देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रेस स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि सधैं अग्रिम मोर्चामा रहने छु

देशान्तर

यही २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनमा तपाईंले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । तपाईको उम्मेदवारी किन र के का लागि ?

नेपाल पत्रकार महासंघ श्रमजीवी पत्रकारहरूको संस्था हो । श्रमको सम्मान गर्दै, पत्रकारिता क्षेत्रलाई प्रवद्र्धन गरेर अगाडि लैजानुपर्छ भन्ने कुरामा प्रष्ट दृष्टिकोण राख्दै आएको संस्था नेपाल पत्रकार महासंघ पछिल्लो समय एउटा पुरानो बलियो र पत्रकारिता क्षेत्र बाहेकका अन्य समुदायले पनि अत्यन्त सुक्ष्म ढंगले अध्ययन गर्ने र चासो दिने संस्थाका रूपमा विकास भएको छ । संस्थाले विगतदेखि गर्दै आएको कर्मको प्रतिफल हो यो ।

पत्रकार महासंघको विभिन्न तहमा रहेर मैले नेतृत्व गर्दै गर्दा केही नयाँ कामहरूको थालनी पनि भएको छ । ती कामहरूलाई टुंगोमा पुर्‍याउनका लागि जसले कार्य प्रारम्भ गर्‍यो, महासंघको आगामी नेतृत्व त्यसैले गर्‍यो भने ती कामहरू पूरा गर्नका लागि झन् सहज हुन्छ भन्ने मलाई लाग्छ । हुन त म मात्रै त्यो प्रक्रियासँग जोडिएको छु भनेर त मैले भन्दिनँ ।

पत्रकार महासंघको मूल अभियानसँग म जोडिँदै आएको हुनाले यसपालि यो संस्थाको अध्यक्ष भएर अगाडि लैजान सक्छु भन्ने आत्मविश्वास राखेर नै म अध्यक्षको आकांक्षी भएँ । म आफैं वर्तमान कार्यसमितिको उपाध्यक्षमा रहँदा विधान समितिको संयोजक रहेर यो संस्थालाई प्रत्यक्ष निर्वाचन प्रणालीमा लैजाने बहसलाई विधानमा लिपिबद्ध गरेर महाधिवेशनबाट अनुमोदन गरियो । यो नयाँ निर्वाचन पद्धतिमार्फत म यो संस्थाको नेतृत्वमा जानका लागि अनुमोदित हुन्छु भन्ने विश्वासका साथ उम्मेदवार बनेको छु ।

अहिलेको अवस्थामा नयाँ प्रणाली कस्तो हुँदो रहेछ, सहज कि अलि असहज ?

पद्धतिहरू र प्रणालीहरू निश्चित सिद्धान्तमा टेकेर बनाइन्छन् । त्यसमा उत्पन्न हुने अप्ठ्यारा र चुनौतीहरू सामना गर्दै सहज बनाउनका लागि नेतृत्व तयार हुनुपर्छ । नेपाल पत्रकार महासंघ भनेको लोकतन्त्रको पक्षमा उच्चतम अभ्यास गर्ने संस्था हो । आफ्ना हरेक सदस्यहरूलाई मताधिकार प्रयोग गर्न दिनुपर्छ भन्ने जगमा उभिएर हामी यो पद्धतिमा गएका हौं । यो पद्धतिमा जाँदै गर्दा दुई तीन वटा विश्वास के हुन् भन्दा पत्रकार महासंघलाई शुद्धीकरण गर्नुपर्छ भन्ने एउटा आवाज उठिरहेको थियो ।

शुद्धीकरण अभियानमा यो प्रत्यक्ष निर्वाचन प्रणालीले योगदान गर्छ भन्ने हाम्रो एउटा विश्वास हो । त्यसैगरी अर्को विश्वास, आफ्ना सबै सदस्यहरूले केन्द्रीय नेतृत्व, प्रदेश नेतृत्व र जिल्ला नेतृत्व छान्दै गर्दाखेरि नेतृत्व र प्रत्येक सदस्यबीचको सम्बन्ध स्थापित हुन्छ । त्यो सम्बन्धले नेपाल पत्रकार महासंघको एउटा आन्दोलनलाई उचाइमा पुर्‍याउन सक्छ भन्ने सिद्धान्तमा टेकेर हामी अघि बढेको छौं ।

