देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धरहरा बनेको खुशीयालीमा घर-घरमा दिपावली गरौँ : प्रधानमन्त्री ओली

देशान्तर

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा बनेको खुशीयालीमा दिपावली गर्न आग्रह गरेका छन् ।  धरहराको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै उनले आआफ्ना घरमा साँझ दिपावली गर्न सबैलाई आव्हान गरेका हुन् ।

उनले पुन:र्निर्माणका काममा कोभिडले केही असर गरेपनि आवश्यक सतर्कता अपनाउँदै सरकारले विकास निर्माणका कामलाई निरन्तरता दिइएको र निरन्तर प्रयासले नै धरहराको पुनर्निर्माण सम्पन्न भएको बताए । प्रधानमन्त्री ओलीले महाभुकम्पको समयमा धरहरा भत्किएर जीवन गुमाएका सदस्यको परिवारलाई धरहराको संरचनाभित्र काम गर्न पाउनेगरी प्रतिपरिवार एक जनाका दरले रोजगारी उपलब्ध गराउन पनि आग्रह गरे ।

वर्तमान सरकारले समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय अभियान अन्तर्गत कोही पनि भोकै नरहने गरी नेपाललाई विकसित राष्ट्र बनाउने प्रतिबद्धता जनाए । उनले धरहरा निर्माणले नेपालीले चाहे सबै गर्न सक्छन् भन्ने सन्देश पनि दिएको उल्लेख गर्दै अब राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रको रुपमा उभ्याउनुपर्ने आवश्यकता औल्याए । प्रधानमन्त्री ओलीले भने, ‘देश हामीले बनाउने हो र हामी बनाउन सक्छौ । नेपाली जाति भिख माग्ने होइन दाता जाति हो र यसलाई दाताको हैसियतमा उठाउनुपर्छ । हामीले हाम्रो राष्ट्रलाई सम्पन्न र दाता राष्ट्रको रुपमा उभ्याउनुपर्छ ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई कमजोर बनाउन प्रयास गर्ने सबै शक्तिहरु कमजोर हुँदै गएको बताए । नयाँ शासकीय व्यवस्थासँगै लोकतन्त्र सुदृढ हुँदै गएको र लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहहरु कमजोर हुँदै गएको बताए । उनले भने, ‘लोकतन्त्र सुदृढ हुँदै गएको छ । लोकतन्त्रलाई कमजोर पार्न खोज्नेहरु दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहहरु कमजोर हुँदै गएका छन् । र विभिन्न प्रकारले देश, जनता, विकास, समृद्धि र जनताको सुखसँग मतलब नभएका स्वार्थमा तल्लिन तत्वहरु छटपटाइरहेका छन् ।’