टोकियो – जापानको राजधानी टोकियोमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार टोकियोमा बुधबार थप ४२० जना संक्रमित थपिएका हुन् ।
योसँगै राजधानी टोकियोमा अहिलेसम्म कूल संक्रमितको संख्या १ लाख १८ हजार ४६१ पुगेको छ । टोकियोमा बुधबार दोस्रो पटक दैनिक संक्रमितको संख्या ४०० नाघेको हो । यसअघि एकैदिनमा ४०९ जना संक्रमित भएका थिए ।
सरकारी अधिकारीहरुका अनुसार राजधानी टोकियोमा गत मंगलबार ३३७ जना र सोमबार १८७ जना नयाँ संक्रमित थपिएका थिए । टोकियो क्षेत्रमा यसअघि लामो समयदेखि लागू गरिएको धेरै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाइएपछि संक्रमितहरुको संखयामा फेरि वृद्धि भएको हो ।
कतिपय स्थानीय अधिकारीहरुले भने सार्वजनिक र ठूला कतिपय कार्यक्रमहरुका कारण संक्रमण थप फैलिएको दाबी गरेका छन् । पछिल्लो सात दिनमा औसतमा ३०९।७ जना नयाँ संक्रमित थपिएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।
कोरोनाभाइरसबाट प्रभावित मुलुकहरुको सूचीमा जापान ३९औँ क्रममा पर्दछ । जापानमा अहिलेसम्म चार लाख ५७ हजार ७५४ जना संक्रमित भएका छन् । त्यसैगरी कोरोनाभाइरसबाट संक्रमित भएर ८ हजार ८६१ जनाको मृत्यु भएको जापानका अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया