देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको नीति तथा कार्यक्रम वैशाख २६ मा आउने

देशान्तर

काठमाडौँ । सरकारले आगामी आव ०७३÷७४ को नीति तथा कार्यक्रम यही वैशाख २६ गते सदन समक्ष प्रस्तुत गर्ने भएको छ । 

व्यवस्थापिका–संसद् सचिवालयले चालु अधिवेशनमा प्रस्तुत हुने मुख्य कार्यक्रम र त्यसका लागि बनाएको प्रारम्भिक समय तालिकामा सो कुरा उल्लेख छ । नेपालको संविधानमा व्यवस्था भए अनुसार सरकारको आगामी आवको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन अपराह्न ४ बजे सदन समक्ष प्रस्तुत गर्नुहुनेछ । 

त्यस्तै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) आगामी जेठ १५ गते अपराह्न ४ बजे प्रस्तुत गर्ने गरी संसद् सचिवालयले कार्यसूचीको खाका तयार गरेको छ । 

संसद्को आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सचिवालयले चालु अधिवेशनका लागि तयार गरेको उक्त कार्यक्रम र समय तालिकाको प्रारम्भिक खाका संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकलाई उपलब्ध गराइएको थियो । 

संसद् सचिवालयका अनुसार भूकम्पपछिको पुनःनिर्माण, मुलुकका विभिन्न स्थानमा भएका आगलागी लगायत समसामयिक विषयमा यही वैशाख २२ र २३ गते संसद्को पूर्ण बैठकमा छलफल हुनेछ । अर्थमन्त्री पौडेलले यही वैशाख २३ गते संसद् समक्ष पेस गर्र्ने पूर्वबजेट अर्थात् बजेटको सिद्धान्त र प्राथमिकतामाथि वैशाख २४ र २५ गते छलफल गरिने छ । 

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि अध्ययन र संशोधन गर्न वैशाख २७ गते बिहान ११ देखि ४ बजेसम्मको समय प्रस्ताव गरिएको छ । सदनमा वैशाख २८ देखि ३० गतेसम्म छलफल हुने सरकारको नीति तथा कार्यक्रम पारित गर्नका लागि वैशाख ३१ गते निर्णयार्थ प्रस्तुत गरिने छ । 

सरकारले आह्वान गरे अनुसार राजनीतिक दलले भूकम्पपछिको पुनःनिर्माणमा स्वयम्सेवी परिचालन गर्ने सन्दर्भलाई दृष्टिगत गरेर जेठ १ देखि १२ गतेसम्म संसद्को बैठक नराखिने भएको छ । जेठ १३ गते मुलुकको आर्थिक सर्भेक्षण प्रस्तुत गरिने छ भने बजेटमाथिको सामान्य छलफलका लागि जेठ १७ देखि १९ गतेसम्मको दिन प्रस्ताव गरिएको छ । 

अर्थमन्त्रीबाट बजेट छलफलका क्रममा उठेका प्रश्नको जेठ २० गते जवाफ दिएपछि संसद्को बैठक जेठ २१ देखि ३२ गतेसम्म बस्ने छैन । विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल र विनियोजन विधेयक पारित गर्ने समय असार १ देखि १५ गतेसम्मको दिन छुट्याइएको छ ।

नीति तथा कार्यक्रम र पूर्वबजेट छलफल सामान्यतः बिहान ११ देखि ५ बजेसम्म हुने संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।  भूकम्पपछिको पुनःनिर्माण र समसामयिक विषयमा वैशाख २२ र २३ गते हुने छलफलका लागि १२ घन्टाको समय निर्धारण गरिएकाले सांसदलाई बोल्न दलीय आधारमा समय प्रदान गरिने उल्लेख छ । 

]]>