देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जेठ महिनामै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक

देशान्तर

काठमाडौं – आगामी शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले जेठ महिनाभित्रै नयाँ पाठ्यपुस्तक हात पार्ने भएका छन् । जेठभित्र पाठ्यपुस्तकको प्रकाशन गरी विद्यार्थीको हातमा पुर्‍याउने गरी आवश्यक काम भइरहेको जानकारी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले दिएको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले नयाँ शैक्षिक सत्रमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई नयाँ पाठ्यपुस्तकको अभाव हुन नदिइने प्रतिबद्धता जनाए । यसका लागि कुनै समस्या नरहेको उनले बताए । त्यसका लागि चैत र वैशाख महिनाभित्र पाठ्यपुस्तकको छपाइ पूरा गर्ने केन्द्रको योजना छ ।

कक्षा ६ बाहेक अब झण्डै १० लाख थान पुस्तक छपाइ गर्न बाँकी रहेको जनाइएको छ । गत वर्ष एक करोड ६३ लाख थान पाठ्यपुस्तक छपाइ कार्य केन्द्रले पूरा गरिएको थियो । यस पटक पनि त्यसलाई नै आधार मानेर पुस्तक प्रकाशन गरिने जनाइएको छ ।

जेठ महिनामा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेपछि असार १ गतेबाट सुरु हुने शैक्षिक सत्रलाई सहज तरिकाले अगाडि बढाउन सकिने उनको भनाइ छ । सरकारले यस पटक जेठ महिनाभरि विद्यालय तहको वार्षिक परीक्षा पूरा गरी असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरिसकेको छ । यसको कार्यान्वयनका लागि जनक शिक्षाका तर्फबाट आवश्यक काम गरिने जनाइएको छ ।

विद्यालय तहको पाठ्यपुस्तक प्रकाशन गर्ने जिम्मेवारी केन्द्रलाई दिइएको छ । सोअनुसार हाल कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अनिवार्य विषयका विद्यार्थीको पुस्तक छपाइ तथा बिक्री वितरणको कार्य गरेको थियो । अब कक्षा १२ का अनिवार्य विषयको पुस्तक समेत छपाइ गर्ने योजना छ । कक्षा ११ र १२ विद्यालय शिक्षामा आएपछि केन्द्रको जिम्मेवारी थप गरिएको छ ।