देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कसरी पूरा गर्ने ऐतिहासिक दायित्व ?

देशान्तर

विनोद सिजापती

मानव निर्मित प्रकोपहरू विशेषगरी कोभिड महामारीको प्रकोप, जटिल राजनीतिक अवस्था तथा तीव्र गतिले ओरालो लाग्दै गरेको अर्थतन्त्रजस्ता कारणहरूले गर्दा राष्ट्र संकटग्रस्त छ । नागरिकप्रतिको दायित्व वहनबाट विमुख तथा जवाफदेहिताविहीन सरकारका विगत तीन वर्षदेखिका राष्ट्रलाई विद्यमान अवस्थामा पुर्‍याउने नीति र कार्यहरूको फेहरिस्त लामो छ । कोभिड प्रकोप पीडित नागरिकहरूको औषधि तथा स्वास्थ्य उपकरण खरिद प्रकरण, पशुपतिमा सुनको जलाहरी, ‘राम जन्मभूमि’ प्रमाणित, स्टेडियम, सभागृह तथा भ्युु टावर निर्माण आदि केही प्रतिनिधि उदाहरणहरू हुन् । अन्य देशका सरकारहरूले महामारी प्रकोपबाट जीवन रक्षा तथा प्रभावित नागरिकहरूलाई राहत उपलब्ध गराउन राष्ट्रिय ढुकुटीबाट खर्च गरे, अझै गरिँदै छ । विश्व अर्थतन्त्र ओरालो लागेको अवस्थामा वास्तविक तथ्यांकलाई लुकाएर ७ प्रतिशत त कहिले १० प्रतिशतको आर्थिक वृद्धिदर हुने गफ वर्तमान सरकारका लाउकेहरूले खुब चुटे । तर हालै मात्र आर्थिक वृद्धिदर इतिहासकै सबैभन्दा न्यून मात्र होइन ऋणात्मक भएको खुलासा भएको छ । बिना संकोच राष्ट्रिय ढुकुटीको चरम दुरुपयोग गर्ने सरकारको कार्यले अझै निरन्तरता पाउँदै छ । जिम्मेवार मन्त्रीहरू विनियोजनविहीन कार्यहरूका निमित्त राज्य कोषबाट अर्बौं रुपैयाँँ खर्च गर्दैछन् ।

नक्सालवादी आन्दोलनबाट प्रशिक्षित कमरेडहरूले देशमा विगत तीन वर्षदेखि शासन गर्दैछन् । शासनकाल लम्ब्याउन पश्चिम बंगाल राज्यमा भारतीय कम्युनिस्ट पार्टी (मार्कसिस्ट) ले अख्तियार गरेको रणनीतिको अनुकरण गरिँदैछ । त्यस राज्यका मुख्यमन्त्री ज्योती बासुको देखासिकी गरेर हाम्रा ‘कमरेड’हरूले सरकारी संयन्त्र तथा संवैधानिक निकायहरूलाई कार्यकर्ताहरूलाई रोजगारी दिने निकायमा परिणत गरेका छन् । कार्यकर्ताहरूलाई पुरस्कार वितरणका निमित्त खुला हृदयले राज्यकोषको उपयोग गर्न कुनै हिच्किचाहट देखिँदैन । चिनियाँ कम्युनिस्टहरूको देखासिकी गर्नु राष्ट्रवादी छवि प्रदर्शनका निमित्त आवश्यक थियो । चिनियाँ कम्युनिस्ट पार्टीका प्रशिक्षकहरूबाट हाम्रा केन्द्रीय नेताहरूले तालिम प्राप्त गरे । चिनियाँ सरकारको आर्थिक नीतिको ‘कार्बन कपी’ गर्ने क्रममा सरकारी संरक्षणमा ‘उद्यमी’लाई अर्थतन्त्रमा रजगज गर्ने अवसर प्रदान गरियो ।

