काठमाण्डौ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का कारण नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन नसकेको बताएका छन् । बिहीवार समसामयिक राजनीतिक घटनाक्रमको सम्बन्धमा प्रतिक्रिया दिँदै प्रवक्ता शर्माले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता नगरेको अवस्था र जसपा वर्तमान सरकारलाई विस्थापन गर्ने विषयमा ठोस निर्णयका साथ नआएका कारणले नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुन नसकेको बताए ।
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गरेर र जसपा गणितीय रूपमा एकढिक्का भएर उभिएमा मात्रै नेपाली कांग्रेसको नेतृत्वमा अथवा अरू कसैको नेतृत्वमा सरकार बन्ने अवस्था आउने उनले बताए। प्रवक्ता शर्माले भने, ‘माओवादी केन्द्रले सरकारको समर्थनको सन्दर्भमा केही टुङ्गो गर्नुपर्ने हो । कि समर्थन निरन्तर छ भन्ने उहाँहरूले निर्णय गर्नुपर्ने हो । समर्थन फिर्ता छ भने सार्वजनिक मञ्चबाट होइन लिखित रूपमा संसद् सचिवालयमार्फत सूचना जारी गरेर गर्नुपर्ने हो । त्यो परिस्थिति विकास भइसकेपछि स्वाभाविक रूपमा प्रधानमन्त्रीजीले विश्वासको मत लिनुपर्ने हुन्छ ।
नेपाली कांग्रेसले विश्वासको मत वर्तमान सरकारलाई पक्कै दिने छैन । संसदमा सरकारलाई दिएको समर्थन उहाँहरूले फिर्ता गरिसकेपछि बैठक बसेरै विधिवत् रूपमा यसको निर्णयमा पुग्नेछौँ । त्यसपछि विश्वासको मत प्राप्त हुने वर्तमान सरकारको अवस्था भएन भने नयाँ सरकारका लागि ढोका खुल्ने अवस्था हुन्छ । त्यो बेलामा सत्ता समीकरणको विषय ठिक समयमा परिपक्व ढङ्गले एउटा परिस्थितिको विकास भएर जान्छ अनि सरकार बन्न सक्छ ।’ प्रवक्ता शर्माले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको र जसपाले गणितीय रूपमा एकढिक्का भएर उभिने सङ्केत प्रष्ट नगरेको अवस्थामा नेपाली कांग्रेस प्रधानमन्त्री पदका लागि तयार नरहेको पनि बताए।
प्रतिक्रिया