प्रिमियर लिगको लिग लिडर म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा सिटीले बोरुसिया डर्टमुण्डविरुद्ध दुई एकले विजयी भएपछि समग्रमा चार दुई गोलले सिटीले अन्तिम चारमा स्थान बनायो ।
डर्टमुण्डको घरेलु मैदानमा भएको दोस्रो लेगमा सिटीले घरेलु टिमको एक गोलको अग्रतालाई उल्ट्याउन सफल भयो । खेलका १५ औं मिनेटमा नै विलिङहमले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक गोलले अगाडी रहेको डर्टमण्डविरुद्ध सिटीले दोस्रो हाफमा दुई गोल गर्यो । ५५ औं मिनेटमा सिटीले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गर्न सफल भयो । उसका लागि रियाद महरेजले गोल गरे ।
त्यसपछि ७५ औं मिनेटमा बेर्नान्डो सिल्भाको पासमा फिलिप फोडेनले गोल गर्दै टिमलाई दुई एकले अगाडि राखे । त्यसपछि इरलिङ हालान्डको टिम डर्टमुण्डले खेलमा फर्कन असफल रह्यो र सिटीले समग्रमा चार दुई गोलले अन्तिम चारमा प्रवेश गर्यो । पहिलो लेगमा सिटी घरेलु मैदानमा पनि दुई एकले विजयी भएको थियो ।
सिटीले यूरोपियन च्याम्पियन्स लिगमा दोस्रो पटक सेमिफाइनलमा स्थान बनाएको हो । यसअघि सन २०१५ र १६ को सिजनमा उसले सेमिफाइनलमा प्रवेश गरेको थियो ।
तर सेमिफाइनलमा रियालसँग पराजित भएको थियो । अब सेमिफाइनलमा म्यानचेस्टर सिटीले पीएसजीसँग खेल्नेछ । पीएसजीले बार्यनलाई हराएर सेमिफाइनलमा पुगिसकेको छ ।
प्रतिक्रिया