मुख्यमन्त्री ज्योती बसुको शासनकाल २५ वर्षसम्म लम्बियो । उक्त कालखण्ड पूर्व भारतको सम्पन्न राज्य पश्चिम बंगाल २५ वर्षमा कंगाल राज्यको परिचय स्थापन गर्न सफल रह्यो । चीनले उद्यमीको पहिचान गरेर तिनलाई प्रोत्साहन गरेको थियो । हामीकहाँ उद्यमीको बदलामा आफन्तको खोजमा स्थापित तथा नवनिर्मित बिचौलियाहरूको छनोट गरियो । भारत–चिनियाँ मोडलहरूको ‘कपिपेस्ट’ गरेर देशलाई प्रयोगशालामा परिणत गरियो । दुवै छिमेकी राष्ट्रहरूले विगतमा गरेका नीतिगत गल्तीहरूबाट पाठ सिक्नु आवश्यक ठानिएन । सरकारी संरचना तथा संवैधानिक निकायहरूमा दक्षताविहीन ‘आफ्ना’ गुटका कार्यकर्ताहरूले भरी दिँदा त्यस्ता निकायहरू निरीह, भ्रष्ट तथा पंगु भए । माओको हिंसा, हत्या तथा आतंकको राजनैतिक स्कुलिङबाट प्रशिक्षित नेपाली कम्युनिस्ट शासकहरू कल्पनाशील भएर राष्ट्र निर्माण गर्न असक्षम साबित भएका छन् । चिनियाँ राष्ट्रपति सी जिङ पिङले ‘राजकीय भ्रमण’को सिलसिलामा दिएको निर्देशन ‘निर्माण आयोजनाहरू सम्पन्न गर्ने’ पालनासम्म पनि गर्न चाहेनन् । उक्त निर्देशन कार्यान्वयन गरेर समयमै निर्माण सम्पन्न नगर्दा हुने ‘कष्ट स्केलेसन’ लाभ कसरी त्याग्ने ?

विगत तीन वर्षमा भए/गरिएका कार्यहरूले समुच्चा देशको उन्नति धेरै वर्ष पछाडि धकेलिएको छ । आगामी दिनमा गठन हुने कुनै पनि जनउत्तरदायी सरकारका निमित्त पश्चिम बंगालमा ममता बेनर्जीले भोगेको नियति भोग्नु पर्ने हुन्छ । राष्ट्र दुष्चक्रमा फस्दा निकास दिने कार्य बिगतमा कांग्रेसले गरेको हो । ‘डिरेल’ भएको राष्ट्रलाई पुनः लिगमा राख्ने कार्य नेपाली कांग्रेसले गर्दै आएको छ । राष्ट्रलाई गन्तव्यविहीन अवस्थाबाट गन्तव्य उन्मुख तुल्याएको गौरवशाली इतिहास यस दलको छ । वर्तमान संकटग्रस्त अवस्थाबाट निकास दिन अन्य दलहरूको दाँजोमा कांग्रेससँग ज्ञान तथा जनशक्ति छ । तर वर्तमान अवस्थामा कांग्रेस निरीह अवस्थामा छ । कमजोर अवस्थाको राजनैतिक दलले देशलाई निकास दिन सक्दैन ।

तीन वर्ष पूर्व भएको निर्वाचनहरूमा लज्जास्पद हार व्यहोरेको कांग्रेस नेता तथा कार्यकर्ताहरू नुन खाएको कुखुराको अवस्थामा थिए । प्रधानमन्त्रीको पुस ५ गतेको संसद् विघटन घोषणा चि निद्रामा निदाएका कांग्रेसजनको शरीरमा चिसो पानी छर्के सरह भयो । सुषुप्त अवस्थाबाट उनीहरू ब्युँझिए । गैरसंवैधानिक तथा अलोकतान्त्रिक कार्यले लोकतन्त्रको रक्षकहरू झस्केर ब्युँझनु स्वाभाविक थियो । जुर्मुराएर ब्युँझिएको कांग्रेसजन डाँडापाखादेखि सहरहरूमा सरकारको विरोधमा उर्लिए । कार्यकर्ताहरू अलोकतान्त्रिक कदमको विरोधमा जबर्जस्ती उत्रिँदा पार्टी सभापतिको न्यायालयको निर्णय पर्खने ‘ढुक्ने’ रणनीति बेकामसिद्ध भयो । उल्टो यस नीतिलाई ज्योतिषीको ५–७ पटक प्रधानमन्त्री बन्ने जोगको र्‍याल चुहाइका रूपमा अथ्र्याइयो । अर्कोतर्फ वरिष्ठ नेताले नेतृत्व गरेको भंगालको आकार ठूलो हुँदै गयो ।

