देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नीति र नेतृत्व नबदलेसम्म कांग्रेसको भविष्य देखिन्न

देशान्तर

लोकेश ढकाल

सर्वोच्च अदालतको फागुन ११ र २३ गतेको दुई वटा फैसला पछि नेपाली कम्युनिस्ट आन्दोलनमा एक प्रकारले ठूलै भूकम्प गएको छ । भूकम्पको प्रभावले कम्युनिस्ट पार्टी क्षत्विक्षत बन्दैछन् । एकले अर्कोलाई कारबाही गर्ने र पार्टीबाट निष्कासन गर्ने क्रम चलिरहेको छ । कसैको सांसद पद चट भएको छ । कसलाई कुन बेला के हुन्छ कुनै भरोसा छैन । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी भित्र र बाहिर कसैलाई नटेरी एक्लै सर्वसत्तावादी बाटोमा लम्किरहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ‘निष्कामभाव अकर्म’ भएर बसेको छ भने मधेसवादी दल राजपा सरकारमा जान खुट्टा उचाली रहेको छ । देशको समग्र राजनीतिलाई सूक्ष्म रूपमा नियालेर हेर्दा लाग्दछ, देशको राजनीति अनिश्चितता र अन्योलताको अँध्यारो सुरुङ भित्र छिरेको छ ।

कम्युनिस्ट कित्तालाई केन्द्रबिन्दु बनाएर गएको राजनीतिक भूकम्पले सत्तारूढ दल नेकपा र नेकपा पूर्ववत् अवस्थामा पुगेपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भित्र सिर्जना भएको राजनीति विपत्तिलाई सामान्य प्रयासले उद्धार हुने सम्भावना छैन । सत्तारूढ कम्युनिस्ट पार्टीमा गएको भूकम्पको राजनीतिक पराकम्पनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपालाई पनि राम्रैसँग प्रभावित गरेको देखिन्छ । कांग्रेसमा संस्थापन पक्ष ओली विपक्षमा देखिन्न, यो पक्ष निर्वाचनको अडानमा उभिएको छ र विरोधी पक्ष ओलीलाई हटाएर नयाँ सरकार बनाउनुपर्ने अडानमा छ भने राजपा सरकारमा जाने विषयमा एक मत हुन सकिरहेको छैन ।

प्रधानमन्त्री ओलीको गएको पुस ५ गते संसद् विघटन गर्ने कदम र २०७५ जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई नेकपा बनाउने कदमलाई सर्वोच्च अदालतले खारेज गरिदिए पछि नेपाली कम्युनिस्ट आन्दोलनमा एक प्रकारले आधुनिक (हतियारविहीन) कोतपर्व जारी छ । राजनीतिक रूपमा कसले कसलाई छप्काउने हो, कुन बेला कसको राजनीति धरापमा पर्ने हो, कसको समाप्त हुने हो, त्यसको कुनै टुंगो छैन । तत्कालका लागि वामपन्थी कित्तामा प्रधानमन्त्री ओली आधुनिक जंगबहादुरको रूपमा उदाएका छन् । ओलीका सामुन्ने क.प्रचण्ड, माधव नेपाललगायतका नेताहरूको राजनीति संकटमा परेको देखिएको छ ।

कम्युनिस्ट कित्तामा गएको भूकम्पको धक्का र सत्ता राजनीतिको चरम द्वन्द्व र आन्तरिक संघर्षको बाछिटाको असर नेपाली कांग्रेसमा नराम्रोसँग देखिन थालेको छ । त्यो धक्का र बाछिटाको प्रभावले १४औं महाधिवेशनको सम्मुख आउँदै गरेको नेपाली कांग्रेसको घरभित्र सीमित रहँदै आएको आन्तरिक द्वन्द्व अब सार्वजनिक मञ्चहरूमा नै देखिन थालेको छ । अस्ति मात्र कांगे्रस सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक मञ्चमा भएको राजनीतिक दोहोरीले कांग्रेसको वर्तमान दशा र दिशालाई राम्रैसँग प्रतिबिम्ब गरेको छ ।

