देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्रमा सेन्टर र वीरमा अचाक्ली भ्रष्टाचार

देशान्तर

अख्तियार, स्वास्थ्य मन्त्रालय र भीसी कार्यालयको बेवास्ता


काठमाडौं । मुलुककै ठूलो र पुरानो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको ट्रमा सेन्टर र वीर अस्पतालमा व्यापक भ्रष्टाचार भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्रालय र भीसी कार्यालयमा यसबारेमा सप्रमाण उजुरी परिसक्दा पनि सम्बन्धित निकायले छानबिन नगरेको भन्दै सरोकारवाला कर्मचारी एवं चिकित्सकहरूले आश्चर्य प्रकट गरेका छन् ।

अस्पताल कर्मचारीले प्रधानमन्त्री कार्यालय, अख्तियार, सतर्कता केन्द्र र स्वास्थ्य मन्त्रालयमा मौखिक प्रमाणसहित उजुरी दिए पनि छानबिन गरी दोषीलाई कुनै कारबाही नभएको एक कर्मचारीले देशान्तरलाई बताए । २०७५ सालमा राष्ट्रिय सतर्कता केन्द्रले तीन महिना लगाएर ट्रमा र वीरमा भएको अनियमितताबारे छानबिन गरेको थियो । छानबिन पछि केन्द्रले कर्मचारी भर्ना, उपकरण मर्मत र महँगोमा इन्टा अप सिटी र टोमोथोपारी मेसिन खरिदमा अनियमितता भएको निष्कर्षसहितको प्रतिवेदन दिएको थियो ।

प्रधानमन्त्रीलाई बुझाइएको उक्त प्रतिवेदनमा तत्कालीन भिसी डा. गणेश गुरुङ, ट्रमाका मेसु र वीर अस्पताल खरिद प्रमुख भगवती थपलिया, श्याम विक, अरुण महतोलगायतलाई कारबाही गर्ने निर्णय गरिएको थियो । साथै थप छानबिन र कारबाही गर्न अख्तियारमा २०७५ कात्तिक ११ मा पत्र लेखी अख्तियारमा सो पत्र ०७/१३ मा दर्ता (६५२२) समेत भएको थियो । स्वास्थ्य मन्त्रालयलाई सोको जानकारी दिई निर्णयअनुसार कारबाही गर्नु भनेको र सो समन्धमा प्रधानमन्त्री कार्यालयको सुशासन शाखाले २०७५/१२/१९ मा पनि स्वास्थ्य मन्त्रालयलाई सो सम्बन्धमा पटकपटक ताकेता गरे पनि ती भ्रष्टाचारीलाई हालसम्म कुनै कारबाही नगरी उल्टै हालसम्म खरिद एकाइको जिम्मेवारी दिइराखेको स्रोतले बतायो । सोही समयमा केन्द्रले भ्रष्टाचारी खरिद समूहलाई हटाएर प्रशासन र प्राविधिकहरू भएको सक्षम खरिद, महाशाखा गठन गर्ने निर्देशन दिएको थियो । तर हालसम्म पनि सो निर्देशन कार्यान्वयन गरिएको छैन ।

स्रोतका अनुसार अहिले ट्रमा सेन्टरमा निमित्त मेसु डा. सन्तोष पौडैल र अस्थायी सेवाका डा. गौरव ढकालको मिलेमतो मा झनै बढी अनियमितता भइरहेको छ । नियमविपरीत क्यान्टिन ठेक्कामा लगाएको, ए ग्रेडको एम्बुलेन्स भनेर महँगोमा खरिद गरेको तर त्यसमा हुनुपर्ने उपकरणहरू नभएको, पैसा लिँदै अनियमित तवरले कर्मचारी भर्ना गरिरहेको, अहिले ट्रमाको ओ टो मा करिब ९ वटा सी आर्म र र १ वटा ओ आर्म (२० करोड पर्ने) छन् । सो सामान्य मर्मत गरेर सञ्चालन हुन्छ तर मर्मत नगरी यसपालि ६–६ लाख पर्ने २ वटा सी आर्म ८५ लाखमा खरिदएको गरिएको स्रोतले जानकारी दियो । खरिद गरिएको ५ सी आर्म अर्थोपेडिक्स विभागमा प्रयोग हुने भए पनि खरिद गर्दा रेडियोग्राफरलाई विशेषज्ञको रूपमा राखेको सम्बन्धित चिकित्सकसँग सल्लाह नगरी व्यापारीसँगको मिलेमतोमा महँगोमा खरिद गर्दै ठूलो रकम कमिसन लिएको स्रोतले बतायो ।