विगत केही दिनदेखि आन्तरिक रूपमा कांग्रेसका दुई प्रमुख हस्तीहरू ‘पार्टी सभापति’ तथा ‘वरिष्ठ नेता’ले सत्तामोह त्याग गरेको घोषणाले नेपाली कांग्रेसभित्र नयाँ राजनैतिक तरंग पैदा गरेको छ । अँध्यारो सुरुङको अर्को मुखमा उज्यालो देखिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति अथवा प्रधानमन्त्री पदको प्रत्यासी नहुने खुलासा गरेका छन् । त्यसै प्रधानमन्त्री पद लोलुपको आक्षेप खेपिराखेका पार्टी अध्यक्षले प्रधानमन्त्री पदमोह नभएको घोषणा गरेका छन् । यी घोषणाहरूको ‘क्याभेटिब’ चाहिँ सभापतिको पुनः सभापति हुने तथा वरिष्ठ नेताले सक्रिय रहेर पार्टीलाई सबल तुल्याउने उद्देश्यको खुलासाबाट भएको छ । निश्चय पनि दुवैले सक्रिय राजनीतिबाट सन्न्यास लिने घोषणा गरेको भए कांग्रेसजनले उनीहरूलाई अभिभावकीय भूमिका निभाउन आग्रह गर्ने थिए । उहाँहरू दुबैमा नेपाली कांग्रेसलाई नयाँ जीवन दिने क्षमताको चरम अभाव छ । यदि त्यसो नहुँदो हो त आजको दिन आउने नै थिएन ।

पञ्चायतको पतनपश्चात्को कालखण्डमा नेका नेतृत्वले कार्यकर्ताको भूमिकालाई बिर्सियो । बीपीको भजन मण्डली गर्न व्यस्त नेतृत्वले बीपीले कार्यकर्ताहरूलाई स्वयंसेवक भएर राष्ट्र निर्माणप्रति समर्पित हुन गरेको आह्वान भालुलाई पुराण सुनाउने कार्यमा परिणत गरियो । कांग्रेस नेता हुनु भनेको कार्यकर्ताको जमातले घेरिनु भन्ने बुझाइ हाबी भयो । कार्यकर्ताको बर्गीकरण नेतासँग पहुँचबाट गरिने प्रचलनले ग्राह्यता पायो । कानीखुसी गर्न सक्षम कार्यकर्तालाई ‘नेताको समीप’ भएको ठहर गर्ने प्रणाली मौलायो । उक्त योग्यताको आधारमा कार्यकर्ताहरूलाई आफ्ना र अर्काको खेमामा विभाजित गरिन्छ । पञ्चायती र कम्युनिस्ट ‘फ्युजन’को संस्कार अँगाल्दै कार्यकर्ताहरूलाई आफ्ना र अर्काको खेमामा छुट्ट्याइन्छ । आफ्नालाई ‘संरक्षण’ गरिन्छ । संरक्षणवाद संस्कारले पार्टीमा बलियोसँग जरो गाडेको छ । कार्यकर्ताको व्यवस्थापनमा रुमलिएका नेता तथा नेताको सामीप्यको न्यानोको खोजमा अल्मलिएका कार्यकर्ताहरूका निमित्त आम नागरिकका चासोका विषयहरूले प्राथमिकता पाउने प्रश्न नै आउँदैन । नेकाको आमनागरिकसँगको सम्बन्ध झिनो हुँदै गएको छ । प्रत्येक आमनिर्वाचनमा बढ्दो संख्याको मतदाता र त्यसको अनुपातमा घट्दो मतसंख्याले त्यसको व्याख्या गर्दछ । जुन दलका नेता कार्यकर्ताहरू आमनागरिकहरूको दैनिकीको सरोकारका विषयमा निरपेक्ष हुन्छन् त्यस दलको उम्मेदवारलाई मतदाताले किन आफ्नो मत दिने ?

