देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुद्धिको पाइलाभित्र बुद्धि लगाउँदा

देशान्तर

साहित्य सिर्जना र समालोचना फाँटमा अब चिनाइरहनु पर्दैन ज्ञाननिष्ठ ज्ञवाली (२०३१) लाई । रुरु गाउँपालिका, थोर्गा च्युरेक, गुल्मीमा पिता स्व. डिल्लीराज (धर्मनिष्ठ) ज्ञवाली र माता इन्दिरा ज्ञवालीका पुत्रका रूपमा जन्मिएका ज्ञाननिष्ठ यतिबेला त्रिविअन्तर्गत पद्मकन्या बहुमुखी क्याम्पस काठमाडौँमा नेपाली विषयका उपप्राध्यापकका रूपमा सेवारत छन् ।

स्नातकोत्तर तहमा प्रथम श्रेणीमा प्रथम भएका उनले अति उत्तम श्रेणीमा दर्शनाचार्य (एमफिल) समेत गरेका छन् । संस्कृत साहित्यमा पनि शास्त्री, सेतु हुँदै आचार्यसम्मको औपचारिक अध्ययन पूरा गरेका सर्जक ज्ञाननिष्ठ ज्ञवालीका बाल सिर्जना, कथा, निबन्ध, कविता, समालोचना, शोध–अनुसन्धान, भूमिका लेखनलगायत विधामा सशक्त रूपमा कलम चलेको पाइन्छ । राजधानी र बाहिरबाट प्रकाशित विभिन्न पुस्तक, पत्रपत्रिकामा उनका अनेक गहकिला लेख रचना प्रकाशन हुँदै आएका छन् । हालसम्म आख्यानकार विश्वेश्वरप्रसाद कोइराला (समालोचना) २०६१, किम्बुको मसी (बालकथा) २०६२, जनावरहरूको सभा (बालकथा) २०६२, भूमिका सिद्धान्त र ज्ञवालीका भूमिका (समालोचना) २०६३, सफल जीवन (बालकथा) २०६४, लोकतन्त्रको स्वाद (व्यङ्ग्य निबन्धसङ्ग्रह) २०६७, विशाल र रीताको सफलता (बालकथा) २०६८, खरायोको पोको (बालसाहित्य) २०७०, समालोचना पुष्प (समालोचना) २०७१, केटाकेटीको पुस्तकालय (बालकथा) २०७१, रमाउँदै पढौँ (बाल गीतिकविता) २०७१, हजुरआमा र नातिनातिना (बालकथा) २०७१, भाषणकला (२०७१), शिव एक रूप अनेक (विधा मिश्रण) २०७५, शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन (समालोचना) २०७५, सविज्ञाको कम्प्युटर (बालकथा) २०७६ लगायत विविध विधाका कृतिहरू प्रकाशित भई पाठकका हातमा आइपुगेका छन् । फुर्सदलाई फुर्सदमै नबिताएर त्यसलाई सिर्जनाकर्म गर्नतर्फ अग्रसर