‘डेक्सा स्क्यान पूर्ण रूपमा अर्थोपेडिक्स बिभागमा प्रयोग हुन्छ तर त्यसमा पनि रेडियोग्राफरलाई विशेषज्ञको रूपमा राखेको छ र दोब्बर मूल्यमा हेलोजिन कम्पनीको किनेको छ । एनेस्थेसिया मेसिन खरिदमा पनि एनेस्थेसियाको विभागीय प्रमुखलाई थाहै नदिई खरिद गरिएका छन् । हाई एन्ड माइक्रोस्कोप १ करोड ३० लाखमा खरिद गरिएको छ तर त्यसमा पनि प्रयोगकर्ता बिभागलाई थाहा छैन’, स्रोतले देशान्तरसँग भन्यो, ‘अर्थोपेडिक्स र स्पाइन इन्स्टुमेन्टस किन्दा पनि अर्थोपेडिक्स विभागको कसैलाई थाहा छैन । सबै सामानहरूको व्यापारीसँग मिलेर स्पेसिफिकेसन बनाएर न्यूनतमलाई अयोग्य घोषित गर्दै अधिकतमसँग किनिएको छ । न्यूनतम मूल्य विडिङ गर्ने चार वटा आइटममा व्यापारीले उच्च अदालतमा मुद्दा हालेको छ तर त्यसको फैसला भएको छैन । २२ करोडको मेसिन प्रयोगविहीन छ ओ अझैसम्म मर्मत गरिएको छैन ।’

स्रोतका अनुसार हालै बजारमा ५५ लाख पर्ने सि–आर्म ८५ लाखमा नयाँ बानेश्वरमा रहेको म्याक्स मेडिटेकसँग जिई कम्पनी को सि–आर्म खरिद गरिएको छ । उक्त फर्म डा. सन्तोषको ससुराली जिल्ला धादिङको व्यापारीको भएको स्रोतले बतायो ।

ट्रमा सेन्टरमा भर्ना भएका बिरामीको अपरेसन गर्दा प्रयोग हुने औषधि र इम्पान्टलगायत सामानहरूमा समेत डा. सन्तोष र गौरवको मनोमानी चल्ने गरेको छ । उनीहरूले अन्य कम्पनीको ४०–५० हजारमा आउने सामान प्रयोग नगरी महँगो र उनीहरूलाई कमिसन दिने इम्पान्ट मेडिट्रोनिक र मिराकल भन्ने भारतीय कम्पनीको मात्र प्रयोग गर्ने गरेका छन् । ती कम्पनीको सामानको मूल्य डेढ देखि २ लाख रुपैयाँसम्म पर्ने स्रोतले जानकारी दियो । ‘त्यस्ता सामान डा् पौडेल र ढकाल निकट अश्विन बरालको एबी मेडिकल ग्रुप र नास्ट नेपाल प्रालिमा मात्र पाइन्छ ।

बिरामीलाई जबरजस्ती किन्न लगाइन्छ । बिरामीले सो कम्पनीको सामान नकिने विभिन्न बहानामा अपरेसन नै क्यान्सिल गरिदिन्छन्’, ओटीकी एक नर्सले भनिन्, ‘यी त मानव नै होइनन् दानव हुन् । के गर्ने पहुँचवाला हुन् केही बोल्नै सक्दैनन् । बोले कि जागिर जान्छ ।’ यस्ता कर्तुतमा ओटी प्रमुख गंगाको पनि मिलेमतो हुने गरेको उनले जानकारी दिइन् । उनलाई नर्सिङ प्रमुख सोचना सापकोटाको आशीर्वाद रहेको छ ।

यस विषयमा कर्मचारीले प्रधानमन्त्री कार्यालय, अख्तियार, सतर्कता, र स्वास्थ्य मन्त्रालयमा उजुरी दिएपछि प्रधानमन्त्री कार्यालयको निर्देशन पनि स्वास्थ्य मन्त्रालय छानबिन समिति बनाएको छ । सो समितिलाई पनि ट्रमाका मेसु डा. पौडेल र डा.ढकालले धम्क्याउने तथा आवश्यक कागजपत्र नदिई काममा अवरोध पु¥याइरहेको स्रोतले बतायो । कागजात दिँदा डा. द्वय आफैं फस्ने खतरा रहेकाले उनीहरूले छानबिन समितिलाई असहयोग गरिरहेको सूत्रले बतायो ।

यही चैत्र २२ गते सम्पन्न प्रतिष्ठानको सिनेट बैठकमा पनि स्वास्थ्यमन्त्रीले ट्रमा र वीरको पदाधिकारीको ठूलै आलोचना गरेका थिए । मन्त्रीले यस्तै हो भने तपाईंहरू चाँडै अख्तियार पुग्नुहुन्छ भनेर चेतावनी दिएको एक सिनेट सदस्य ले बताए । वीर र ट्रमामा अनियमितता भएको सम्बन्धमा महालेखा र सार्वजनिक खरिद अनुगमनको २०७५/०७६ को प्रतिवेदनमा समेत उल्लेख गरिएको छ ।

