काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्कीर्ण स्वार्थका लागि समय–समयमा नेपाली सेनालाई अनावश्यक ढङ्गले विवादमा तान्ने गरिएको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सवको अवसरमा बुधवार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासप्रति सजग र सर्तक रहन पनि सबैलाई आग्रह गरे। कानुन उल्लङ्घन भए सम्बन्धित निकायले हेर्ने भएकाले वादप्रतिवादमा नउत्रने संस्थालाई वादविवादमा तान्ने खालमा काम गर्नु उचित नहुने तर्क उनले गरे।
उनले भने, ‘आफ्ना सङ्कीर्ण स्वार्थका लागि नेपाली सेनालाई अनावश्यक ढङ्गले विवादमा तान्न खोज्ने, अपमान वा प्रोभोग गर्न खोज्ने लगायत विभिन्न खालका प्रवृत्ति देखिन्छन् र नेपाली सेनालाई घिसारेर विवादमा ल्याउन खोज्ने । नेपाली सेनाका सदासयतापूर्ण र राम्रा क्रियाकलापमा पनि जस नदिने, श्रेय नदिने, बरु कसरी त्यसको आलोचना गर्न सकिन्छ, विरोध कसरी गर्न सकिन्छ भनेर ठाउँ खोज्ने र अनुत्तरदायी ढङ्गले हिलो छ्याप्ने खालका कुराहरू उचाल्ने । त्यस्तो कुरा गर्नहुँदैन । नेपाली नागरिकको चेतनालाई समय-समयमा अलमलाउन खोज्ने, भ्रममा हाल्न खोज्ने प्रयास पनि हुने गरेका छन् । हामी त्यस्ता प्रयाससँग सतर्क हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीले सुरक्षा परिषद्को संवैधानिक कानुनी र व्यावहारिक रूपमा सही प्रयोग भइरहेको दाबी गरे। विशेषगरी प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा नेपाली सेनाको परिचालन एवम् प्रयोग सही ढङ्गले गर्ने विषयमा परिषद्ले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँले उल्लेख गरे। तुलनात्मक रूपमा विश्वमा शान्तिको स्थिति भए पनि ठूलो सानो सबै राष्ट्रले अनुचित ढङ्गले प्रभाव विस्तारको मुद्दालाई अघि सारेको भन्दै उहाँले आफ्नो राष्ट्रिय हितको रक्षा गरिरहँदा अरूको राष्ट्रिय हितको कहीँ कतै उल्लङ्घन हुन्छ कि भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताए।
प्रतिक्रिया