म्यानमारमा सैन्य सत्ताले नरसंहार मच्चाएको छ । प्रजातन्त्रको पक्षमा सडकमा उत्रिएकाहरुमाथि सेनाले गोली हानेर हत्या गरेको हो ।
शनिबार मात्र सेनाले चलाएको गोली लागि झण्डै एक सय जना मारिएका छन् । सुरक्षाकर्मीको ज्यादतीको विरोध गर्न खोज्दा होनिएको गोली लागेर प्रदर्शनकारीहरु मारिएका हुन् ।
शनिबार ‘आर्मड फोर्सज डे’ का दिन सडकमा उत्रिएका प्रदर्शनकारी माथि सुरक्षा बलले चलाएको गोली लागि ९० जनाभन्दा बढी व्यक्ति मारिएको बीबीसीले जनाएको छ ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार मृतकको संख्या यकिन हुन सकेको छैन । यो संख्या अझै बढ्न सक्नेछ ।
सडकमा आफ्ना नागरिकको हत्या गर्नुपूर्व सत्ता हत्याएका सेना प्रमुख आङ लाइङले शनिबार राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रदर्शनमा ननिस्कन र निस्किएमा गोली चल्न सक्ने चेतावनी दिएका थिए ।
सरकारी टेलिभिजनले पनि प्रदर्शनकारीहरूले अहिलेसम्म भएको मृत्युबाट सिक्नुपर्ने जनाएको थियो । प्रदर्शनमा सहभागीहरूलाई अगाडि र पछाडि दुवैतर्फबाट गोली लाग्नसक्ने चेतावनी दिएको थियो ।
सेना प्रमुख लाइङले त्यसक्रममा लोकतन्त्रको रक्षा गर्ने र देशमा चुनाव गराउने पनि बताए । नयाँ निर्वाचनमा प्रजातन्त्रवादी नेतृ आङ साङ सूचीको दलले दुई तिहाई बहुमत ल्याएपछि नयाँ संसदको बैठक बस्ने दिनमै सेनाले कू गर्दै सत्ता हत्याएको थियो ।
निर्वाचनमा आफू समर्थित दलको पत्तासाफ भएपछि सेनाले फेब्रुअरीमा शासन हत्याएको थियो । त्यसयता मात्र सेनाले चार सयभन्दा बढी प्रजातन्त्रवादी प्रदर्शनकारीको हत्या गरिसकेको छ ।
प्रतिक्रिया