कांग्रेसको एउटा पक्ष सरकारको लागि अर्थहीन ढंगले मरिहत्ते गरिरहेको देखिन्छ । पार्टीको संस्थापन पक्ष सरकारको लागि व्यग्र देखिँदैन । प्रधानमन्त्रीको संसद् विघटनको कदमको विरुद्धमा संस्थापन विरोधी पक्ष तुरुन्तै आन्दोलन गर्ने पक्षमा थियो । त्यो पक्षलाई सान्त्वना दिनकै लागि सभापति शेरबहादुर देउवाले विरोधका कार्यक्रम गर्न तयार भएका थिए । अहिले देउवा सरकारमा जाने पक्षमा छैनन्, उनी ओलीसँग मिलेर सरकारमा जाने पक्षमा पनि देखिन्न्, देउवालाई राम्रोसँग थाहा छ, अहिले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था बनेकै छैन । कांग्रेसका एक पक्ष र प्रचण्ड माधव पक्ष सर्वोच्चको फैसलापछि ओलीले नैतिकताको आधारमा राजीनामा दिनेछन् र अब सरकारमा जाने दिन आयो भनेर मीठो सपना देखिसकेका थिए । प्रचण्ड माधवले त त्यो खुसीमा मिठाई नै बाँडे तर ओलीले राजीनामा गरेनन्, तीनका सपना चुरचुर भयो ।

नेपाली कांग्रेसले एक पक्ष किन पार्टी सरकारमा जानबाट चुक्यो, एउटा आएको अवसर गुमायो भनेर चुकचुक गरेर बसेको छ, यो बुझिनसक्नुको विषय भएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल ‘‘जोखाना हेर्दा हेर्दै सरकार गठनको एउटा अवसर गुम्यो, फेरि पनि जोखाना हेरेर चान्स मिस गर्ने ? अनि टाउको समातेर रुने कुरा हुँदैन’’ भन्दै पार्टी सरकारमा जानुपर्ने अडान राखिरहेका छन् ।

संसद्मा कांग्रेसको ६१ सिटले एक्लैले सरकारको विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने वैधानिक हैसियतसमेत कांग्रेसको छैन । नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन अझै फिर्ता गरेको छैन । आजका मितिसम्म ओलीको सरकार स्पष्ट बहुमत भएको वैधानिक सरकार हो ।

संविधानले नैतिकता भनेको के हो भनेर चिन्दैन, नैतिकता प्रजातान्त्रिक संस्कृति हो कांग्रेस अझै पनि कम्युनिस्टबाट नैतिकताको राजनीतिको अपेक्षा गरेर बस्छ भने त्यो कांग्रेसका लागि ठूलो भ्रम र राजनीतिक धोका मात्रै हो । कम्युनिस्टलाई प्रजातन्त्रको मार्गमा ल्यायौं भन्नु र कम्युनिस्टबाट नैतिकताको आस गरेर बस्ने कांग्रेसी सोच र चिन्तन राजनीतिक दिवालियापन हो । सरकारमा जानका लागि कांग्रेसको एक तप्काको व्यग्रता त्यस्तै अर्को राजनीतिक दिवालियापन हो ।

ओलीको नेतृत्वमा सरकारमा जानु वा ओलीको समर्थन साथ लिएर आफ्नै नेतृत्वमा सरकारमा जानु नेपाली कांग्रेसका लागि सबैभन्दा महँगो राजनीति सौदाबादी हुनेछ भन्नेमा सन्देह छैन । यदि यसो ग¥यौं भने आउने चुनावमा कांग्रेसले जनतामा गएर मत माग्ने नैतिक तागत पूरै गुमाउनेछ । ओलीको साथ सहयोगले कांग्रेस सरकारमा गए विगत तीन वर्षको ओलीको कुशासन र भ्रष्टाचारको हिस्सा कांग्रेसले पनि बोक्नुपर्ने हुन्छ । त्यसैगरी नेपाली राजनीतिका सबैभन्दा भर पर्न नसकिने राजनीतिक पात्र क. प्रचण्डको बैसाखी टेकेर सरकारमा गयौं भने पनि कांग्रेसका लागि सजिलो बाटो किमार्थ छैन । एकातर्फ यो तीन वर्षको चरम भ्रष्टाचार, कुशासन र देशको बर्बादीको दोष जति ओलीमा जान्छ, त्यत्तिकै जिम्मेवारी प्रचण्डको पनि हो, त्यसको हिस्सा कांग्रेसले बोक्न तयार हुने हो ?

