म्यान्मारमा आफूले सत्ता कब्जा गर्नु (फेब्रुअरी १) अघि नै सेनाले देशको दक्षिण–पूर्वी दूरदराज क्षेत्रमा नागरिकलाई यातना दिन सुरु गरेको खुलासा भएको छ ।
सहयोगी समूहले सार्वजनिक गरेको दाबीअनुसार सेनाको अत्याचार सहन नसकेर त्यस क्षेत्रमा बसोबास गर्ने कैरन समुदायका झन्डै ८ हजार मानिसले आफ्नो घर छाडेका छन् ।
सहयोगी समूहका अनुसार पछिल्लो १० वर्षयता यहाँ भएको सबैभन्दा ठूलो कारबाही हो । ती मानिस आफ्नो स्वास्थ्य र सुरक्षाको चिन्ताबीच जंगलमा बस्न बाध्य छन् । अहिलेसम्म गाउँ फर्किने कुनै आशा देखिएको छैन ।
सैनिक शासनविरुद्ध सडकमा विरोध प्रदर्शन भइरहेका बेला सीमावर्ती क्षेत्रको त्यो संकट सार्वजनिक हुन पाइरहेको छैन ।
कैरन समुदायको प्रमुख राजनीतिक संगठन ‘कैरन नेसनल युनियन (केएनयू) ले विस्थापित सबै मानिसलाई आश्रय, खाना, सुरक्षाजस्ता आधारभूत आवश्यकता पूर्ति गरिरहेको छ ।
केएनयूका विदेश विभाग प्रमुख प्याडो साले भनेका छन्, ‘आगामी दिनमा उनीहरूको चुनौती अझै बढ्न सक्छ । यसैले हामीले विश्व समुदायसमक्ष उनीहरूको उद्धारका निम्ति अपिल गरेका छौं ।’
म्यान्मारको सेनाले गत फेब्रुअरी १ देखि त्यहाँको शासन सत्ता आफ्नो हातमा लिएको छ भने आङ सान सुचीलगायत सबै लोकतान्त्रिक नेतलाई नजरबन्दमा राखिरहेको छ । जसको विरोधमा म्यान्मारी नागरिकले दैनिक विरोध प्रदर्शन गरिरहेका छन् ।
त्यस क्रममा सुरक्षाकर्मीको गोली र यातनाले तीन सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने कैयौं घाइते भएका छन् ।
प्रतिक्रिया