देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सभापतिको तटस्थताको नीतिले जोगाएको कांग्रेसको साख

देशान्तर

हेमराज भट्ट

खड्गप्रसाद ओलीमा व्याप्त पद लोभको आशक्ति अनि पुष्पकमल दहालमा निहित आत्माकेन्द्रित प्रवृत्ति र सोचबाट अभिप्रेरित भई व्यक्तिगत स्वार्थलाई मुख्य आधार बनाई तीन वर्षभन्दा अघि दुई कम्युनिस्ट पार्टीबीच वाम गठबन्धनको नाममा गरेको चुनावी तालमेलबाट नेपालको संघीय संसद् (प्रतिनिधिसभा) मा प्राप्त झन्डै दुई तिहाइ हाराहारीको संख्यामा रहेको नेकपा डबलको बहुमत अब छिन्नभिन्न भएको छ । पार्टीको आन्तरिक कलह, सत्ता संघर्ष र पदको खिंचातानीको परिणाम सत्ता शक्तिको उन्माद र अहंकारको दम्भमा उम्लिएका प्रधानमन्त्री खड्गप्रसाद ओलीले संबैधानिक अधिकार र लोकतान्त्रिक व्यवस्थाको धज्जी उडाउँदै असंवैधानिक कदम चाल्दै संघीय संसद् बिघटन गरिदिए । उनको यो अलोकतान्त्रिक, असंवैधानिक र अराजनीतिक कदमको विरुद्ध सोही दिन नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीहरूको बैठकबाट उक्त कदमको कडा शब्दमा घोर भत्सना र निन्दा गर्दै यसको विरुद्धमा एकजुट हुन सम्पूर्ण लोकतन्त्रबादी दल र शक्तिहरूलाई आह्वानसमेत गर्‍यो ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लिने निर्णयको सम्बन्धमा बाहिरी सतही अड्कलबाजी, ब्याख्या, अनुमान र विश्लेषण जे जस्तोसुकै भएता र गरिएता पनि यो घटनाक्रमलाई उनले आफ्नो राजनीतिक जीवनको लामो यात्राबाट प्राप्त अनुभवहरूको आधारमा, सुझबुझपुर्ण तबरबाट राजनीतिक परिपक्वता देखाउँदै, संयमता र धैर्यका साथ भरपुर गम्भीरता अपनाउँदै, दूरगामी प्रभाव र महत्व राख्नेनुसारको बिरोध र विभिन्न स्वरूपको आन्दोलनको कार्यक्रमहरू घोषणा गर्दै सिंगो पार्टीलाई अगाडि बढाए । नेपाली कांग्रेस पार्टीले आफ्नो तलदेखि माथिसम्मको सबै तह, भ्रातृ संस्थाहरू र शुभेच्छुक संस्थालाई असंवैधानिक र अलोकतान्त्रिक ओली कदमको विरुद्ध सक्रियता साथ परिचालित हुँदै आन्दोलनको बिगुल फुक्न निर्देशन दियो । नेपाली कांग्रेसले गाउँ नगरका वडाहरू, जिल्ला क्षेत्र र पालिकाहरूमा आयोजना गरेको चरणबद्ध आन्दोलनहरूको कार्यक्रमहरूले द्वन्द्वकालको समयदेखि नेपाली कांग्रेस र नेपाली जनताहरूको बीच जबर्जस्त टुटाइएको सामीप्यतालाई पुनः जोड्नको निम्ति कोसेढुंगा नै सावित भयो ।