द्वन्द्वकालमा मारिएका १७ हजार नेपालीमध्ये ५ हजारको जिम्मा म लिन्छु भनेर सार्वजनिक रूपमा नै घोषणा गरेका क. प्रचण्डको त्यो अभिव्यक्ति महँगो सावित हुन सक्छ । यसै पनि राष्ट्रसंघीय मानव अधिकार समिति, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थालगायतका पश्चिमा प्रजातान्त्रिक देशहरूले नेपालको द्वन्द्वकालीन मानव अधिकारको विषयलाई यसै छोड्ने सम्भावना देखिँदैन । यस्तो विषम राजनीतिक परिवेशमा नेपाली कांग्रेसले प्रचण्डको साथ लिएर सरकारमा जाने लैवरी गीत गाउनु कांग्रेसको लागि कति महँगो पर्छ कांग्रेस नेतृत्वले त्यसको हेक्का राखेको देखिन्न ।

यो पंक्तिकारले गएको निर्वाचनमा शेरबहादुर देउवालाई मत दिएको जगजाहेर छ । त्यसपछिको करिब पाँच वर्षको कालमा सभापतिको कार्यशैलीको सबैभन्दा खुलेर आलोचना गर्ने काम यो पंक्तिकारले गर्दै आएको छ । सभापति पछिल्लो विशेष गरेर प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि कांग्रेस सभापतिको केही राजनीतिक अडानलाई यो पंक्तिकारले समर्थन गर्दै एउटा लोकप्रिय दैनिकमा एउटा लेख प्रकाशित गरेकै आधारमा त्यो बिक्यो, त्यो देउवा कहाँ छि¥यो भनेर टिप्पणी गर्ने हाम्रो दरिद्र राजनीतिक मानसिकता छ । चरम गुटग्रस्त तल्लो स्तरको यस्तो राजनीतिक मानसिकताले कांग्रेसलाई कहाँ पु¥याउला ? भन्न गाह्रो छ ।

नेपाली कांग्रेसले कम्युनिस्ट फुट्यो, यो शक्ति छिन्नभिन्न भयो, अब त हाम्रो युग आयो । आउने चुनावमा कांग्रेसले सहज बहुमत ल्याउनेछ र सरकार बनाउनेछ भनेर मीठो सपना देख्न थालेका छन् । त्यो ठूलो राजनीतिक भ्रम हो । गुट र गिरोहमा विभक्त र वैचारिक रूपमा दिशाहीन कांग्रेसले यस्तो सपना देख्नु एउटा राजनीतिक भ्रम मात्रै हो ।

कांग्रेसको आउँदो महाधिवेशन तोकिएको समयमा हुन्छ भन्ने अझै सुनिश्चितता छैन । राजनीतिक संकेतलाई हेर्दा तोकिएको समयमा महाधिवेशन नहुने नै सम्भावना बलियो बन्दैछ । पार्टी कब्जा गर्ने मानसिकताबाट जुन ढंगले अराजक तवरमा क्रियाशील सदस्यता वितरण गरिँदैछ त्यो नै कांग्रेसका लागि ठूलो समस्या बन्ने अवस्था बन्दैछ । पार्टी भित्र, देशमा किन कम्युनिस्ट शक्ति बढ्यो, किन बलियो भयो ? सबै कथित परिवर्तनको सफल नेतृत्व गरेर पनि पछिल्ला निर्वाचनमा जनताले कांग्रेसलाई किन दण्डित गर्‍यो, कांग्रेस किन पछारियो ? यी यस्ता प्रश्न माथि कांग्रेसमा कुनै चिन्तन–मनन छैन । आज कांग्रेस इतिहासकै सबैभन्दा कमजोर अवस्थामा किन आइपुग्यो ? त्यसप्रति कुनै नेताको गम्भीरता देखिन्न । हामीबाट के भूल भयो त्यसको कुनै आत्मसमीक्षा र विचार–मन्थन छैन ।

अनि यस्तो अवस्थामा यो कांग्रेसले, कांग्रेसको यो नेतृत्वले कांग्रेस बचाउनेछ, प्रजातान्त्रिक आन्दोलनलाई बलियो बनाउने छ र राष्ट्रभक्तिको भावनाले भरिएको राजनीति गरेर देशलाई पनि बचाउनेछ भने आशा र भरोसा गर्न सक्ने अवस्था छैन । नेपाली कांग्रेसले अँगाल्दै आएको विचार र नीति जनभावनाबमोजिम नबदलेसम्म र वर्तमान नेतृत्वलाई परिवर्तन नगर्दासम्म कांग्रेसले इतिहासको त्यो गौरवशाली स्थान प्राप्त गर्न सक्ने छैन । साँचो कुरा यही हो ।
जय नेपाल !