देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

किरण चेम्जोङको कप्तानीमा नेपाली फुटबल टिमको घोषणा

देशान्तर

काठमाडौं – थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलका लागि नेपाली टिमको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले बुधबार गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टिमको घोषणा गरेका हुन् । गोलकिपर दीप कार्की, डिफेन्डर निशान खड्का, छिरिङ गुरुङ, मिडफिल्डर त्रिदेभ गुरुङ र सन्जोग राई पहिलो पटक टिममा परेका छन् ।

राष्ट्रिय टिमका नियमित फरवार्ड नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, आशिष लामा, सन्तोष तामाङ टिमबाट बाहिरिएका छन् । टिमबाट बाहिरिने अन्य खेलाडीमा गोलकिपर विशाल श्रेष्ठ, विशाल सुनार, डिफेन्डर पाल्साङ लामा, सुरज बिक, विकास खवास, हेमन्त थापा मगर रहेका छन् ।

चोटमुक्त हुँदै अनन्त तामाङ टिममा फर्किएका छन् । सन्यासको संघारमा रहेका पूर्व कप्तान विराज महर्जन एक वर्षपछि टिममा पुनरागमन गरेका छन् । विराजले यस प्रतियोगितापछि सन्यास लिने छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको यू-२३ टिमको सहभागिता रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले भोलि (बिहीबार) पहिलो खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

मंगलबार भएको उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ । राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।