अहिले हामीले पहिलो पटक यस्तो अभ्यास गर्दैछौं । केही जटिलताहरू महसुस भएका छन् । हामीले भनेको समयमा, भनेको मितिमा निर्वाचनको कार्यक्रम गर्न सकेनौं । तालिका परिवर्तन पनि गर्नुपर्‍यो ।

पहिलो पटक अभ्यास गरिएकाले केही अन्योलताहरू पनि थिए । ती अन्योलताहरूलाई पनि चिरेर अघि बढेका छौं । मतदानका दिनसम्म यो अन्योलता कस्तो हुन्छ भनेर अत्यन्त सजगतापूर्वक हेर्नु पर्ने अवस्था छ । यो पटक प्रत्यक्ष निर्वाचन प्रणालीलाई सफल रूपमा सम्पन्न गर्‍यौं भने यसले एउटा बाटो कोर्छ र आगामी अधिवेशनहरू पनि सहजताका साथ अघि बढ्छन् ।

अहिलेको प्रक्रिया जति जटिल र गम्भीर हुन्छ भनेर चासो व्यक्त गरिरहेका थियौं त्यति जटिल हामीलाई अहिलेसम्म लागिरहेको छैन । केही समस्याहरू आउँछन् ती समस्याहरू तत्काल गाँठो फुकाउँदै निर्वाचन प्रक्रियामा अघि बढिरहेका छौं । त्यसले गर्दा हामीले जुन बाटो पकडेका छौं त्यो बाटो पत्रकार महासंघको संस्थागत विकासका लागि राम्रो अभ्यास हुनेछ भन्नेमा म विश्वस्त छु ।


नयाँ पद्धतिअनुसार निर्वाचन हुँदैछ, आम पत्रकारसम्म पुग्न अलि समय कम भएको हो ?

हामीलाई सुरुमा पनि यो निर्वाचन पद्धतिमा जाँदै गर्दाखेरि दुई वटा कुराले घचघच्याइरहेको थियो । प्रत्येक उम्मेदवार १३ हजारको हाराहारीमा रहेका पत्रकारसँग पुग्न सकिँदैन, त्यसले गर्दा यो निर्वाचनको परिणाम सोचेजस्तो नआउन सक्छ ।

अर्कोतिर उम्मेदवारी र मतदानको समय धेरै ग्याप रह्यो भने आर्थिक चलखेल हुने, खर्च बढी हुने भन्ने दुई वटै कुरामा बहस सँगसँगै प्रारम्भ भएको थियो । अहिलेको यो अभ्यास हेर्दै गर्दाखेरि हामी सामाजिक सञ्जालहरू, आम सञ्चारका अन्य माध्यमहरूको प्रयोग गरेर भए पनि सदस्यहरूसँग पुग्नु पर्ने रहेछ भन्ने अनुभूति भएको छ । त्यसैले प्रत्यक्ष संवाद तथा फेस टु फेस हुन नसके पनि कुनै न कुनै माध्यमबाट मतदाताकहाँ पुग्ने एउटा अभ्यास हामीले गरिरहेका छौं ।

त्यसैले समय थोरै भयो भन्ने त लाग्दैन, उम्मेदवारहरूले पहिलाको पार्षद केन्द्रित चुनावी अभियानहरू गरिरहेको जस्तो त देखियो तर, हाम्रा उम्मेदवारहरू यी यी हुन्, मुद्दाहरू यस्ता छन् भन्ने विषयमा जिल्लाजिल्लामा प्रशस्त छलफलहरू भएका छन् । जिल्लाजिल्लामा उम्मेदवारहरूका विषयमा चासो पनि राखिएको छ । त्यसैले समय थोरै भयो भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन ।

पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्ने मान्यता छ, तर नेतृत्वका लागि पुग्ने व्यक्तिहरू छनोट गर्दा राजनीतिक दलका नेताहरू किन हावी हुन्छन् ?

पत्रकारहरूले नै उम्मेदवार छनोट गरेर उम्मेदवारी दिएका छन् र आफैं मतदान गरेर २५ गते नेतृत्व चयन गर्ने प्रक्रियामा पत्रकारहरू नै छन् । त्योभन्दा अरू भनेको आशंका टिप्पणी मात्रै हो । यसलाई म त्यति ठूलो रूपमा लिन्न । पत्रकार महासंघ जस्तो बलियो संस्था नागरिकको संस्था जुन संस्थाले बोल्यो भने त्यसको अर्थ रहन्छ, त्यो संस्थाको राष्ट्रिय चुनाव हुँदै गर्दाखेरि राजनीतिकदेखि अन्य शक्तिहरूको चासो हुनु स्वाभाविक नै हुन्छ ।

यो प्रकट भएका चासोहरूलाई पत्रकारका अगुवाहरूले चासोभित्रका नकारात्मक स्वार्थहरूलाई पत्रकारहरूको आन्तरिक छलफल र निर्णय प्रक्रियामा सहभागी नगराउने संकल्प अठोट गर्नु पर्छ । नेतृत्वले यो अठोट गर्न सक्यो भने ती गलत चासो राख्नेहरू पनि सफल हुँदैनन् ।

पत्रकार महासंघले राजनीतिक आन्दोलनका बेला पनि नेतृत्वदायी भूमिका निर्वाह गरेकाले अहिले चासो बढ्नु स्वाभाविक हो भनियो भने के हुन्छ ?

नेपाल पत्रकार महासंघको छवि के हो भने यो नागरिक आन्दोलनको पक्षमा, लोकतन्त्रको पक्षमा र प्रेस स्वतन्त्रताको पक्षमा कुनै पनि सम्झौता नगरेर उभिने बर्ग रहिछ पत्रकारिता भनेको र त्यो वर्गको नेतृत्व पत्रकार महासंघले गर्छ भन्ने मान्यता नेपाली समाजमा स्थापित भइसकेको छ ।

त्यसैले यसमा चासो राख्नु स्वाभाविक पनि हो । यो संस्था बलियो होस्, प्रेस स्वतन्त्रताको पक्षमा दृढ भएर काम गरोस्, यो संस्थाले लोकतन्त्रविरुद्ध सम्झौता नगर्ने प्रतिबद्ध नेतृत्व प्राप्त गरोस् भनेर नै चासो दिइएको हुन सक्छ । तर, उनीहरूले जुन किसिमले चासो दिए पनि हाम्रो विधान र हामीले लिने र लिएका स्ट्यान्डहरूमा कुनै पनि दायाँबायाँ नगरेर अगाडि बढ्ने संकल्प पत्रकार महासंघको नेतृत्वले गर्नुपर्छ । त्यो नेतृत्व गर्नका लागि म तयार छु प्रतिबद्ध पनि छु ।

तपाईका प्रतिस्पर्धीले लैंगिकताको सवाल उठाउनु भएको छ ?
लैंगिकताको कुरा, समावेशिताको कुरा अनुहार हेरर मात्र हुने होइन । इतिहास दोहो¥याउने नाममा महिला राष्ट्रपति बनायौं, सभामुख बनायौं भन्ने कुरा हामीले गरिसकेका छौं । तर, कुन संरचनाले कस्तो नेतृत्व मागेको छ भन्ने हो । अनुहार कस्तो मागेको छ भन्ने होइन । पत्रकार महासंघले दृढ संकल्पका साथ अघि बढ्न सक्ने पात्र खोजेको छ ।

समावेशिताको कुरा गर्ने हो भनेको सामाजिक एकता, सद्भाव र सबैं सँगै मिलेर अगाडि जाउ भन्ने कुराको सन्देश दिने शब्द हो समावेशिता । समावेशिताको परिधिभित्र हरेक नागरिक पर्छाैं। लैंगिक मुद्दाहरूको कुरा गर्ने हो भने त, म आफै विधान समितिको संयोजक भएर मैले प्रस्तुत गरेको विधानमा पत्रकार महासंघको नेतृत्वमा महिलाको संख्या ४ बाट ९ जनाको उपस्थिति सुनिश्चित गराएको छु । पत्रकार महासंघ र पत्रकारितालाई लैंगिक संवेदनशील क्षेत्र बनाउने भनेर मैले पेस गरेको विधान पोखरा साधारणसभाले पास गरिसकेको छ ।

