देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चित्रेमा पूर्वाधार थप्दै घरबास सञ्चालक

देशान्तर

पर्वत – गाउँमा भविष्य नदेखेपछि शहर झरेका आजभोलि गाउँमा देखिन थालेका छन् । व्यवसाय सञ्चालन र सुविधाको खोजीमा शहर झर्नेलाई अचेल गाउँले मोहनी लगाउन थालेको छ । गाउँका स्वास्थ्यचौकीमा सुविधा थपिएको छ । बजारमा पाइने सामग्री गाउँमा सहज ढङगले ढुवानी गर्न सकिने भएको छ । यति मात्र होइन गाउँमा अचेल पर्यटकको चहलपहल शुरु हुन थालेको छ ।

यस्तै एउटा उदाहरणीय गाउँ बनेको छ पर्वत जिल्लाको मोदी गाउँपालिका–८ को चित्रे । पञ्चासे लेकसँग जोडिएको चित्रे आफैमा मनोरम गाउँ हो । चित्रेको उपल्लो भेगमा गुरुङ जातिको बसोबास छ । मिश्रित जात बस्ने चित्रेमा अन्य जातजातिका मानिसको पनि बसोबास छ । पर्वत र कास्कीको सीमाना पर्दछ पञ्चासे लेक ।

यो धार्मिक र पर्यावरणीय हिसाबले पञ्चासे लेक अलौकिक लेक हो । यहाँ बहुमूल्य जडीबुटी पाइन्छन् । यो लेकको काखमा छ चित्रे । उच्च पहाडी सतहमा रहेको चित्रे पछिल्लो समय चर्चामा छ । यहाँका केही घरधुरीमा नेपालीपनका आतिथ्यता छ । केही रकम खर्च गरेर नेपालीपनको अनुभव गर्न पाइन्छ । नेपाली खाना, नेपाली बसाइँ र नेपाली संस्कृति चित्रे गाउँको विशेषता हो । गर्मी मौसममा शीतलता पाइने यो ठाउँ प्राकृति स्रोतले भरिएको छ ।

गाउँमा झण्डै एक दशकदेखि घरबास (हामेस्टे) सेवाको शुरुआत गरिएको छ । यो अवधिमा घरबासमा आउने पर्यटकको सङ्ख्या निकै उच्च देखिन्छ । पर्यटक गाउँमा आउन थालेपछि अहिले घरबास सेवा विस्तार गरिएको छ । पर्यटकको आवश्यकतालाई महसुस गर्दै गाउँमा ‘एटेच’ शौचालयसहितका कोठा निर्माण गरिएको छ । पर्यटकको संख्या उच्च भएकाले घरबास सञ्चालकले नयाँ घरको निर्माण गरी आवास गृह निर्माण गरिरहेका छन् ।

यो अवधिमा मात्रै एक दर्जनभन्दा बढी घर पुनर्निर्माणमा छन् । पुराना घरमा कोठा थप गर्ने र सजाउने काम गरेर उनीहरुले सुविधा सम्पन्न आवासगृह बनाउन लागेका छन् । यति मात्र होइन पोखरामा होटल व्यवसाय सञ्चालन गर्दै आइरहेका पनि अहिले गाउँमा नै घरबास सेवा सञ्चालन गर्न जुटेका छन् । होम स्टे सञ्चालक समितिका अध्यक्ष सुशीला गुरुङ भन्छिन्, ‘पर्यटकको संख्या बढ्न थालेपछि पोखरामा गर्ने व्यवसाय अब गाउँमै हुन थालेको छ, सडकको सहज पहुँच तथा गाउँको न्यानो आतिथ्यताका कारण चित्रेमा आउने पर्यटकको संख्या उच्च छ ।’

पूर्व भागमा पञ्चासे लेक र उत्तरी क्षेत्रमा टहटह देखिने हिमश्रृङ्खला । दक्षिण र पश्चिम क्षेत्रमा छिमेकी गाउँ । जिल्ला सदरमुकामदेखि झण्डै १८ किलोमिटरको पूर्वी दिशा । सदरमुकामदेखि करीब एक घण्टा ३० मिनेट गाडीको यात्राबाट पुग्न सकिन्छ चित्रे । ‘कच्ची सडकको यात्रा पार गरेर गाउँमा पुग्दा कोकिल कोइलीको आवाज र मन्दमन्द चलेको हिमालको चिसो हावामा जो कोही पनि आनन्दित हुन्छ । दुःख बिर्सन्छ । पीडा भुल्दछ र खुशीमा रमाउँछ’, वडाध्यक्ष सुकबहादुर गुरुङले भने ।

स्थानीय परिकारको स्वाद र संस्कृतिको धनी छ चित्रे । ‘चित्रे होम स्टे’ सञ्चालनमा आएपछि चित्रे अझै चर्चामा आएको हो । ‘चित्रेवासीको मन पवित्र छ’, होमस्टे अध्यक्ष गुरुङले भने । उनको अगुवाइमा सिङ्गो गाउँ अघि हिँडेको छ । स्थानीय शिक्षक मधुसुदन अधिकारी गाउँका अगुवा हुन् । गाउँलाई पर्यटन र संस्कृतिसँग जोड्न उनको ठूलो योगदान छ । आतिथ्यता र सभ्यता उनले गाउँभरि सिकाएका छन् ।

यतिमा मात्र चित्रेका कथा सकिँदैन । यो गाउँले पर्वतमै पहिलो सफल घरबास सञ्चालन गरेको हो । बसाइँसराइले रित्तिँदै गए पनि औपचारिक र अनौपचारिक कार्यक्रम लिएर अचेल गाउँमा पर्यटक भित्रिने गरेका छन् । सस्तो र सुलभ मूल्यमा खाना परिकार घरबासले व्यवस्थापन गरेको छ ।