देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौंबासीका घर-घरमा आइपुग्यो मेलम्चीको पानी

देशान्तर

काठमाडौं – दुई दशक लामो प्रतीक्षापछि बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकाबासीका घर घरमा आइपुगेको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको खानेपानी राजधानीस्थित विभिन्‍न स्थानमा झारेको हो ।

आइतबार दिउँसो २ बजेदेखि काठमाडौंका विभिन्‍न क्षेत्रमा पानी वितरण सुरु गरिएको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए । चाबहिलस्थित महाँकाल चौरको ट्यांकीबाट घर घरमा पानी दिन थालिएको उनले बताएका छन् ।

‘आजदेखि मेलम्चीको खानेपानी घर घरमा पुगेको छ। चाबहिलस्थित महाँकाल चौरको ट्यांकीबाट मेलम्चीको खानेपानी घरघरमा झारिएको छ’, राईले भने, ‘अनामनगरस्थित ट्यांकीबाट त्यस क्षेत्रमा पानी खसिसकेको छ ।’

उनका अनुसार मेलम्चीको पानी कुटुबहाल, कालो पुल, विशालनगर, देवकोटा चोक, बत्तीसपुतली र बागेश्वरी क्षेत्रमा झरिसकेको छ । एउटा क्षेत्रमा झरिसकेको पानी आजै उपत्यकाका अन्य क्षेत्रमा पनि पठाइने उनले बताए । उनका अनुसार अहिले मिनभवनस्थित ट्यांकी भरिएपछि नयाँ बानेश्वर क्षेत्रमा पनि वितरण गरिनेछ ।

राईका अनुसार आजै बाँसबारी र महाराजगन्ज क्षेत्रको ट्यांकीमा भरेर त्यस क्षेत्रमा पनि पानी पठाइनेछ । केयुकेएलले अहिले परीक्षण गरेर जेठदेखि नियमित पानी दिने भएको छ । आज मात्रै केयुकेएलले उपत्यकामा मेलम्चीको चार लाख लिटर पानी बाँड्ने योजना बनाएको छ ।