नेपाली कांग्रेसका नेताहरू भित्र खेल्न माहिर दुवैथरी कम्युनिस्टहरू सहयात्रा र सहकार्यको लागि भन्दै एउटा थालीमा भावी प्रधानमन्त्रीको पद र अर्को थालीमा भित्ते राष्ट्रपतिको पद लिएर कांग्रेसका शीर्ष नेताहरूको घरघर धाए र कोठाचोटा चहार्दै बैठकहरू समेत गरे । तर, कम्युनिस्टहरूको विगतको राजनीतिक गतिविधि र अविश्वासिला क्रियाकलापलबाट काविल हँुदै शिक्षा प्राप्त गरेका सभापति देउवाले किन्तु परन्तु कुनै पदलोभ र प्रलोभनमा नपरी नेपाली कांग्रेसलाई कांग्रेसकै एकल बाटोमा हिँडाउने प्रतिबद्धता व्यक्त गरे । नेपाली कांग्रेसका हरेक नेताले जीवनको उत्तरार्धमा यस्तै किसिमको ऐतिहासिक र साहसिक निर्णय गर्दै विगतमा भए गरेको कमी, कमजोरीहरूलाई सुधार्दै महत्वपूर्ण समयमा उपयुक्त निर्णय गर्नाले नै स्वयं नेता र नेपाली कांग्रेस पार्टीको गरिमालाई तेजवान् बनाउँदै उच्च राख्न बल पुग्दै आएको छ । त्यस्तै सभापति देउवाले आफूमा निहित दृढ विश्वास, संकल्पसहितको अठोट र पत्थरी अडानसहित लिएको तटस्थताको नीतिले नेपाली कांग्रेसको खस्किएको साखलाई थप बलियो बनाउन ठूलो बल मिलेको छ । सही समयमा गर्ने यस्तैयस्तै निर्णयहरू र मार्गदर्शनले धेरैपछिसम्म पनि महत्व राख्ने र दीर्घकालिक प्रभाव पार्ने आम कांग्रेसीहरूको धारणा रहेको छ ।

नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा देशभर विभिन्न चरणहरूमा गरेको आन्दोलन र विरोध प्रदर्शनको कार्यक्रमहरूको अलवा नेकपा डबलभित्रको अर्को एउटा हिस्सा र अन्य लोकतन्त्रबादी शक्ति, मधेस केन्द्रित दल, सिंगो नागरिक समाज, बौद्धिक समुदाय, सारा कानुन व्यवसायीहरू, सबै राजनीतिक विश्लेषक, आम सञ्चार जगत् र सम्पूर्ण पेसाकर्मीहरू र व्यवसायीहरूले समेत ओली कदमको खुलेर चर्को आलोचना र कडा रूपमा प्रतिवाद गरे । पश्चागमनको विरुद्धमा गाउँबजारका बस्तीहरूमा गुञ्जिएको विरोधको आवाज र सहरको सडकको गल्लीहरूमा घन्किएको स्वरहरूको सामुन्ने दुई तिहाइको थामी नसक्नुको दम्भ र अहंकारले भरिएको गह्रौ भारीले थचक्क थिचेर उठ्नै नसक्ने गरी कम्युनिस्ट नामको शासक नराम्रोसँग पछारियो । र, निर्लज्जता साथ बहकिन्छ, म गह्रौ भारी बोक्न सक्ने ढंग र ताकत नभएर पछारिएको होइन, ऊ तिनीहरूले धकेली दिएर लडेको हुँ ? भन्दै औंला तेसार्दै देखाउँछ । अझ थप बर्बराउँछ, मलाई धकेलेर पछार्नेहरूको बारेमा कोही नबोल्ने । तर, म अर्काले पछारिदिएर लडेको मानिसलाई चाहिँ सबै मिली घोर निन्दा र विरोध गर्ने ? हैट, यो त अति भो, राजनीतिक पाखण्डताको पराकाष्ठा र अनैतिकताको सीमापार भएन, भन्या । यस्तो पनि हुन्छ ?

लोकतन्त्रको सामान्य सिद्धान्त र प्रस्थान बिन्दु भनेको शक्तिको पृथकीकरण र यसमा शक्तिको सन्तुलन नै हो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच शक्तिको बाँडफाँड र क्षेत्राधिकारलाई विधि र पद्धतिले कसिलोगरी बाँधेको हुन्छ । २०७७ साल पुस ५ गते प्रधानमन्त्री खड्गप्रसाद ओलीको बालहठ र सनकको प्रहारबाट मुच्र्छित बनेको संघीय संसद् प्रतिनिधिसभा विघटन गर्ने कदम माथि नेपालको सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासले गम्भीर बहस, गहन छलफल र त्यसको अति गहिरो अध्ययन गरी वि.सं. २०७७ साल फागुन ११ गते प्रधानमन्त्री ओलीको सो कदमको विरुद्ध परेको रिटमा सुनुवाइ गर्दै उनको उक्त कदम असंवैधानिक रहेको ठहर साथ बदर गर्ने ऐतिहासिक फैसलाले नेपालको राजनीतिलाई स्थिरताको पथमा लैजान मार्ग प्रशस्त गरेको सर्वत्र चर्चा भइरहेको छ । आम नागरिकहरूको मानसपटलमा छाएको एक किसिमको दुविधा र अनिश्चितताहरू साथसाथै आशंकालाई सर्वोच्च अदालतले संविधानको भावना र मर्मको जगमा टेकेर यसको अक्षरशः व्याख्या गर्दिनाले नेपाली जनतामा अदालतप्रतिको विश्वास अरू चुलिएको छ ।

