काठमाडौँ – कांग्रेस नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा एमाले र माओवादी-केन्द्र छाडेर आएका कार्यकर्तालाई नेपाली कांग्रेसमा प्रवेश गराउँदै उनले ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले न्यूनतम नैतिकतासमेत नदेखाएको सिंहको भनाइ छ । माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजीनामा माग नगरेको परिस्थिति भए पनि राजनीतिक मूल्यमान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।
कम्युनिस्ट सरकारले पाँच वर्षसम्म दिएको म्यान्डेट पूरा गर्न नसकेको भन्दै उनले अब बाँकी समयमा थप राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउन सबै दल मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । सरकारले राजनीतिमा देखाउनुपर्ने, दर्साउन सक्नुपर्ने कुरा प्रधानमन्त्रीले राजीनामा दिएर गर्नुपर्नेमा नगरेको र माओवादी केन्द्रले अहिलेसम्म समर्थन फिर्ता लिन नसकेको उनले बताए ।
प्रतिक्रिया