र उत्प्रेरित भइरहने यिनै सर्जक ज्ञवालीले गुल्मी परिचय, धौलाश्री युगवाणी, डिल्लीजंग गुरुङ समुच्चय, ज्ञवाली स्मारिका, डा. हरिभक्त नेउपाने अभिनन्दन ग्रन्थ, नियति (कथासङ्ग्रह), ढुङ्गाको मन (गीत–गजलसङ्ग्रह), वनवासी (कविताकृति), घातैघात (कथासङ्ग्रह), परेवा र सानोबाबु (बाल कथासङ्ग्रह), पाँच औंलाको झगडा (सचित्र बालकथा), सरल भजनसङ्ग्रह, मेरो सिकाइको साथी (शैक्षिक बालगीत), बेहुलाबेहुली (सचित्र बालकथा), मेरो बाहुनडाँडा (गीतिकाव्य), कमल दीक्षितका लघुकथा (खण्ड १ र २), वर्षका सन्तति (काव्य), भावनाका भुल्काहरू (कविताकृति), स्रष्टा सृष्टि केही दृष्टि (समालोचना), देशको माटो (कविताकृति) लगायत अनेकौं काव्यकृति–ग्रन्थहरूको सम्पादनको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेका छन् । अध्ययन, लेखन, सम्पादन तथा अनुसन्धानका क्षेत्रमा उल्लेख्य योगदान गरेका ज्ञवालीलाई नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट साहित्यतर्फको शिखर राष्ट्रिय व्यक्तित्व सम्मान, स्नातकोत्तर तहमा क्याम्पसस्तरमा सर्वाधिक अङ्क ल्याएबापत नगद राशिसहित नेउपाने हरिकमला स्वर्ण पदक, स्नातक तह प्रथम र प्रमाणपत्र तह दोस्रो वर्षमा क्याम्पसस्तरमा सर्वाधिक अङ्क ल्याई नगद पुरस्कारसहित सम्मानपत्र तथा विभिन्न सङ्घ संस्थाबाट पुरस्कार सम्मान अर्पण गरिएका छन् । गुल्मीदेखि काठमाडौँसम्मका अनेक सामाजिक÷साहित्यिक सङ्घ संस्थामा संलग्न रही जिम्मेवारी निर्वाह गरेका उनले मावि तथा उच्च मावि तहका पाठ्यपुस्तकहरू लेखनकार्य गर्नुका साथै अनुसन्धानका क्षेत्रमा–विश्वेश्वरप्रसाद कोइरालाका कथामा पुरुषपात्रको अध्ययन, भूमिका लेखनको नेपाली परम्परा विषयक शोधमूलक कार्यपत्र प्रस्तुत, शाकुन्तल महाकाव्यमा ईश्वर र जीवन जगत्सम्बन्धी चिन्तन, लूनगङ्गा चौधरी शिक्षावृत्ति कोषबाट प्रदान गरिने विद्वत्वृत्तिमा छनोट भई अनुसन्धान कार्यमा संलग्न रहेको पाइन्छ ।

