देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक कप कफीभित्र नअटेको मायालुको पर्खाइ

देशान्तर

बुलबुलः हेलो । तिमीलाई मैले धेरै बेर कुराएँ है । क्षमा प्रार्थी छु यसको लागि ।

सिमसिमः हैन त्यस्तो केही भएन । डेढ घण्टाको कुराईमा एक घण्टा कुरेको चाहिँ क्षणभर झैँ लाग्यो तर बाँकी आधा घण्टाको कुराई चाहिँ आधा जीवन नै कुरेर बिताए जस्तो भयो ।

बुलबुलः अनि चिया कफी पनि नखाई कुरेर बसेको त ? कफी खाएर बसेको भए त समय अलि सजिलै कट्थ्यो नि त ।

सिमसिमः त्यसो झन् कहाँ हुन्थ्यो र ! कफी खाँदै कुर्न थाले त त्यो एक घण्टा पनि अर्को एक जुनी कुरे सरह हुन जान्थ्यो कि त ।

बुलबुलः लौ, कस्तो कुरा गरेको ? त्यति कै पर्खंदाभन्दा त कफी पिउँदै कुर्दा समय काट्न सजिलो हुने हैन र ?

सिमसिमः कफीले पर्खाइको आनन्द बिगरिदिन्थ्यो नि त । त्यसपछि त्यो एक घण्टा झन् बढी कष्टकर हुन के बेर ।

बुलबुलः यो त झन् कसरी मिल्यो र ? मान्छेहरू पर्खाइको दिक्दारीबाट उम्कन झन् यस्तै के के उपायहरू गर्ने गर्छन् नि हैन । तिम्रा कुरा सधैं उल्टापाल्टा के ।

सिमसिमः झन् कफीले त एकाग्र भएर गरिने पर्खाइको आनन्द र यसमा लागेको ध्यान भंग गरिदिन्थ्यो र समय तन्किन्थ्यो नि ।

बुलबुलः यो कसरी हुन्छ ? खाली उट्पट्याँग कुरा । बरु सोझै भन न, ‘तिमीबिना कफी पनि घाँटीबाट छिर्न सक्दैन’ भनेर ।

सिमसिमः त्यो भिन्दै भावानात्मक कुरा भयो । तर सही चाहिँ के हो भने कफी पिउन लाग्दा मेरो मनमस्तिष्क कम्तीमा दुईतिर अथवा त्योभन्दा बढी विषयहरूमा भड्किन जान्थ्यो र एक घण्टाको समय बाँडिएर कति घण्टा, दिन अथवा महिना बन्न जान्थ्यो, यसबारेमा म यसै भन्न सक्दिनँ ।

बुलबुलः एक कप कफी पिउने समयभित्र पनि यति धेरै घण्टा अथवा महिना अट्छ र भनेको ! कस्तो उदेकलाग्दो कुरा हो तिम्रो ।

सिमसिमः सायद होला । नत्र किन कुनै मान्छे कुनै विषय अथवा कसैको सम्झना लिएको बेलामा सबै कुरा छोडेर एकाग्र भएर बस्छन् र समय कटेको नि पत्तो पाउँदैनन अनि कोही चाहिँ कुनै विषय अथवा बिछोडमा एकाग्र नभएर दिन काट्नै मुस्किल भयो भनेर अम्मल लिने अथवा यताउति भड्किएर हिँड्छन् त ?

बुलबुलः उम् । त्यसरी सबै कुरा छोडेर एकाग्र भएर बस्नु र भौँतारिनुमा चाहिँ के फरक छ त ? आखिर बिताउने समय घडी पला त त्यति नै हो नि । कि यो मान्छेको स्वभावअनुसार हुने हो ?

सिमसिमः यसमा चाहिँ कुनै विषयप्रतिको सोचाइ अथवा पर्खाइलाई कस्तो मूल्यमा लिएर हेरेको छ भन्ने कुरामा भरपर्छ र जानीनजानी त्यो कुर्ने मानिसबाट भएको हुनुपर्छ । यदि कुराई उसको लागि अति नै मूल्यवान् छ भने सबै छोडेर एकाग्र हुने होला र वर्ष कटेको पनि पत्तो नहुने होला । तर कुराईका बेलामा उसको धेरै मनमा धेरै कुरा खेल्छ, ग्लानी छ भने छटपटी भएर मन धेरैतिर भौंतारिने कारणले समय बिताउन गाह्रो र पट्यारलाग्दो हुने हो कि जस्तो लाग्छ ।

बुलबुलः यस्तोमा कुन अवस्थामा समय छिटो कटे जस्तो लाग्छ र कस्तोमा समय बित्न नसके जस्तो लाग्छ ?

