काठमाडौ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेता भीम रावलले राष्ट्रपतिको कार्यालय शीतलनिवास लाई राजनीतिक छलफलको थलो बनाउनु गलत भएको टिप्पणी गरेका छन्।
समसामयिक राजनीतिक परिस्थितिबारे राष्ट्रपतिले पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग छलफल गरेको भोलिपल्ट बुधबार ( आज ) एमालेका उपाध्यक्ष रावलले त्यसप्रति आपत्ति जनाएका हुन्।
मंगलबार राष्ट्रपतिले शीतलनिवासमा आयोजना गरेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीत्रय नेपाल, खनाल र डा। बाबुराम भट्टराईले सहभागी भएका थिएनन्।
एमाले नेताद्वय खनाल र नेपालले बैठकमा सहभागी नहुने बताएका थिए भने जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले स्वास्थ्यका कारण सहभागी हुन नसक्ने जानकारी गराएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओली तथा अन्य पूर्वप्रधानमन्त्री र दलका नेता सहभागी सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले फेरि संसद विघटन गरेर ताजा जनादेश ( चुनाव ) मा जाने चाहना व्यक्त गरेका थिए। तर एक जना ( नेमकिपाका प्रतिनिधि प्रेम सुवाल ) बाहेक उपस्थित सबैले त्यसमा आपत्ति जनाएका थिए।
प्रधानमन्त्री ओलीको सिफारिसमा गत पुस ५ गते प्रतिनिधि सभा विघटन घोषणा गरेयता राष्ट्रपति भण्डारीले मंगलबार पहिलोपटक सर्वदलीय बैठक राखेकी हुन्।
प्रतिक्रिया