उता वीर अस्पतालको पनि उही हालत छ । इन्टा अप सिटी खरिद, टोमोथोपारी खरिदमा अनियमित भएको र कारबाही सिफारिस भएको समूहका व्यक्तिहरू नै अहिलेसम्म खरिदमै बसी करोडौं भ्रष्टाचार गरिरहेका छन् । तर भीसी डा. डीएन शाहले त्यसलाई नजरअन्दाज गर्दै आएका छन् । करोडौको उपकरण बिग्रिएको छ तर मर्मततिर उनको नगएको स्रोतले बतायो ।

इन्डोस्कोपी मेसिन, फाइबर स्याक्यन, दुई बटवा सिटी मेसिन, अक्सिजन मेसिन, सि– आर्म, मेमोग्राम, क्याथ ल्याब, स्पेसल ऐक्सरे, ईबस, बोक्रोसकोपी, १२ बटा भेन्टिलेटर, टीपीए जाँच, युरोफ्रोले मिटर, एबीजी मेसिन सबै काम नलाग्ने भएका छन् । ती सामानहरू मर्मत गर्दा चल्छन् तर मर्मत गर्नेतर्फ कसैले चासो नदिएको एक कर्मचारीले देशान्तरलाई बताए । ‘नयाँ किन्न आफू निकट व्यापारीसँगको मिलेमतोमा स्पेफिकेसन बनाउँदै उसैलाई हुने गरी टेन्डरको तयारी गरिरहेका छन् । यस काममा खरिद प्रमुख भगवती, भीसी निकट अरुण महतो, श्याम विक, रेक्टर डा. सुबोध अधिकारी, डिन डा. पीयूष दाहाललगायतको समूह सक्रिय छ’, स्रोतले भन्यो, ‘तर अस्पतालका कोही पनि कर्मचारी बोल्न सक्दैनन् भीसी नदेखेझै गर्छन् ।’

नयाँ भवन सञ्चालनको कुनै तयारी छैन । सो भवन ५२० बेडको रहेको छ । सो सर्जिकल भवन सञ्चालनमा आए काठमाडौंका सबै निजी अस्पतालको अपरेसन बन्द हुने भएकोले निजी अस्पतालसँग मिलेर दुवै सर्जन डिन पीयूष, रेक्टर डा. सुबोध र खरिदको भगवतीको समूहले सो सञ्चालनलाई कुनै चासो नदिएको त्यहाँ कार्यरत एक चिकित्सकले बताए ।

भक्तपुर दुवाकोटको विस्तारित वीर अस्पतालको परियोजनाको ४० करोडको डीपीआर आफू निकटलाई दिन एजेन्सी खोजी भइरहेको पनि स्रोतले जानकारी दियो । ‘यी भ्रष्टहरूको समूह रहेसम्म वीर र ट्रमामा सुधार हुँदैन’, एक वरिष्ठ चिकित्सक भन्छन्, ‘न नियम छ न कानुन छ, छ त बाका आसेपासेको हालिमुहाली । भ्रष्टाचारी खुलेआम भन्छन् मन्त्रालय र अख्तियार सबै हाम्रो सेटिङ छ कसैले बोल्दैमा केही हुँदैन ।’

प्याथोलोजी विभाग प्रमुख डा.प्रतिभा विष्ट, रेडियोलोजीका केही डाक्टर, न्युरोसर्जरीको प्रमुख डा. प्रकाश विष्ट, सर्जरीका प्रमोद उपाध्याय, युरो सर्जरीका डाक्टर, सीटीभीएसका डा. दीपक थापामगर, मेडिकल विभागका डा. रेवती, ईएनटीका डा. दीपेन्द्र गौतम, डा. रूपा महर्जन, डा अनु जी सी, मुटु विभागका डाक्टर, डेन्टलको डा. शैली प्रधान, सहायक डिन तथा नेफ्रोलोजीका डाक्टर अनिल बराल, डा. रजनी हाडालगायत केही डाक्टरले हाजिरमै ठग्ने गरेको स्रोतले बतायो ।

उनीहरूले दैनिक ८ घण्टा ड्यिुटी गर्नुपर्ने भए पनि दैनिक ५ घण्टाभन्दा बढी अस्पतालमा बस्ने गरेका छैनन् । तर भत्ता भने १५० प्रतिशत बुझिरहेको स्रोतले बतायो ।

वीर अस्पताल कर्मचारी संघले वीर अनियमितताको विषयमा प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण विभाग, सतर्कता केन्द्र, स्वास्थ्य मन्त्रीलगायतलाई ट्रमा सेन्टरका डा. सन्तोष पौडेल, डा. गौरव ढकाल, सोचना सापकोटा, ओटी प्रमुख गंगा, खरिद शाखा र वीर अस्पतालका पूर्वनिर्देशक डा. केदार सेन्चुरी, खरिद प्रमुख भगवती थपलिया, श्याम विकलगायतको सम्पत्ति छानबिन गर्न उजुरी दिने तयारी गरेका छन् ।