देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्षितिजको ‘एक्लो महारथी’

देशान्तर

घनेन्द्र ओझा

नेपाली भाषा र साहित्यका अध्येता, विद्यार्थी, स्रष्टा, समालोचक हुन् महेश कार्की ‘क्षितिज’ । हाल नेपाली साहित्यमै विद्यावारिधि गरिरहेका क्षितिजले भर्खरै पहिलो कविता कृति ‘एक्लो महारथी’ बजारमा ल्याएका छन् ।

क्षितिज भाषा र साहित्यकै शोधार्थी र विद्यार्थी हुन् । उनको साहित्यिक क्षितिज स्वाभाविक रूपले नै फराकिलो छ, विस्तृत छ । निरन्तर अध्ययन, लेखन र खोज उनको धर्म र कर्म दुवै हो । यसर्थ पनि आमपाठकको अपेक्षा हुन्छ, क्षितिजले केही नयाँ कुरा दिऊन् भाषा, साहित्य र समालोचनाका क्षेत्रमा । यो अपेक्षा अन्यथा होइन पनि ।

र, अर्को पाटो पनि छ लेखक, समालोचकको, त्यो हो, सिर्जना र समालोचना एकै होइनन् । सर्जक र समालोचक एकै हुने कुरै भएन । सर्जक निर्माता हो भने समालोचक व्याख्याता । निर्माता गुणले सर्जकले सिर्जना गर्छ भने द्रष्टा भूमिकामा समालोचकले व्याख्या र विश्लेषण गर्छ ।

कुनै पनि सर्जक वा समालोचकसँग विपरीत गुणमा स्तरीयता खोज्नु हाम्रो कमजोरी हुन आउँछ । राम्रो स्रष्टा असल द्रष्टा (समालोचक) नहुन सक्छ भने असल द्रष्टा (समालोचक) राम्रो स्रष्टा नहुन पनि सक्छ । तथापि, सर्जक वा समालोचकमा यी दुवै गुण भने हुन सक्छन्, खाली मात्रा कति भन्ने मात्र हो ।

क्षितिजमा भने दुवै गुण प्रखर छन् । उनी सिर्जनामा पनि मिहिनेत गर्छन् र समालोचनामा पनि । उनको यही विशिष्ट गुणले उनलाई नेपाली साहित्य र समालोचना दुवै क्षेत्रमा स्थापित गराएको छ ।
संसारका हरेक मानिसमा सिर्जना र समीक्षाको गुण छ तर त्यो अभिव्यक्त गर्ने कला र सामथ्र्य भने कमैमा मात्र हुन्छ । सिर्जना अभिव्यक्तिको कला पनि हो भने समीक्षा, समालोचना तथ्यको अन्वेषण र विश्लेषण । यी दुवै कुरामा सक्रिय बन्न सक्नु र सबल हुनु भनेको निकै चुनौतीपूर्ण कार्य हो ।

यहाँ स्रष्टा क्षितिजको क्षितिज केलाउने प्रयास मात्र गरिएको हो, समालोचक क्षितिजको क्षितिज अन्य सन्दर्भमा केलाइनेछ ।

५२ वटा विविध विषय र भाव समेटिएका मध्यम आयामका काव्यिक रचनाहरूको संग्रह हो ‘एक्लो महारथी’ । यस कृतिभित्रका रचनामा क्षितिजले वर्तमान समाजका बेथिति र विकृति अनि विसंगतिप्रति सूक्ष्म असन्तुष्टि जाहेर गरेका छन् । बदलिँदो विश्वको परिवेशलाई पनि विभिन्न बिम्ब र प्रतीकका माध्यमले प्रस्तुत गरेका छन् आफ्ना रचनामा । सोझो नभएर प्रतीकात्मक र सांकेतिक रूपमा वर्तमान धोखाधडीपूर्ण, कपटी र अराजक राजनीतिप्रति व्यंग्य गर्नुका साथै यस्तो प्रवृत्तिप्रति विरोध जनाएका छन् ।

क्षितिजले आफ्ना रचनामा फराकिलो सामाजिक, मानवीय, सांस्कृतिक, राजनीतिक परिवेश चिहाउने प्रयत्न गरेका छन् । क्षितिजको प्राक्ऐतिहासिक मिथक, घटना, पात्र र परिवेशलाई वर्तमानसँग जोडेर हेर्ने अनि काव्यिक विमर्श गर्ने शैली लोभलाग्दो छ ।

