देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टी-२० सिरिज : नेपाल नेदरल्याण्ड्स पराजित

देशान्तर

काठमाडौँ – त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग तीन विकेटले पराजित भएको छ । जारी टी-२० सिरिजमा नेपालको यो पहिलो हार हो । यो हारपछि नेपालले फाइनलमा पुग्नका लागि अर्को खेल कुर्नुपर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा ब्याट्सम्यान बास डी लिडे चम्किदा नेदरल्याण्ड्सले नेपालले दिएको २०७ रनको लक्ष्य ३ बल बाँकी छदा पूरा गर्‍यो । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय ६ रनको योगफल बनाएको थियो ।

नेपालले नेदरल्याण्ड्सविरुद्ध आज सुरुवात भने राम्रो गर्न सकेन । यसअघिका दुई खेलमा शतकीय साझेदारी गरेका कुशल भुर्तेल र आशिफ शेखको जोडी आज भने जम्न सकेनन् । कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भए । तेस्रो विकेटका लागि दिपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलबीच ७८ रनको साझेदारी भएको थियो । जसमा कुशलले ४६ बलमा आठ चौका र एक छक्काको मद्दतले ६२ रन बनाए ।

४६ रनको अवस्थामा उनले नो बलमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए । उनी डेब्यु सिरिजमा नै लगातार तीन अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बने । नेपालका दिपेन्द्रसिंह ऐरी ६० रनमा आउट भए । दिपेन्द्रले पनि टी २० मा पहिलो अन्तराष्ट्रिय अर्धशतक बनाउन सफल भए । करण केसी एक रनमा आउट भए ।

नेदरल्याण्ड्सका पिटर सेलार र भिभिन किंग्माले दुई दुई विकेट लिए । जवाफमा नेदरल्याण्ड्सले १९ ओभर बलमा सात विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेदरल्याण्ड्सको जीतमा बास डी लिडेले ८१ रन बनाए । अन्तिम ओभरमा नेदरल्याण्ड्सलाई जीतका लागि ६ रन चाहिएको थियो । जसमा उनले लगातार दुई चौका प्रहार गर्दै जित निकाले ।