फटाफट अनेक विधाका कृति लेखन तथा प्रकाशन गरेर मात्र होइन विश्वविद्यालयका साहित्यानुरागी विद्यार्थीमाझ हँसिलो, रसिलो र विद्वान् अध्यापकका रूपमा होस् वा राजधानी र अन्य स्थानमा आयोजित सभा समारोहमा सक्दो उपस्थित भएर आफ्ना सिर्जनाकाव्य वा मन्तव्य–वाणी प्रस्तुत गरेर होस् सर्जक ज्ञवालीले नेपाली वाङ्मयिक क्षेत्रमा कलिलै उमेरमा पु¥याएको योगदान प्रशंसनीय, मननीय र अनुकरणीय नै मान्नुपर्छ । साथै साहित्यिक पत्रिका ‘सिसार’मा प्रधान सम्पादक रहेका ज्ञवालीले उक्त पत्रिकाको अङ्क ५ देखि १७ (२०७७ वैशाखसम्म) का सम्पादकीय लेखनको भूमिका पूरा गरेका छन् ।

यिनै बहुमुखी तथा प्रतिभावान् सर्जक ज्ञवालीले आफ्नो पछिल्लो तर कविता विधातर्फको पहिलो कृतिका रूपमा ‘बुद्धिको पाइला’ शीर्षकमा कवितासङ्ग्रह पाठकमाझ ल्याइपु¥याएका छन् । अब यहाँ यसै कृतिका बारेमा सर्सरी चर्चा प्रस्तुत गरिन्छ । प्रस्तुत कविताकृति साहित्यसेवीसमेत रहेकी गुनकारी–मनकारी आफ्नी जीवनसंगिनी सविता भट्टराईको प्रकाशकत्व जिम्मेवारीले प्रकाशनमा आएको छ । डिमाई आकारमा आवरणबाहेक जम्मा ८० पृष्ठ (यसैभित्र कृतिसम्बन्धी आवश्यक जानकारी, समर्पण, महाकवि देवकोटाका उद्धृत कवितांश, गुरुको महिमा झल्काउने ज्ञाननिष्ठ ज्ञवालीकै दुई हरफ, राष्ट्रकवि माधव घिमिरेका हस्तलिपिका शुभेच्छाका शब्दहार, कान्तिपुर दैनिकमा २०६१ फागुन १५ मा प्रकाशित भूमिकाको भूमिका, यसै सङ्ग्रहबारेमा सरल र स्पष्ट पाराले स्वयम् ज्ञाननिष्ठ ज्ञवालीद्वारा लिखित भूमिका आलेख ‘बुद्धिको पाइला चाल्न खोज्दै’ र कृतिको पछिल्ला केही पृष्ठहरूमा मसिनै तरिकाले ‘लेखक परिचय’ पनि अटाएकै छन् ।) यसरी हेर्दा काव्यको सुस्वाद भने प्रस्तुत कृतिको पहिलो कविता ‘नेपाल बज्ने मुरली म भेटूँ’ (पृ.२५) देखि २२ औं क्रमको ‘जीवनयात्रा’ (पृ.६६) भित्रबाटै ग्रहण गर्नुपर्ने भएको छ पाठकवर्गले ।

कोरोना भाइरसको सङक्रमणबाट विश्व जगत् आक्रान्त बनेका बेला र नेपालमा पनि यस रोगको सङ्क्रमणले प्रायः सबैलाई भयाक्रान्त तुल्याएका बेला (वि.सं.२०७७) मा प्रकाशित भई भर्चुअल (श्रव्यदृश्य प्रविधि) माध्यमबाट राजधानीमा विमोचित यस कृतिको सुन्दर आवरण चित्र कविकै पुत्री सविज्ञा र पुत्र सर्वज्ञद्वारा कुँदिएको र अङ्कन गरिएको पाइन्छ । प्रस्तुत कवितासङ्ग्रहमा सर्जकका छोटामिठा जम्मा २२ वटा रचना समाविष्ट छन् । ती सम्पूर्ण कतै शास्त्रीय त कतै लोक र गीति छन्दमा रचिएका छन् । यथासम्भव सम्बन्धित कविताको लयविधान, सर्वप्रथम प्रकाशित भएको पत्रिका, प्रकाशन गर्ने संस्था, स्थान, मिति आदि सर्जकले उल्लेख गरेका छन् । (अपवादमा ‘हाम्रो देश’ शीर्षक कवितामा भने पत्रिकाको नाम उल्लेख भएको पाइँदैन ।) यसरी हेर्दा यी कविता विभिन्न कालखण्डमा युग संवाद, गोरखापत्र, गरिमा, वन्दना, रिकास्टा स्मारिका, युवामञ्च, मनोभाव, मधुपर्क, वैजयन्ती, कविता, सचेत नेपाल, नागरिक दैनिक, मिर्मिरे आदि पत्रिकामा प्रकाशन भएको उल्लेख गरिएको छ ।

प्रस्तुत कृतिमा उपजाति छन्दमा ‘नेपाल बज्ने मुरली म भेटूँ’ शीर्षक कविता पहिलो क्रममा देखिन्छ । सुकर्म र निस्वार्थ भावले आफ्नो राष्ट्रप्रति समर्पित हुन पाऊँ भन्ने कञ्चन राष्ट्रप्रेमको दर्पण बनेर यसरी प्रस्तुत कविताका शब्दहार टल्किएका छन् :

म रक्त होली सब खेल्न छोडूँ
बारूद गोली बम किन्न छोडूँ
यो राष्ट्र सिङ्गै मनभित्र घोलूँ
‘नेपाल’ ‘नेपाल’ सधैं म बोलूँ । (पृ.२६)

