देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिविमा जारी नेविसंघको अनसनमा माधव नेपालको ऐक्यवद्धता

देशान्तर

काठमाडौँ – नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयस्थित उपकुलपतिको कार्यालयमा गरिरहेको अनसनमा नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले ऐक्यवद्धता जनाएका छन् । बिहीबार दिउँसो अनसनस्थल पुगेका नेपालले अनशनमा ऐक्यवद्धता जनाउँदै मागहरूप्रति आफ्नो समर्थन रहेको बताएका छन् ।

नेविसंघ त्रिवि समिति सचिव योगेन्द्र रावलका अनुसार नेपालले अनसनस्थल आएर मागहरूप्रति समर्थन जनाएका हुन् । ‘राजनीतिक नियुक्तिले विश्वविद्यालयहरू बिग्रिएका छन् ’ नेपालले नेविसंघ नेताहरूसँग भने । त्रिविमा पदाधिकारी नियुक्तिमा राजनीतिक नियुक्ति हुने गरेका छन् । नेविसंघले एक महिनादेखि उपकुलपति कार्यालयको ढोकैमा रिले अनसन गरिरहेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्नुपर्ने, कोभिड-१९ को कारणले लामो समयपछि भएको परीक्षा र त्रिविको नजिता प्रकाशनमा हुने ढिलासुस्तीले विद्यार्थीहरुको शैक्षिक सत्र गुम्ने अवस्था भएकोले परीक्षा भएको एक महिनाभित्र नतिजा प्रकाशनको सुनिश्चितता गर्नुपर्नेलगायत माग नेविसंघको छ ।

त्रिविको क्यालेन्डर अनुसारको नयाँ भर्ना प्रक्रिया सुचारु गर्न पनि उनीहरूले माग राखेका छन् । यस्तै नेविसंघ त्रिवि समिति र त्रिविबीच भएको २३ बुँदे सहमति कार्यान्वयन गर्नसमेत उनीहरूले माग गर्दै आएका छन् । साथै त्रिविको प्राध्यापक तथा विद्यार्थी संगठनका नेतृत्वलाई षड्यन्त्रपूर्वक बदनाम गराउने र झुटा मुद्दा लगाउने काम भइरहेको नेविसंघले दाबी गर्दै आएको छ ।