निर्दलीय पञ्चायती व्यवस्थाको कालरात्रिकालीन कठिन समयमा समेत नेपाली कांग्रेसका संस्थापक नेताहरू महामानव विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंहलगायत अन्य नेताहरूले पनि अदालतप्रति आफ्नो भरोसा र विश्वास रहेको ऐतिहासिक तथ्यलाई यस पटक सभापति देउवाले पूरापूर अनुसरण गर्दै आत्मविश्वासका साथ सुरुदेखिकै सम्मानित सर्वोच्च अदालतले गर्ने निर्णयलाई नेपाली कांग्रेसले सम्मान गर्ने र सोहीबमोजिम अगाडि बढ्ने एउटै धारणाहरू पटकपटक दोहो¥याए । उनले असंवैधानिक कदमको विरुद्ध नेपाली कांग्रेस भक्तपुर, रूपन्देही र नुवाकोटले आयोजन गरेको विरोध सभाहरूमा बोल्दा यी भनाइहरूलाई जोडदारपूर्वक निरन्तर रूपमा उठाइरहे । हिजोदेखि लाग्दै आएको पदलोलुपता र सत्ता वरिपरि मात्र रमाउन चाहने आरोप चिर्नलाई देउवा यस पटक पूर्णत सफल नै भए र नेपाली कांग्रेसको खस्किएको साखलाई जोगाएर माथि उकास्ने काममा फड्को मारे ।

खासगरी वि.सं. २०६२/०६३ सालको जनआन्दोलनको सारथि र परिवर्तनकारी शक्तिहरूको बीच कार्यगत एकता हुन नसक्नुको पछाडि नेपाली कम्युनिस्टहरूले समय परिस्थितिअनुसारको परिवेशलाई आफ्नो पक्षमा उपयोग गर्न फेर्ने लवजको कारण उनीहरूले कांग्रेससँग गुमाएको विश्वसनियताले देउवालाई थप घच्चघच्यायो र सशंकित बनायो । हिजो पनि कम्युनिस्टहरूले नेपाली कांग्रेसका नेताहरू गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र स्वयं आफैंलाई दिएको धोखालाई यो पटक उनले शालीनतापूर्वक नै लिए र आम कांग्रेसजनहरूको मनमस्तिष्कको चाहनाको प्रतिनिधित्व गर्दै त्यसलाई शिरोधार्य गर्ने निर्णयमा एकरत्ति पनि नडगमगाई नचुकी बसे । कांग्रेसको नेतै पिच्छेको गुट, उपगुट अनि गुट र उपगुट पिच्छेको नेताहरूको अभिव्यक्तिहरूले कसैले यो कम्युनिस्टसँग मिलेर हामफाल्नु पर्ने र कसैले त्यो कम्युनिस्टसँग सडकमा सँगै जुट्नुपर्ने लगातारको दमदारपूर्ण दबाब र धम्कीपूर्ण धुक्र्यावटलाई सहज तरिकाबाट सामना गर्दै सडकमा लोप भएको कांग्रेसको एकल पहिचानलाई फिर्ता गर्न नबुझिने बोलीकै भरमा पार्टीलाई एक ढिक्का बनाई गरेको निर्णयलाई बुझिने भाषाहरूमा एकाकार पार्दै नेपाली जनताले कांग्रेसलाई देख्नेगरी सडकमा स्थापित गरेको विषयलाई उजागर गर्नु बाञ्छनीय हुन्छ । कसैले निर्वाह गरेको असल कर्मको सम्बन्धमा प्रशंसा गर्नु र गलत प्रवृत्तिको सभ्य आलोचना गर्नु सभ्यताको परिचय र त्यस समाजको नागरिकको कर्तव्यभित्र पर्दछ ।