दोस्रो कविता हो–‘जन्मभूमिको सम्झना’ । सलल बगेको शार्दूलविक्रीडित छन्दको अनुशासनभित्र कविताको शीर्षकले बोकेको भाव विस्तारमा अनेक बिम्ब–प्रतीकसहित यो उपस्थित छ । प्रस्तुत कविता पढ्दा युगकवि सिद्धिचरण श्रेष्ठको ओखलढुङ्गा र राष्ट्रकवि माधव घिमिरेको कालीगण्डकीको सुस्वाद अन्तर्घुलन गराई ज्ञाननिष्ठ पाकशालाबाट पस्केझैं आहा ! लाग्छ । आफू जन्मेको गुल्मीको थोर्गा गाउँ र चौरेली टोलको साँच्चै यशोगान गरेझैं लाग्छ :

पानी तिख्खरिलो मुहान रसिलो ‘थोर्गा’ सफा ! गाउँ छ
हुन्छन् मस्त किसान छप्छप हिलो ‘चौरेली’ यो नाउँ छ
डाँडा, जङ्गल, भीर छन् चउर छन् पाखा सबै सुन्दर
पाकेका फल आँप, काफल लिची मीठो छ लट्टे अझ । (पृ. २७)

‘अभिभावक’ क्रम सङ्ख्यामा तेस्रोमा बसेको पाइयो । अनुष्टुप् छन्दको यो कविता आफ्ना सन्तानकै सुयश र कीर्ति फैलाउन भनी दिनरात खट्ने अभिभावकवर्गको कर्म चित्रणमा केन्द्रित पाइन्छ । त्यसलगत्तैको अर्को कविता हो–‘खै एकताको बल ?’ यो शार्दूलविक्रीडित छन्दमा रचित छ । वर्तमानमा नेपाल फुलाउने फलाउने भनी मालीका रूपमा भूमिका पाएर गएकाहरूबाटै जनता निराशै निराशाको अँध्यारो मार्गमा हिँड्नु परेको मार्मिक यथार्थतालाई यसरी प्रकाश पारिएको छ :

कालीको अब छैन त्यो सरसता अस्तित्व गुम्दै गयो
माली नै अब छैन यो सदनमा भत्किन्छ जस्तै भयो
निस्के बादलका कला सब भनी आशा गरियो जल
हेरेको नभमा छ दृश्य ननिको खै एकताको बल ? (पृ.३१)

अर्को कविता ‘काँधमा काँध मिलाई हिँड’ हो । गीति लय (मुनामदन शैलीको झ्याउरे) मा रचित यस कवितामा व्यक्त मूल आशय यिनै हरफले बढी बोकेझैं लाग्छ :

काँधमा काँध मिलाई हिँडे पुगिन्छ लक्ष्यमा
सदैव लड देशका वीर सत्यको पक्षमा । (पृ.३४)

झ्याउरे छन्दको ‘शुभकामना’ शीर्षक कविताले सरल शब्दमा सबैमा हार्दिक शुभकामना प्रकट गरेको छ । सातौँ क्रममा ‘वसन्तको आगमन’ भएको छ । यो गीति लयको सुन्दर भाव व्यक्त भएको सिर्जना हो । त्यसपछिको कविताक्रममा कवि भन्छन् ‘पौरख गर’ । यो झ्याउरे छन्दमा सजिएको छ । पौरख फैलाए मात्र बालुवामा समेत विकासको मूल फुट्छ, बिना पौरख तालुमा केही फल्दैन भन्ने निष्कर्षात्मक सन्देश कविताले सञ्चार गरेको बुझ्न सकिन्छ ।

नवौँ क्रममा ‘नयाँ जमाना’ झुल्किएको छ । यसमा पनि गीति लयमा शब्दहार उनिएका छन् । यसमा कविले व्यङ्ग्य मिसाएर सुधारको बाटो कलममार्फत देखाएको आभास हुन्छ :

साहित्यिक क्षेत्रलाई लोकप्रिय पारौँ
गुटबन्दी, जालझेल, वाद अगि सारौँ । (पृ.४२)