सिमसिमः जब एक चित्त भएर कुरिएको हुन्छ, मनमा धेरै थरीका प्रतिक्रियाहरू हुन्नन र समय सजिलै कट्छ र छोटो हुन जान्छ । जस्तो भान्छामा एक घण्टामा सय थरी पकाउन र एक कप चिया पकाउनमा समयको सकसको अन्तर हुन्छ मनमा कुराहरू पकाउन पनि त्यही हैन र ? एक घण्टा समय तिमीलाई मात्र कुर्न छुट्ट्याउनु र तिमीलाई कुर्ने समयमा कफी पिउने समयसमेत थप्नुमा एउटै समयमा गर्नको लागि कम्तीमा अर्को एउटा काम पनि थपियो हैन र ।

बुलबुलः हैन, तिमीले एक कप कफी भित्र घुमाएर प्रेम घुसाउन खोजेको हो कि समयलाई नै बंग्याउन खोजेको हो, बुझ्न सकिन मैले ।

सिमसिमः त्यस्तो दायाँबायाँ कुरा केही कुरा हैन मैले गर्न लागेको । जे सोझो लाग्यो त्यही भनेको हो ।

बुलबुलः अनि के त ?

सिमसिमः त्यही एक घण्टाभित्र सजिलोसँग चिया पकाउने कि सय थरी पकाएर बस्ने भन्ने मात्रै हो मेरो भनाइ ।

बुलबुलः त्यो एक घण्टा कुराईमा एक कप कफी खाँदा तिम्रो कुराई झन् सजिलो र छिट्टो गए जस्तो हुनुपर्ने हो खासमा त । समय काट्न मान्छे झन् सय थरी काम गर्छन् ।

सिमसिमः त्यही कुरा के । पर्खाइ अथवा समय कटाई के कोलागि हो, त्यसमा भर पर्ने भयो सबै कुरा । दिक्दारीको समय छ र मनमा अरू कुराले कामको रूप लिइराखेको छ भने कामको विषय परिवर्तन गरेर, मनपर्ने काम गरेर पर्खाइ छोट्ट्याउन खोजेको हुनन मानिसहरूले । मनमा जति धेरै कुराहरू आयो तस् सबैलाई ठाउँ दिनु भनेको सबै थरी विचारलाई काम गर्ने समय दिनु हो । यसो गर्दा एक घण्टामा अरू केही काम र विचार नगरी पर्खने मात्रै काम गर्नु त्यो जम्मा एक घण्टा खुसी–खुसीको हुन जान्छ अथवा खुसीले निमेषभरको पर्खाइ पनि हुन सक्छ । तर त्यही एक घण्टामा कफीको चुस्कीसँगै सयौँ थरी कुराहरू मनमा आउन थाले त त्यही एक पनि घण्टा तन्किएर कति लामो बन्न जान्छ ।

बुलबुलः त्यो एक कप कफी रित्याउन त्यही एक घण्टाभित्रै हो, तिमीले जति थरी कुरा थपे पनि । नत्र त्यो एक घण्टा समयभित्रको एक कप कफीमा अरू के नै अट्छ होला र तिम्रो बेतुकका तर्क सिवाय ।

सिमसिमः ल ठीकै छ, मैले एक कप कफी पिउने निधो गरेको थिएँ रे । अब सुन । पहिला कुन कफी पिउने भनेर मेनु हेर्नु पर्‍यो । त्यो छनोट गर्नमै कति कुरा मनमा आउँछन् । ती सबैले एक घण्टाको समयमा आफ्नो स्थान लिने भए अनि, तिमीलाई कुर्ने मेरो कामको समय त्यसले समेत ओगट्दा त समय यसै लम्बियो । अब त्यसपछि कफी देऊ भनेर कसैलाई बोलाउनु पर्‍यो, त्यहाँ काम थपियो मतलव अर्को समय थपियो । जोसँग कफीको लागि कुरा गर्नुपर्ने हुन्छ स्वाभाभिक रूपमा उसको व्यक्तित्व र मेरो बीचमा व्यक्त र अव्यक्त अन्तरक्रिया हुन्छ । यो मन र शरीरले गर्ने अर्को काम हो । यसले अरू समय लिने नै भयो । यसले अरू समय तन्कायो । अनि झट्ट हेर्दा त्यही एक घण्टाभित्रको काम भए नि अरू काम थपिएन त । समय नलिई आखिर यो संसारमा कुनै काम सपन्न हुन्न क्यारे ।