सबल र सक्षम राजनैतिक दलले मात्र देशलाई निकास दिन सक्दछ भन्ने विश्वास गर्ने हो भने स्थापित नेका नेतृत्वले दललाई आवश्यकता अनुरूप प्रभावकारी तुल्याउने ल्यागत राख्दैन । यदि त्यसो नहुँदो हो त नेपाली कांग्रेसले वर्तमान कालखण्डमा भोगेको नियति भोग्नुपर्ने अवस्था नै आउँदैन थियो । यदि कांग्रेसलाई प्रभावकारी राजनैतिक दलमा परिणत गर्ने हो भने नयाँ नेतृत्व चयन गर्नुको विकल्प छैन । विडम्बना नेतृत्वको दाबेदारी गर्ने अग्र पंक्तिका नेताहरू सबै ‘टेस्टेड’ हुन् । त्यति मात्र होइन उनीहरूमध्ये सबैबीचको ‘कमन डिनोमिटर’ भनेको पदोन्नतिको दाबेदारी गर्ने कर्मचारीको चरित्र देखिन्छ । उपसभापति, उपप्रधानमन्त्री तथा उमेरको हदले अरूभन्दा आफ्नो गुटमा ‘सिनियर’ भएको कारणहरू प्रस्तुत गरेर उनीहरू पार्टी सभापति पदको ‘हकदार’को रूपमा प्रस्तुत हुँदै छन् । कोही कोही त झन् पैतृक वा वंशगत आधारमा दलको नेतृत्व आफूले पाउनुपर्ने माग गर्दैछन् । पार्टीका निमित्त विगतमा आफूले गरेको त्याग र तपस्याको गाथा प्रस्तुतिमा रमाउँदै छन् । उनीहरूले राजनीतिलाई लगानी ठानेका छन् । साहु तथा ब्याज अथवा कुत खाएर बस्न उनीहरू दलको नेतृत्वमा हाबी हुने चाहना राख्दछन् । विगतको गन्थन अथवा अर्कोको चरित्र गिराएर आफ्नो उचाइ बढाउने प्रवृत्तिले कांग्रेस पार्टीलाई नयाँ जीवन दिन सक्दैन । पार्टीले दिनेभन्दा पार्टीलाई दिन सक्ने सामथ्र्यको आवश्यकता छ, आजको नेकालाई ।

नेपाली काग्रेसका निमित्त कम्युनिस्टहरूको लुँछाचुँडीमा देखा परेको रिक्त स्थान भर्ने मोह त्यागेर दल सबलीकरणतर्फ केन्द्रित हुँदा नेकालाई लाभ हुन्छ । ओली सरकारलाई गिराएर सत्ता प्राप्तिको खेलमा लाग्ने जनादेश नेकाले पाएको छैन । ओलीको सहयात्री भएर तिनको समर्थनतर्फ अग्रसर हुने भनेको आत्माघाती कदम हो । उक्त कार्यले आजका दिनसम्म नेकाले कायम गरेको लोकतान्त्रिक दलको पहिचान भने सदाका निमित्त गुम्नेछ । विकल्पमा टाढिँदै गरेको महाधिवेशन केन्द्रित हुँदै दल सबलीकरणतर्फ अग्रसर रहनु नेकालाई हितकारक हुने निश्चित छ । उद्देश्य विचलन भएको अवस्थाको दललाई उसको आदर्श तथा मूल्यमान्यता अनुरूप बढाउन सक्षम नेतृत्वको खोज आवश्यता छ । यदि १४औं अधिवेशनले सक्षम, दूरदृष्टि भएको नेतृत्व चयन गर्‍यो भने मात्र नेका तथा राष्ट्र गन्तव्यउन्मुख हुन सक्दछ ।