काठमाडौँ – नेपाली कांग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ।
शनिबार बिहान सानेपास्थित पार्टी कार्यालयमा बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो।
यस्तै, १७ गते एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि बैठकले गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पनि पारित गरेको छ।
कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जोशीको शुक्रबार नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो। गत फागुन १४ गते बिहान मस्तिष्कघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल हुँदै नर्भिक अस्पताललाई भर्ना गरिएको थियो।
प्रतिक्रिया