हो, यही फरक छ, नेपाली कांग्रेस र नेपाली कम्युनिस्टहरूमा । सबैखाले कम्युनिस्ट पार्टीका नेताहरू माइकमा बोल्दा आगोको झिल्का निस्कन्छ, बाटोमा हिँडिरहेका बटुवाहरू ठप्प रोकिन्छन्, काँधमा नाम्लो बोकेका श्रमजीवी मजदुरहरू टक्क उभिन्छन्, शिक्षित बौद्धिक समुदाय मसक्क मस्किन्छ, पत्रकार मित्रहरू आवाजसँगै फोटोलाई क्यामरामा कैद गर्न तम्तयार हुन्छन् र आम नागरिकहरूको कानको चिलाई नै मारिदिन्छन्, तर, परिणाम हात लायो शुन्य । यता नेपाली कांग्रेसको नेताहरूको हालत अलि फरक छ । न हिजोको सभापति र प्रधानमन्त्रीको बोली बुझिन्थ्यो । न आजको सभापतिको नै बोली बुझिन्छ । बोली नबुझिने एउटा सभापति प्रधानमन्त्री हुँदा सात दशक लामो नेपाली जनताको प्रतीक्षालाई प्यास मेटाउँदै ऐतिहासिक लोकतान्त्रिक संविधान जारी गर्न सफल भए । र, अर्को बोली नबुझिने सभापति प्रधानमन्त्री हुँदा प्राप्त संविधानको सफल कार्यान्वयनको लागि यसले अंगीकार गरेको सबै तहको निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्न सफल भए । अब सवाल कसले बोल्यो भन्ने होइन, सवाल कसले के दियो भन्ने हो । त्यसैले कम्युनिस्ट नेताहरूको बोली राम्ररी बुझिन्छ कर्म कहिल्यै बुझिएन । कांग्रेस नेताहरूको बोली राम्ररी बुझिँदैन तर, सधैं कर्म बुझिन्छ । बोलेर होइन काम र व्यवहारले कर्म लेखिनेछ ।

अन्त्यमा, नेपाली कांग्रेसका सभापति र सिंगो नेतृत्वले आगामी दिनहरूमा कांग्रेस कांग्रेसी भित्र आपसी सद्भाव र भाइचाराको भावनाको विकास गर्दै जिम्मेवारी बहनको निरन्तरता, कठिनता गरेको त्यागको मूल्यांकन, निष्ठा र समर्पणको कसीमा कहिल्यै नचुकेको युवाहरूलाई सबै तहको नेतृत्वमा आउन सक्ने उपयुक्त वातावरणको निर्माण, राजनीतिक चेतनाले सिञ्चित एवं आर्थिक हिसाबले स्वचालित र पारदर्शिता भएको व्यक्तित्वहरू, केही न केही गरौं भन्ने इच्छाशक्तिसहितको क्षमता प्रदर्शन गर्न लायक जुझारू युवाहरू र उच्च शिक्षाको अध्ययन गरेको शैक्षिक योग्यताले सजिएको बौद्धिक जगत्को व्यक्तित्वहरूलाई भोलि हुने खेलको मैदानमा पठाउने पोख्त खेलाडीहरू तयारी गर्नमा लाग्न विलम्ब गर्नु हुँदैन । इतिहासको समर्पणबाट प्रशिक्षित र सीप हासिल गरेको पोख्त खेलाडीहरूले खेलको मैदानमा प्रस्तुत गर्ने क्षमताले नै कांग्रेसको गरिमालाई जोगाउन सक्दछ भन्नेमा हेक्का पुर्‍याउनु पर्दछ । पटकपटकको जन परीक्षणहरूमा अनुत्र्तीण भएकाहरूलाई र राजनीतिलाई रोजगारी जस्तै पेाि बनाइरहेको मानिसहरूलाई यो पेसाबाट निवृत्त गर्न सकिएन भने कांग्रेसको नतिजा कमजोर हुन सक्दछ । यो कांग्रेसभित्रको ठूलो रोग र यसलाई परास्त गर्नु अपरिहार्य सर्त हो । यसो गर्न सकिएन भने भोलिको दिनमा यसले नेपाली कांग्रेसको दिग्विजयमा गहिरो चोट पुर्‍याउनेछ ।
(भट्ट अमेरिकाको क्यालिफोर्निया राज्यमा बसोबास गर्छन् ।)