देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दुर्गाप्रसाद घर फर्किए, ४० वर्षपछि आमाछोराको पुन:मिलन

देशान्तर

काठमाडौं – भारतस्थित पश्चिम बंगालको सेन्ट्रल जेलमा ४० वर्ष बसेर शनिबार जेलमुक्त भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) आइतबार आफ्नो घर आइपुगेका छन् ।

दुर्गाप्रसाद आइतबार दिउँसो घर आइपुगेका हुन् । आफ्नी आमालाई मिठाइ बोकेर स्वदेश फर्किएका दुर्गाप्रसादले ‘नेपाल आउँदा कस्तो लाग्यो ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा भने‚ ‘हो, आइयो ।’ दुर्गाप्रसादले भारतीय सञ्चारमाध्यमहरुसँग आफू निर्दोष रहेको बताएका थिए ।

आमाछाराको पुनर्मिलनका क्षण निकै संवेदनशील थियो । न उनीहरु खुलेर रुन सके, न खुलेर हाँस्न । ८६ वर्षीया आमा धनमायाले छोरोलाई सुम्सुम्याइन् र आँशु खसालिन् । दुर्गाप्रसादले आमालार्य मिठाइ खुवाइदिए ।

‘यो त दुब्लाएछ नि,’ छोरालाई देखेपछि ८६ वर्षका आमाले भनिन्, ‘हलो जोत्दाजोत्दै देश गएर कमाएर ल्याउँछु भनेको थियो, हराएको हरायै भयो ।’

आफूले छोरा आउँछ भनेर बाटो हेरिराखेको पनि उनले बताइन् । ‘आउँछ भनेर बाटो हेरिरहेको थिएँ, बल्ल आयो, खुसी लाग्यो’ उनले भनिन् । २० वर्षको उमेरमा दुर्गाप्रसाद देश-विदेश गर्छु, आमा र भाइबहिनीलाई पाल्छु भन्दै घरबाट निस्किएका थिए । तर, ४० वर्षसम्म उनले अपुष्ट आरोपमा जेल जीवन बिताउनुपर्यो । अन्ततः उनी जेलबाट निस्केर आफ्नो घर फर्किए ।

दुर्गाप्रसादलाई लिन उनका भाइ प्रकाशचन्द्र तिम्सिनालगायत परिवार तथा आफन्तजन भारत पुगेका थिए । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अपराह्न अदालतले पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई मुक्त गरेको हो । त्यहाँस्थित उच्च अदालतका न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले बुधबार उनलाई छाड्न आदेश दिएको थियो ।