दशौँ कविता ‘काठमाडौँ हराभरा’ अनुष्टुप् छन्दका जम्मा पाँच श्लोकमा पूर्ण देखिन्छ । भाषण, लेखाइ, भित्ताका नारा, पर्चा–पम्प्लेटहरूमा मात्र काठमाडौँको हराभरा सीमित रहेको भाव यसमा प्रकट छ । देशको समृद्ध सुदूर भविष्य सम्झेर ज्यानको बलिदानी दिएका सहिदका सुकर्म सम्झाउँदै बुलन्द पारिएको कविताका रूपमा अर्को कविता ‘सहिदको सम्झना’ आएको छ । यो झ्याउरे छन्दको कविता हो । बाह्रौँ क्रमको कविताले भन्छ– ‘बनाऊँ देश सुन्दर’ । मान्छेका आस्था, विश्वासहरू चुर्नाचुर्ना बनेका, देश परनिर्भरतातर्फ उन्मुख भएको, सम्पदा–सभ्यता नासिएको र हामी पराइको मुख ताक्नुपर्ने निरीह पात्र बन्नु परेका बाध्यतालाई सुन्दर भावमा प्रस्तुत कवितामा चित्रण गरिएको छ :

आस्था विश्वासका जम्मै चुचुरा टुक्रिए अब
सम्पदा सभ्यता छैन भीख माग्ने भए सब
अर्काको मुख ताकेर हाम्रो जिन्दगी बन्छ र
कसरी अब लौ मैले बनाऊँ देश सुन्दर ? (पृ.४७)

तेह्रौँ क्रममा आयो–‘हाम्रो देश’ । गीति लयमा रचिएको प्रस्तुत कवितामा राष्ट्रप्रेमको तिख्खर चोखो प्रीति सजाइएको छ :

घाम राम्रो घमाइलो चौतारीमा छाया
नेपालीले नेपालीलाई गर्नुपर्छ माया । (पृ.४९)

त्यसपछि स्रग्विणी छन्दमा रचित ‘प्रेम’ प्रकट हुन्छ प्रस्तुत कवितासङ्ग्रहमा । कवितांश भन्छ :

घाममा जूनमा रातका शीतमा
राष्ट्रका कर्ममा स्वर्गका गीतमा
ज्योतिका पुञ्जमा वीरका मर्ममा
प्रेम हो तेजिलो धीरका धर्ममा । (पृ.५१)

पन्ध्रौँ कविता हो–‘देश हेर्ने मान्छे’ । यो कविता उपजाति छन्दमा सिर्जना गरिएको छ । एकतामा बाँधिएर यहीँको धर्तीमा पौरख पोख्दा देश सुन्दर बन्ने एक प्रकारको निर्माण–सूत्र यसरी व्यक्त गरिएको छ :

पाखा पखेरातिर हर्ष छाओस्
नेपाल हाँस्ने नवगीत आओस्
हामी मिले बन्दछ देश राम्रो
यो देश हेर्ने अब कर्म हाम्रो । (पृ.५३)

‘भूकम्प’ सोह्रौँ क्रममा उनिएको छ । यो वंशस्थ छन्दमा विरचित छ । २०७२ वैशाख १२ गते आएको भूकम्पलाई छोटो आयाममा स्मरण गर्दै एकताबाटैै नवनिर्माणको यात्रा तय हुने कविमनको विश्वास यहाँ प्रकट भएको छ । सत्रौं पालो पर्खेर बल्ल आइपुगेको छ–‘मूर्ख महिमा’ । उपजाति छन्दको प्रस्तुत कविताले मपाइँत्व प्रदर्शन गर्दै अरूलाई लल्कार्ने पात्रहरूलाई व्यङ्ग्यात्मक शैलीमा मूर्ख सावित गरेको छ । कवितामा मूर्खको सानो चिनारी यसरी गराइएको पाइन्छ :

नाफा जहाँ जे जति मिल्छ लिन्छु
मेरै छ आशा सब ती म किन्छु
मेरै छ राज्यै अरू के लछार्छन्
भनेर नाच्दै सब मूर्ख हाँस्छन् । (पृ.५७)