बुलबुलः अनि नि अनि, अरू के के थप्न सक्छौं अझै एक कप कफी भित्र ।

सिमसिमः कफी पिउन सुरु हुन्छ । कफीको स्वादको कुरा आउँछ । यसको बास्ना मात्रै नभएर यसभित्रका रसायनले शरीर र यसबाट उत्पन्न हुने जीव रासायनिक प्रक्रिया र प्रतिक्रियाले अझ झन् कति धेरै असर पार्न थाल्छ, यसको लेखाजोखा छैन । यो सबै पनि समय लिएरै हुने हुन् । अब मनमा कति धेरै काम थपिए, जब कि पहिला त एक ध्याउन्नमा तिमीलाई कुर्नु मात्रै मेरो काम हुने थियो । अब आफैँ हिसाब गर, मेरो एक घण्टाभित्र कति घण्टाहरू कसरी अटेसमटेस गरी बस्न सक्छन्, न कि उनीहरूले आफ्नो काम गर्ने समय लिने हुन् । जब तिमीलाई कुर्न छुट्ट्याएको एक घण्टामा यति धेरै कुरा आउन थाले भने स्वाभाविक रूपमै बाँकी कुराहरूलाई अरू कार्यघण्टा चाहिने नै भयो ।

बुलबुलः मान्छे एक घण्टामा कति काम निप्ट्याऊँछन् तिमीलाई भने मलाई कुर्दा एक कप कफी खाने समयसमेत पुगेन हैन त ।

सिमसिमः एक घण्टामा कति काम गर्न सक्नु र एक घण्टा कति लामो अथवा छोटो लाग्नु धेरै नै फरक कुरा हो । पहिलो कुरा निरपेक्ष भयो, जस्तो एउटा स्प्रिङ तन्काएर पहिलेको अवस्थामा आउने बेलासम्ममा जति काम भयो त्यो कामलाई एक घण्टा भनियो र त्यस अवधिभरमा भएका अन्य कामहरू पनि एक घण्टा भरका काम भए । तर त्यो स्प्रिङ तन्काएर पहिलेको अवस्थामा आउने बेलासम्मको अन्य कामहरूको समय पनि ती पदार्थहरू अथवा क्रियाहरूका लागि चाहिने आआफ्नै समय हुन् । एक दिनमा प्रत्येक उपकरण बनाउन एक दिन लाग्ने सयवटा फरक सहायक उपकरणहरू फरक ठाउँमा बनाएर एक दिनमै एउटा यन्त्र निर्माण गर्न सकिन्छ तर एकै ठाउँमा सयवटा त्यस्ता उपकरण बनाई उक्त यन्त्र बनाउन त सय दिन लाग्ने भएन र । एक घण्टामा मनमा सय थरी कुरा खेलाउनु र एक थरी कुरा लिनुमा यही समयको तन्काइ र छोट्ट्याइ जस्तो भयो नि त ।

बुलबुलः यसको मतलव त एक समयमा एकभन्दा बढी विचार मनमा आउनु भनेको समय खप्टिनुभन्दा यसको आयतन बढ्नुभयो हैन र ? जस्तो एक समयमा एकभन्दा बढी काम गर्न नसकेर धेरै समयको लगाउनुपर्छ त्यो काम सक्नलाई .।

सिमसिमः हो नि । कि त समय खप्टाएको महसुस भएर छटपटी हुन्छ र कि त समय लामो भएको महसुस हुन जाने कारण यही त भयो । जस्तो कोभिडको समयको सामाजिक दूरी कायमै र घरमै बन्दी जस्तो अवस्थामा बस्दा आफ्नो इच्छाअनुसारको काम गर्न नपाएको बेलामा तत्कालको अलि सकस र छटपटी भए पनि त्यसपछि गएर लकडाउन अवधिभरको समय लेखाजोखा गर्दा त्यो समय कति छिटो बितेको पत्तो हुन्न मानिसहरूलाई । यसको कारण उक्त लकडाउन अवधि भर गरिएका कामहरू र अन्य मानिसहरूसँग गरिएका अन्तरक्रियाहरू अति नै थोरै हुन्थे र त्यो बेलाका विषयहरू थोरै हुनाले मनमा थोरै ठाउँ भए पुग्ने भयो अनि समय छोटो लाग्न गयो । तर जव मानिसहरू लकडाउनबाट उम्केर बाहिर विभिन्न कामहरू र जनसम्पर्कमा आउन थाले विभिन्न विषयहरूले मनमा ठाउँ लिन थाल्यो र समय फेरि लामो हुन लाग्यो ।

बुलबुलः एउटा अर्को कुरा । तिमीले डेढ घण्टाको पर्खाइमा एक घण्टा बितेको पत्तै भएन भन्यौ तर अर्को आधा घण्टाको त कुरै उठाएनौ त । त्यो चाहिँ झन् शून्य समय बराबर भयो कि तिमीलाई ?

