देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नर्भिकको क्याथल्याबको सेवा यूरोप–अमेरिकाभन्दा राम्रो, मृत्युदर ०.१३ प्रतिशत मात्रै

देशान्तर

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल मुटुसँग सम्बन्धित अपरेशन नगरी गरिने शल्यचिकित्सा (क्याथ ल्याब सर्भिस) सेवामा अब्बल देखिएको छ ।

नर्भिकको कर्पोरेट कम्युनिकेसन तथा पीआर डिपार्टमेन्टले आन्तरिक रुपमा गरेको एक अध्ययनमा यस्तो देखिएको हो ।

क्याथल्याबमा मुटुको एन्जियोग्राफी र एन्जियोप्लाष्टीबाट उपचार गरिन्छ ।

क्याथल्याबमा हुने मृत्युदर विश्वका विकसित मुलुकका स्तरीय अस्पतालहरुमा बढिरहेको छ । तर, नर्भिकको क्याथल्याबको मृत्युदर भने ती देशको भन्दा पनि अब्बल देखिएको छ ।

क्याथल्याबको स्थापनादेखि हालसम्म नर्भिकको क्याथल्याबमा आएका बिरामीहरुको कुल संख्या र मृत्यु भएका मानिसहरुको संख्या हेर्दा समग्र मृत्युदर ०.१३ प्रतिशत मात्र रहेको देखिएको हो । यो भनेको निकै सन्तोषजनक अवस्था हो ।

चैत २५ गतेसम्म नर्भिकको क्याथल्याबमा कुल १८ हजार ५९८ बिरामीहरु उपचार प्रक्रियामा सहभागी भएका थिए । यसमध्ये ३ हजार ४७७ जनाले एन्जियोप्लाष्टी गरेका थिए भने ११ हजार ९४८ को एन्जियोग्राफी गरिएको थियो । यति ठूलो संख्याका बिरामी क्याथल्याबमा आएका भए पनि एन्जियोप्लाष्टी गरेका २६ जनाको मात्र मृत्यु भएको थियो । यसरी हेर्दा नर्भिकको क्याथ ल्याबको मृत्युदर ०.१३ प्रतिशत मात्र रहेको छ ।

नर्भिकको कार्डियोलोजी विभागका निर्देशक डा. यादवदेव भट्टका अनुसार विश्वमा क्याथल्याबको औसत मृत्युदर १ देखि २ प्रतिशत हुने गरेको छ । नेपालकै अन्य अस्पतालका क्याथल्याबमा आउने बिरामीहरुको मृत्युदर पनि १ प्रतिशतभन्दा बढी रहेको छ ।

यूरोपका अधिकांश अस्पतालहरुको क्याथल्याबको मृत्युदर(मोर्टालिटी रेट) १.५ प्रतिशत माथि रहेको छ भने भारतका अस्पतालहरुको क्याथल्याबको मृत्युदर पनि १ प्रतिशतभन्दा माथि नै छ । अमेरिकाका अस्पतालहरुमा पनि क्याथल्याबको मृत्युदर १ प्रतिशतभन्दा माथि नै छ ।

तर, विश्वका विकसित र सुविधासम्पन्न देशका अस्पतालहरुमा भन्दा नर्भिकको क्याथल्याबको सेवा स्तरीय देखिएको छ ।

डा. भट्टका अनुसार नर्भिकको क्याथल्याबमा काम गर्ने जनशक्ति अनुभवी भएका कारण र प्रविधि समेत आधुनिक भएर पनि मृत्युदर न्यून देखिएको हो । ‘हामीसँग राम्रो टिम छ, हामी राम्रोसँग काम गर्छौ ।’ डा. भट्टले भने– ‘पछिल्ला केही वर्षहरुको डेटालाई हेर्ने हो भने त हाम्रो क्याथल्याबको मृत्युदर शून्य प्रतिशत छ ।’

डा. भट्टले कार्डियोलोजी विभागको नेतृत्व गरेदेखि चालु आर्थिक वर्षको चैत ३१ गतेसम्म एउटा पनि बिरामीले क्याथल्याबमा ज्यान गुमाएका छैनन् । क्याथल्याबमा २६ बिरामीको मृत्यु डा. भट्टले नेतृत्व सम्हाल्नु अगाडि भएको अस्पतालले जनाएको छ ।