अठारौं क्रमको कविता ‘मन’ बनेर पोखिएको छ । हर क्षण चुलबुल तुलबुल गर्ने मनका झाँकी स्वभावलाई मालिनी छन्दमा सिँगारिएको छ । उन्नाइसौँ क्रममा देख्न र पढ्न पाइन्छ– ‘नेता र संविधान’ । यो स्रग्विणी छन्दको कविता हो । एकपटक गाउँबाट निर्वाचित भई जनतासामु प्रतिबद्धता गरिएका कामको कुनै सिन्कै नभाँची राजधानीमै मूल्यवान् अवसर गजारेर पुनः निर्वाचनकै निम्ति मात्र भोट बटुल्न आफ्नो गाउँ फिर्ने नायकवर्गलाई यस कवितामा व्यङ्ग्य–वाण बर्साइएको छ :

भाँडियो नीति नै खेलमा हारियो
काम क्यै छैन लौ दुर्दशा पारियो
संविधानै त खै शून्य पो पाइयो
भोट माग्ने बनी गाउँमै आइयो । (पृ.६१)

बीसौँ क्रममा फेरि ‘नयाँ वर्ष’को आगमन भएको छ । भुजङ्गप्रयात छन्दको यस कवितामा कवि सार्थक परिवर्तनको कामना गर्दै भन्छन् :

पुराना सुकेका सबै पात झारी
बनून् पालुवाका अनेकौँ भकारी
खुसी नै खुसीको नयाँ फूलबारी
नयाँ वर्ष आओस् सबै नै सुधारी । (पृ.६३)

प्रस्तुत कवितासङ्ग्रहको नामकरण गरिएको कविता पढ्न पाइन्छ ‘बुद्धिको पाइला’ शीर्षकमा । एक्काइसौँ क्रमको प्रस्तुत कविता स्रग्विणी छन्दमा छ । सजगतापूर्ण र बुद्धिमतापूर्ण ढङ्गले जिन्दगीका पाइलाहरू चाल्न समस्त मानवमा आग्रह पोखिएको प्रस्तुत कविताको अंशले भन्छ :

मातले मत्त भै मात्तछन् मानिस
स्वार्थका साथमा साथ छन् मानिस
तालले तालमा तान्दछन् मानिस
बुद्धिको पाइला चाल हे ! मानिस । (पृ.६५)

सङ्ग्रहको अन्तिम कविताका रूपमा देखापर्छ–‘जीवनयात्रा’ । यो अनुष्टुप् छन्दको रचना हो । सुकर्मको बिउ रोप्दा मात्र जिन्दगी सार्थक बन्ने शाश्वत सन्देश उजागर गर्न प्रस्तुत कविता समर्थ देखिन्छ :

सुकर्म बिउ रोप्नाले फल फल्छ सुकर्मकै
जिन्दगीभरको यात्रा फक्रिरहन्छ फूलझैँ । (पृ.६७)

यसरी समग्रमा हेर्दा सरलता, सहजता र सङ्क्षिप्तता यस कृतिको मूल विशेषता बनेको छ । विषयमा विविधता हुँदाहुँदै पनि कृतिले राष्ट्रियताको चिन्तन, देशवासीमा एकता र मेलमिलापको भाव पनि प्रमुखताका साथ उठाएको पाइन्छ । छन्द वा लयगत विविधता यस कृतिको अर्को वैशिष्ट्य हो । यसमा अनुष्टुप् र गीति लयका सर्वाधिक चारचार ओटा त्यसैगरी उपजाति, झ्याउरे र स्रग्विणी छन्दका तीनतीन ओटा, शार्दूलविक्रीडित छन्दका दुई ओटा तथा भुजङ्गप्रयात, वंशस्थ र मालिनी छन्दका एक एक ओटा कविता समाविष्ट भएको देखिन्छ । आफ्ना सिर्जनाका भाव बुझ्न र ग्रहण गर्न पाठकवर्गलाई स्वतन्त्रतापूर्वक छाडिनुपर्ने मान्यता रहँदारहँदै पनि यस कृतिका कृतिकारले आफै आफ्नो कृतिमा उल्लेख्य पृष्ठ खर्चेर कृतिभित्रका रचनाबारे प्रकाश पारेका छन् । त्यसो गर्नु समीचीन हो होइन त्यसतर्फ नलाग्ने हो भने यो पनि एउटा नवीन प्रयोगकै विषय चाहिँ बन्न सक्ने देखिन्छ ।

