श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाइएको छ ।
राष्ट्रिय सुरक्षाको नाममा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलङ्काको सरकारले अनुहार ढाक्नैपर्ने भए अरु तरिका अपनाउन आग्रह गरेको छ ।
यसअघि छोटो समयका लागि अनुहार ढाक्नलाई आपतकालीन उपायको रुपमा प्रतिबन्ध लगाइएको थियो । अब यसलाई स्थायी रुपमै कार्यान्वयन गर्न लागिएको श्रीलङ्काका सुरक्षामन्त्री शरत वीरशेखरले बताए ।
सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउनेसम्बन्धी निर्णयमा मन्त्रिपरिषद्ले हस्ताक्षर गरिसकेको छ । अब संसदले अनुमोदन गर्न बाँकी छ । सन् २०१९ मा चर्च र होटलमा योजनाबद्ध रुपमा आक्रमण भएका कारण यस्तो निर्णय लिनुपरेको श्रीलङ्काको सरकारले जनाएको छ।
सन् १०१९ को अप्रिलमा क्याथोलिक गिर्जाघर र होटलमा भएको हमलामा परी २५० जनाको ज्यान गएको थियो । श्रीलङ्कामा बुर्कालाई धार्मिक चरमपन्थको प्रतीकको रुपमा लिइँदै आएको छ । बुर्काका कारण राष्ट्रिय सुरक्षालाई असर गरिरहेको र यसलाई स्थायी रुपमै रोक्नुपर्ने आवाज उठिरहेको थियो ।
प्रतिक्रिया