माथि भनिएझैँ क्षितिज जस्ता साहित्य, भाषाका शोधार्थी र अध्येताबाट आमपाठकले गर्ने अपेक्षा भने सशक्त हुन सकेको छैन यस कृतिमा । कुनै पनि कृति भनेको पाठ, सन्दर्भ र कलाको संयोजन हो । यो कुरा काव्यमा विशेष लागू हुने गर्छ । संसारभरका स्रष्टाले देख्ने र लेख्ने विषय, सन्दर्भ वा पाठ उही र उस्तै हुन् । खाली नयाँ ढंगले त्यसको प्रस्तुति गर्ने कुरा मात्र हो बाँकी स्रष्टाले । र, यस्तो प्रस्तुति गर्दा पाठ वा सिर्जनामा दिइने कलाले मात्र सिर्जनाको फरकपनको पहिचान दिने गर्छ ।

उही कुरा, उसरी नै र उस्तै तरिकाले भन्नका लागि नयाँ सिर्जना आवश्यक हुँदैन । फरक ढंगले, फरक शैलीमा र फरक सन्दर्भले अभिव्यक्त गर्न सक्ने खुबीले नै कुनै पनि सर्जकलाई अन्य सर्जकभन्दा भिन्न बनाउँछ, पाठ वा सिर्जनालाई मौलिक र आकर्षक बनाउँछ । यसर्थ पनि हरेक नयाँ सर्जकमा पाठ र सन्दर्भभन्दा पनि त्यसलाई कसरी प्रकट गरेको छ वा अभिव्यक्त गरेको छ, उसको अभिव्यक्तिको कौशल कस्तो छ ? भन्ने कुरा खोजिन्छ ।

यसलाई अर्थात् अभिव्यक्तिको कौशललाई नै भनिन्छ शैली, शिल्प वा कला, बुट्टा । यो चिज कविता वा काव्य विधामा बढी अपेक्षित छ ।

यो पक्षमा अर्थात् कला, शिल्प पक्षमा भने क्षितिजका रचना सशक्त लाग्दैनन् । उसो त अहिले उत्तरआधुनिकताले छोपेको समय छ । विधाभञ्जनको समय छ । जे लेखियो, सो लेखियो, त्यसलाई हरेकले आआफ्नै ढंग, सोच र ध्येयले पढ्न र विश्लेषण गर्न पाठक स्वतन्त्र छन् भनिन्छ । तथापि, साहित्यका हरेक विधा । उपविधाका आफ्नै गुण, सौन्दर्य र शिल्प हुन्छन् । र, नै ती एकअर्काबाट भिन्न अस्तित्वमा छन् ।

कथा वा निबन्धलाई भाँचेर कविता बनाउन सकिँदैन भने कवितालाई बढाएर कथा वा निबन्ध वा उपन्यास बन्दैन । आख्यानको आफ्नै विशिष्ट संरचना छ भने कविता र निबन्ध अनि नाटकको भिन्न । यी एकअर्काका केही गुण एकअर्कामा निहित रहन सक्लान् तर ती समग्रमा एकै होइनन् र हुँदैनन् ।

यहाँ क्षितिजका काव्यिक रचनाबारे कुरा गर्दा यो सन्दर्भ उल्लेख गरिएको हो । क्षितिजमा काव्यचेत सशक्त हुँदाहुँदै पनि केही रचनामा भने उनी काव्यचेतको सशक्ततामा चुकेका छन् । विशेषतः शिल्प वा बुनोट पक्ष कमजोर हुँदा उनका केही कविता कतै कथा वा निबन्धका भाँचिएका वा टुक्रिएका रूप पो हुन् कि भन्ने पाठकलाई भान पर्न सक्छ ।

समग्रमा, कवि क्षितिजको काव्यिक क्षितिजलाई औसत रूपमा देखाउँछ यस कृतिले । तथापि, उनको परिष्कारको समय अझ बाँकी छ । आगामी दिनमा अझ परिष्कृत, सिर्जनाप्रति बढी संवेदित र सजग हुनेछन् र क्षितिजले उत्कृष्ट काव्य कृति नेपाली साहित्यमा दिनेछन् भन्न हिच्किचाउनु पर्दैन ।