सिमसिमः त्यो आधा घण्टा त कति लामो भयो मलाई, यसको त कुरै नगरौँ ।

बुलबुलः किन नि त्यस्तो । एकै बसाइको पर्खाइमा एक घण्टा बितेको पत्तो नहुने अनि अर्को आधा घण्टा कुरेकोमा त्यस्तो फरकपन ?

सिमसिमः यहीँ त भयो कुरोको चुरो । समय किन छोटो र लामो हुन गयो भन्ने ।

बुलबुलः के कारणले भयो त त्यो समयलाई दुई भाग गरी एक घण्टा चाहिँ अति छिटो अनि झन् अर्को आधा घण्टा चाहिँ पट्यारलाग्दो लामो हुनलाई । यान्त्रिक घडीको समयभन्दा फरक तिम्रो छुट्टै जैविक घडी हो कि मानसिक घडी हो त्यो समय नै उल्टोपाल्टो गरिदिने ?

सिमसिमः तिमीले दिएको समय ३ बजे थियो र त्यो पर्खाइ मीठो थियो । एउटा विश्वासमा एक विचारले पर्खाइमा बस्दा समय गएको पत्तो भएन तर जब त्यो एक घण्टा कट्यो त्यसपछि मनमा अनेक तर्कनाहरू आँधी झैं आउन थाले । प्रत्येक पलमा नयाँनयाँ विचार आउन थाले । किन आउन ढिला भयो होला, के के भयो होला तिमीलाई त्यता, कतै नआउने पो हो कि त । ढाँटछल पो हो कि । कतै दुर्घटना पो भयो कि, कतिकति कुरा मनमा उब्जन थाले र एकथरी विचारले अर्को विचार थप्ने अनि एकले अर्कोलाई काट्ने पनि गर्न थाले नि । अनि त्यो आधा घण्टामा त्यतिविधि कुरा खेल्न थालेपछि ३० मिनेटको समय त ३० दिन कटाउने परेजस्तो भै गयो नि त आफूलाई । हजार सोच आधा घण्टामा अटाउन सजिलो कि एक सोच एक घण्टामा अटाउन सजिलो । आखिर विचार पनि त मनभित्र खेल्ने खेल त हो । एक घण्टामा बाघचाल खेल्नु र आधा घण्टामा बाघचाल चेस, जुँडो कराँते, क्रिकेट, कुस्ती खेली सक्नु एकै हो र ? अब तिमी आफैँ भन न ।

बुलबुलः उम्.. । साँच्चै यही भएर रहेछ कि त के पी ओलीले १४ वर्ष जेलमा बन्दीजीवन सजिलैसँग बिताउन सकेको तर जेल बाहिर निस्केपछि हजार काम र विचार, महत्वाकांक्षा र सकसका बीच अहिलेको पाँचवर्षे आयुको संसद् तीन वर्ष नि नपुगी भंग गरिदिएको । पहिला उनको एक लक्ष्य र एक विचार र सीमित काम हुन्थ्यो होला जेलभित्र र १४ वर्षको जेल बसाइ १४ महिना अथवा १४ दिनजस्तो नि लागेन होला । जब बाहिर निस्के र सक्रिय राजनीति गर्न लागे, त्यसपछि कयौं काम र कल्पना मनमा आए होलान् । आफ्नो अहँ र वर्चस्व कायम गर्ने जिजीविषालाई धक्का लाग्दा आफूले चलाएको सरकार र आफैँलाई प्रधानमन्त्री चुन्ने संसद् र आफ्नै दल काउसो झैँ अनुभव भयो होला । अनि त उनलाई प्रत्येक पल लामोभन्दा लामो बन्न गयो होला र त सरकार चलाएर तीन वर्ष पुर्‍याउन पनि ३० वर्ष काटेजस्तो भयो र संसद्को बाँकी दुई वर्ष त झन् दुई सय वर्ष झैँ तन्किन लागेको देखेर समय छोट्ट्याउन यो संसद् विघटनको उपाय निकाले होलान् ।

सिमसिमः त्यही त । समय त यसरी पो तन्किने, छोट्टिने र यसको आयतनमा फरक आउने रहेछ । सबै कुरा एकै ठाउँमा खप्ट्याउँदा नअटेर ठाउँको विस्तार लिने जस्तै एकै समयमा धेरै कुरा नअटेर समय नि फैलिने रहेछ । थोरै सामानलाई थोरै ठाउँ भए पुगेजस्तै थोरै सोचाइलाई थोरै ठाउँ भए त नि हैन । ध्यान गर्दा पनि एकाग्र भएर एक विचार अथवा एक काममा केन्द्रित हुनुपर्छ भनेको यही समयलाई छोटो र मीठो बनाउने उपाय त होला नि ।

(नोटः यसमा लेखिएका कुराहरू विज्ञानसम्मत् नहुन सक्छन्– लेखक )