बेलायती महारानी एलिजावेथले आफ्ना नाती राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले राजदरबारमा भोग्नुपरेको विभेदबारे दुःख व्यक्त गरेकी छिन्।
महारानी एलिजावेथले विज्ञप्ति जारी गर्दै ह्यारी र मेघनका लागि बितेका केही वर्ष कठिन रहेको थाहा पाएर पूरै परिवार दुखित भएको बताएकी छिन । ह्यारी र मेघनले उठाएको रंगभेदको कुरा ध्यान दिनुपर्ने किसिमको रहेको एलिजावेथको भनाइ छ ।
विभेदको कुरालाई गम्भीरतापूर्वक लिइएको र परिवारभित्रैबाट सम्बोधन गरिने विज्ञप्तिमा उल्लेख छ। एलिजावेथले ह्यारी, मेघन र छोरा आर्चीलाई सदस्यका रूपमा बेलायती राजपरिवारले सधैँ माया गरिरहने उल्लेख गरेकी छिन्।
अमेरिकी टेलिभिजन च्यानल सिबिएसमा सोमबार प्रसारण भएको ह्यारी र मेघनको अन्तर्वार्ताका क्रममा मेघनले ब्रिटिस राजपरिवारभित्रको रंगभेदले आफूलाई आत्महत्या गर्ने अवस्थासम्म पुर्याएको बताएकी थिइन्।
पूर्वअमेरिकी अभिनेत्री मेघनले सन् २०१८ मा ह्यारीसँग विवाह गरेकी थिइन्। ह्यारी र मेघनले सन् २०२० मा राजपदवी त्याग गर्ने निर्णय गरेका थिए। राजदरबार छोडेर उनीहरू हाल अमेरिकामा बस्दै आएका छन्।
प्रतिक्रिया