काठमाडौं । चैत १ गतेदेखि देशको जेठो अस्पताल वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीको दुईवर्षे कार्यकाल सकिएपछि अस्पतालभित्र र बाहिरबाट धेरै आकांक्षी रहेता पनि ११ तहको सबैभन्दा ज्येष्ठ डा. शान्ता सापकोटालाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको छ । उनको जिम्मेवारीलाई लिएर प्रतिक्रिया भने मिश्रित नै आएका छन् ।
विगतमा राजनीतिक भागबन्डा गरी कनिष्ठ चिकित्सकलाई निर्देशकको जिम्मेवारी दिएर लथालिंग र थिलथिलो पारिएको वीर अस्पतालमा ज्येष्ठताको मर्यादा कायम गरी केही भए पनि सुधारको संकेत देखा परेको भन्नेहरू पनि छन् भने केहीको अहिले भित्रभित्रै पेट पोल्न थालेको छ ।
सेन्चुरीको कार्यकाल सकिनथाल्दा दौडधुपमा लागेका धेरैलाई पछाडि पार्दै लो—प्रोफाइलमा रमाउने डा. सापकोटालाई निर्देशकको जिम्मेवारी दिएपछि उनलाई सजिलो पार्नेभन्दा लडाउन खोज्नेहरूको संख्या अहिले बढ्न थालेको वीर अस्पताल परिसरमा चर्चा हुन थालेको छ ।
उनलाई हटाउनका लागि डा. सापकोटा असारमा रिटायर्ड भइहाल्ने र उनले पूरै कार्यकाल चलाउन नपाउने भएकाले पनि उनको विकल्प खोज्नुपर्ने तर्क गर्नेहरू पनि छन् ।
नेपाल सरकार र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान दुई थरीको चिकित्सक कार्यरत भएकाले पनि निर्देशक को हुने भन्ने विवाद रहँदै छ । स्वायत्त संस्थाको पगरी दिंदै आफूहरूबाट निर्देशक हुनुपर्ने भनेर प्रतिष्ठानका केही चिकित्सक लागिपरेका छन् । नाक, कान, घाँटी विभागका डा. दीपेन्द्र श्रेष्ठ नेताका ढोका ढोका चहार्दै आफू निर्देशक हुन पाऊँ भनी हारगुहार गर्दैछन् । तर उनी आफैं स्वास्थ्य मन्त्रालयको कोटामा विशेषज्ञता हासिल गरेपछि सेवामा नफर्की स्वास्थ्य मन्त्रालयको दरबन्दीमा भगौडा रहेको तर टीका लगाई प्रतिष्ठानको जागिर खाइरहेको तथ्य भने लुकाइरहेका छन् ।
त्यस्तै, ग्यास्ट्रोकी डा. रमिला श्रेष्ठ पहिले निर्देशक रहिसकेका डा. भूपेन्द्र बस्नेतसँग रहेको रिसइबी साँध्न आफूलाई दाबेदार प्रस्तुत गरेकी छिन् । अस्पतालमा भन्दा निजी क्लिनिकमा व्यस्त हुने हाडजोर्नीका डा. दीपक दत्त र सम्पूर्ण समय ब्लु क्रसमा बिताएर वीरमा हाजिर गर्न मात्र आउने डा. पारसमणि श्रेष्ठ पनि मौका छोप्ने होडमा छन् ।
यस्तै, नेपाल सरकारतर्फका केही चिकित्सक पनि गोटी फाल्न व्यस्त छन् । कनिष्ठ भए पनि राजनीतिक पहुँचको आधारमा एक कार्यकाल चलाइसकेका डा. भूपेन्द्र बस्नेत अस्पतालको युनियनहरूलाई उचाली डा. सापकोटालाई असफल पार्न ज्यान फालेर लागको छन् ।
अझै १० तहमै रहे पनि आफ्नो कार्यकालमा करोडौको सामान खरिद गरी कमाउने बाटो चिनिसकेका बस्नेत फेरि तेही दाउँमै छन् । उनकै कार्यकालमा खरिद गर्न र चाख्नपल्केका युरोलोजीका अर्का १०औं तहका डा. अनिल श्रेष्ठ पनि खुट्टा उठाएर बसेका छन् । १०औं तहकै अर्का डा. इन्द्रकुमार झा पनि निर्देशकको लागि मन्त्रीको पछिपछि लागेका छन् । जागिर अवधिको आधारमा पूरै कार्यकाल चलाउन पाउने ११औं तहको चिकित्सक निर्देशक भए अस्पतालको प्रगति हुन्छ भन्ने आमधारणा रहेको छ ।
अस्पतालको सञ्चालक समितिमा रहिसकेका, रेडियोलोजी विभाग प्रमुखको रूपमा कार्यरत र प्रशासन, चिकित्सक र कर्मचारीलाई सन्तुलनमा राख्न सक्ने खुबी भएका ११ तहका डा. सरोज शर्मा प्रमुख दावबदार हुन सक्छन् ।
११औं तहका ग्यास्ट्रो मेडिसिनका डा.अजित खनाल, सर्जरीका डा.अनिप जोशी र हाडजोर्नी विशेषज्ञ डा. रुद्र मरासिनीले पनि आफूलाई बलियो दाबेदार मान्छन् । डा. मरासिनी भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट रहिसकेका हुन् । ११औं तह भए पनि प्रशासन चलाउनुभन्दा बिरामीको उपचारमा रमाइरहेका एनेस्थेसियाका विभाग प्रमुख डा. रीतु प्रधान, छाती रोग प्रमुख डा. अशेष ढुंगाना र युरोलोजी विभाग प्रमुख डा. रविन बस्नेतले निर्देशकको दौडबाट आफूहरूलाई टाढा राखेका छन् । नेफ्रोलोजीकी डा. रजनी हाडा, सर्जरीका डा. प्रमोद उपाध्यय र सीटीभीएसका डा. किरण श्रेष्ठको भने दुई वर्ष कार्य अवधि बाँकी छैन । वीर अस्पताल बाहिरबाट खेलमा रहेकामा स्वास्थ्य मन्त्रालयमा रहेका डा. जागेश्वर गौतम र डा. विकास देवकोटा छन् भने वीरगन्जमा रहेका डा. सञ्जय ठाकुर छन् ।
वीर अस्पतालमा उपकुलपतिको सिफारिसमा पदेन सहकुलपति स्वास्थ्यमन्त्रीले निर्देशक नियुक्ति गर्ने प्रावधान रहेको छ । उपकुलपति डा. देवनारायण साह सरकारी सेवा बाहिरका रहेकाले पनि उनले क—कस्लाई सिफारिस गर्नेछन् भन्ने अस्पतालमा कौतुहलता रहेको छ । जिन्दगीभर स्वास्थ्य सेवामा रहे पनि मन्त्रीको आशीर्वाद पाइएला भनी हाल आएर उपकुलपतिको हनुमान बनेका रेक्टर डा. सुबोध अधिकारीले कस्तो भूमिका खेल्नेछन् भन्ने पनि धेरैको चासोको विषय बनेको छ ।
नियम कानुन संगत रहेर नेपाल सरकारमा रहेका ११औं तहका चिकित्सक वा राजनीतिक हस्तक्षेप र भेटीको आधारमा कनिष्ठ १०औं तहको चिकित्सक हुनेछन् कि टीका लगाएर वीर अस्पताल छिरेका समितिको ८औं तहका चिकित्सक निर्देशक नियुक्ति हुन्छ, यसैले वीर अस्पतालको आँउदो दिनको भाग्य कोर्नेछ ।
प्रतिक्रिया