यी मुद्दाहरू वर्ग विशेषको होइन । यी साझा मुद्दा हुन् । यो आन्दोलनले के खोजेको छ, यो आन्दोलनले लैंगिकतालाई कसरी उठाउने भन्ने खोजेको छ, पत्रकार महासंघको आन्दोलनले समावेशितालाई कसरी ग्रहण गर्छ, यो कुरामा नेतृत्व कति प्रष्ट छ भन्ने आधारमा मूल्यांकन गरिनुपर्छ । त्यो आधारमा नेतृत्वमा पुग्दोखेरि मात्रै लैंगिकता र समावेशिताको उच्चतम अभ्यास हुनसक्छ । अहिलेको अवस्थामा अनुहार हेरेर लैंगिकता र समावेशिताको कुरा गर्नु उपयुक्त हुँदैन ।

लैंगिकताको विषयलाई बुझेर आफ्नो पत्रकारिताको कन्टेन्टमा पनि समावेशिताका उच्चतम अभ्यास गर्ने, सिंगो नेपाललाई हरेक सञ्चार माध्यमको कन्टेन्टमा महसुस गर्न सक्ने बनाउने, पत्रकार महासंघको सिंगो संरचनामा सिंगो नेपाल प्रतिनिधित्व गराउने विषयमा हामी प्रष्ट छौं भन्ने हाम्रा एजेन्डाका आधारमा र हिजोको काम गराईका आधारमा पनि मूल्यांकन गर्नुपर्छ भन्ने हो । यो कुरामा पत्रकार महासंघका साथीहरूले विशेष ख्याल र चासो राख्नु भएको छ ।

तपाईलाई जुन संगठनले उम्मेदवार बनायो, तर त्यसलाई चुनौती दिँदै केहीको उम्मेदवारी पनि पर्‍यो, यसलाई सेटल गर्नुभयो है ?

पहिलो कुरा मलाई संगठनले उम्मेदवार बनाउनेभन्दा पनि मैले नेतृत्व गर्छु भनेर आकंक्षा राख्दा संगठनहरूले यसरी अघि बढौं भनेर संरचना बनाउनुभयो त्यसलाई स्वीकार गरेर अघि बढेका हौं । दोस्रो कुरा संगठन, आस्था र विचार मिल्ने केही साथीहरूको उम्मेदवारी परेको छ । उहाँहरूको आत्मविश्वासका म हदैसम्मको सम्मान गर्छु । हामी एउटै दृष्टिकोणका साथ जाँदै गर्दाखेरि यसको नेतृत्व गर्ने सन्दर्भमा पनि सहकार्य गर्नुपर्छ । नेतृत्व आलोपालो गर्न पनि सकिन्छ । नेतृत्वलाई सुझाव दिएर अघि जान पनि सकिन्छ । नेतृत्वमा म रहँदा हाम्रा सम्पूर्ण साथीहरूको भावना प्रतिबिम्बित भएर मैले काम गर्छु ।

पत्रकार महासंघ साहुजीको संस्था भयो भन्ने आरोप पनि लाग्छ, पत्रकार तलब नपाउँदा बोल्न अलि डराउँछ भन्ने आरोप पनि छ ?

यस्ता अरोप लाग्नु भनेकै संस्थालाई सुधार गर्दै अगाडि बढ्नका लागि मद्दत पुग्छ भन्ने मेरो बुझाइ हो । यो आरोपलाई ग्रहण गर्छु । ती आरोपहरू अर्को पटक नलाग्ने गरी काम गर्ने मेरो प्रयास हुन्छ । तर, ती आरोपहरू कति सत्यताको नजिक छन् भन्ने कुराको विश्लेषण पनि गर्नुपर्छ । पत्रकार महासंघको वर्तमान कार्यसमितिले श्रमका मुद्दालाई एकदमै एग्रेसिभ भएर उठाएको अवस्था छ । सञ्चार माध्यमसम्म पुगेर धर्ना दिने काम गरेका छौं ।

लगानीकर्ताको घरसम्म पुग्छौं है भनेर हामीले खबरदारी पनि गरेका छौं । पत्रकार महासंघ साहुको संस्था हुन्थ्यो भने व्यवस्थापन पक्षलाई त्यसरी चुनौती दिन सक्ने थिएन । पत्रकार महासंघ श्रमजीवीको संस्था हो । श्रमको मुद्दामा सम्झौताहीन ढंगले अघि बढ्छ । स्वतन्त्रता र श्रमको मुद्दामा कुनै पनि सम्झौता नगर्ने संस्थाको रूपमा आफूलाई उम्भाएको हुनाले यसमा आशंका गर्ने ठाउँ छैन । प्रस्तुति : मुक्तिबाबु रेग्मी