्का गरी आजबाट काम सुरु गरिएको पुरातत्व विभागले जनाएको छ । 

आज सोमबार वसन्तपुरको वंशागोपाल मन्दिरसँगै स्वयम्भूको अनन्तपुर, पाटन दरबार क्षेत्रस्थित मणिमण्डप र भक्तपुरस्थित फसीवेग एवम् लायकू दरबारको ढोका पुनःनिर्माणको शुभारम्भ गर्ने कार्यक्रम सम्पन्न भएको छ । 

]]>