सर्जकले त्यसो हुनुको मुख्य कारण ‘बुद्धिको पाइला चाल्न खोज्दै’ शीर्षक भूमिकामा यसरी औंल्याएका छन्– “यसपटक आफ्नो कृतिबारे अरूलाई लेखाइएन । लेखाउने साइत पनि परेन । लेखाउँला भनेर ठिक्क पारेको त विश्वव्यापी रूपमा सन्त्रास फैलाएको कोरोना भाइरसका कारण २०७६ चैत ११ गते मङ्गलबारदेखि देश लकडाउन (बन्दाबन्दी) को स्थितिमा पुग्यो । यति बेला घरमा बसेर काम त गरियो तर मन प्रफुल्ल हुन सकेन । यस्तै स्थितिमा आफ्ना कविताबारे केही लेख्नु छ …।” व्याकरणतर्फ वर्णविन्यासगत शुद्धता प्रस्तुत कृतिको अर्को विशेषता बनेको पाइन्छ । यहाँ टिपोट गरिएका केही नगण्य शब्दहरू कतै असावधानीवश त कतै छन्दको नियममा गण मिलाउने प्रयोजनार्थ त्रुटि स्वरूपमा पनि देखिन्छन् । मिर्मिरे (पृ.६८), सारथि (पृ.३२), सुबुद्धि (पृ.३६), वृद्धि (पृ.३९), सम्झने (पृ.५०), बिन्ती (पृ.५९), बारुद (पृ.२६), सङ्घर्ष (पृ.६७), वर्ष (पृ.१९) आदि शब्दहरू कृतिमा त्रुटिपूर्ण रूपमा छापिएका छन् ।

चिटिक्क र छरितो आकार प्रकारको छन्दसुवासपूर्ण शब्दपुष्पका रूपमा प्रकाशित प्रस्तुत कृतिको मूल्य रु.११११/– राखिएको भए पनि सर्जकले निःशुल्क नै पाठकमाझ पुर्‍याउने अठोट गरी अभियान चलाएका छन् । तथापि यसको छपाइ कति सङ्ख्यामा गरिएको हो भन्नेबारे कृति मौन देखिन्छ ।

निष्कर्षतः भन्ने हो भने, कविता विधालाई रुचिपूर्वक लिने र अझ त्यसमा पनि छन्दोबद्ध कविताप्रति अधिक अनुराग राख्ने साहित्यप्रेमी समस्तमा ज्ञाननिष्ठका ‘बुद्धिको पाइला’ ले सकारात्मक रचनात्मक योगदान पुर्‍याउनेछ भन्ने विश्वास लिन सकिन्छ । औपचारिक रूपमा वि.सं. २०५६ मङ्सिरदेखि साहित्ययात्राको प्रकाशन गोरेटोमा लागेर नेपाली साहित्यमा मूलतः समालोचनात्मक र आख्यानात्मक व्यक्तित्वमार्फत आफ्नो चिनारी स्थापित गराइसकेका ज्ञाननिष्ठ ज्ञवालीलाई कविता विधातर्फसमेत सोही समानान्तर उचाइ कायम राख्न काव्यतर्फका यस्तै रसिला तर अझै फराकिला आकारका गहकिला दुई चार कृतिहरू पाठकमाझ पु¥याइहाल्ने चुनौती छ । सोही दिशामा सर्जक ज्ञवालीको आगामी लेखनीयात्रा अघि बढोस् भन्ने शुभेच्छासहित प्रस्तुत कृतिका निम्ति हार्दिक बधाई ।
(भैरहवा : [email protected]_