देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

१७ वर्षपछि समातिए हत्या आरोपित

देशान्तर

सप्तरी । कर्तव्य गरी हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षपछि एक आरोपितलाई आज पक्राउ गरेको छ । सप्तरीको महादेवा गाउँपालिका–४ लोहजरास्थित घरबाट ४३ वर्षीय देवनारायण खङ्ग मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीकले जनाएको छ ।

प्रहरी चौकी डिमनबाट खटिगएको टोलीले मण्डललाई घरमै लुकी बसेको अवस्थामा पक्राउ गरेको हो । उनीमाथि महादेवा गाउँपालिका–४ लोहजराका सुकृत सदालाई २०६० पुस ८ गते हत्या गरेको आरोप छ । प्रहरीका अनुसार फुपूलाई ललाइफकाइ भगाई लगेको आवेसमा आरोपित मण्डलले घर अगाडि ट्युवेलमा नुहाइरहेका सदाको पेटमा फलामको धारिलो छुराले प्रहार गरी घाइते बनाएका थिए । आन्द्राभुँडी बाहिर निस्की रगताम्य भई बेहोस भएका सदालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सदासँग भागेकी मण्डलकी फुपूले घर जान नमानेपछि गाउँले भेला भई छलफल गरी उनलाई माइती पक्षको जिम्मा लगाएको थियो । सोही रिस थाम्न नसकी मण्डलले सदाको हत्या गरेको आरोपमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भुवनेश्वरप्रसाद साहले बताए । आरोपित मण्डलविरुद्ध सदाकी श्रीमती लीलादेवी सदाले इलाका प्रहरी कार्यालय कञ्चन रुपमा उजुरी दर्ता गराएकी थिइन् ।