देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टीके प्रथाले चौतारीमा भाँडभैलो

देशान्तर

काठमाडौं । प्रेस चौतारी नेपालको आठौं अधिवेशनमा मातृ पार्टी एमालेले हस्तक्षेप गरेर नेतृत्व चयन गरेको छ ।  एमाले नेताहरू विशेषगरी प्रचार विभाग प्रमुख योगेश भट्टराईले खल्तीबाट झिकेर चौतारीको नेतृत्वको नाम टाँसेको भन्दै व्यापक असन्तुष्टि बढेको छ । भक्तपुरको सिंगो जिल्ला समितिले साधारण सदस्यसमेत नरहने गरी चौतारीबाट राजीनामा गरेका छन् भने मेची अञ्चल इन्चार्ज रहेका र अहिले एक नम्बर प्रदेशबाट उपाध्यक्षका उम्मेदवार बनेको झापाका तीर्थ सिग्देलले पनि चौतारीको साधारण सदस्यबाट राजीनामा दिएका छन् । 

चौतारीको नेतृत्व चयन प्रक्रियामा अधिकांश माधव नेपाल समूहमा असन्तुष्टि बढेको छ । उनीहरूको आक्रोश विशेषगरी पार्टीका माधव नेपाल समूहमा रहेका प्रचार विभाग प्रमुख रहेका योगेश भट्टराईले कार्यकर्ता जोगाउन नसकेकोमा आक्रोश उत्पन्न भएको छ । साधारण सदस्यबाट समेत राजीनामा दिएर सिग्देलले आफ्नो फेसबुक पेजमा सहमतिको नयाँ परिभाषा भन्दै माथिकाले घोषणा गर्ने तलकाले  ताली बजाउने भन्ने टिप्पणी गरेका छन् । उनले नेपाल समूहमा पहिले टिम घोषणा गर्न लगाउने अनि डामेर छोड्ने भन्दै चौतारी झन्झन् गुटबन्दीमा  फसेको आरोप लगाएका छन् । 

चौतारीको नेतृत्व चयनबाट वर्तमान सञ्चारमन्त्री शेरधन राईसमेत असन्तुष्ट रहेको बताइएको छ । शेरधन राईको सचिवालयमा प्रेस हेर्ने ध्रुव सुवेदीलाई समेत केन्द्रीय सदस्य बनाइएका छैनन् । त्यही भएर उनी पनि असन्तुष्ट भएको बताइन्छ । माधव नेपाल पक्षका सचिवका उम्मेदवार गगनशीला खड्का, ५ नम्बर प्रदेशबाट उपाध्यक्षका उम्मेदवार सुमन बीसी, सचिवका उम्मेदवार सुरेश डाँगी पनि असन्तुष्ट बनेको बताइएको छ । 

चौतारीको अधिवेशनमा प्रचार विभाग प्रमुख भट्टराईले नेता माधव नेपालले भनेको समेत नमानेको बताइएको छ । उनले माधव नेपालको नाम लिएर केन्द्रीय समितिमा पर्न जानेहरूलाई आफू प्रचार विभाग प्रमुख भएको र चौतारीका लागि केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल सबै आफू भएको जवाफ दिएका थिए । चौतारीको अधिवेशनको बारेमा चौतारी आबद्ध वरिष्ठ पत्रकार खेम भण्डारीले एकदुईजना बचेरालाई जोगाउँदा धेरै बचेराको राजनीतिक हत्या गरिएको टिप्पणी आफ्नो फेसबुकमा गरेका छन् ।  </span>

नेकपा एमालेको जनवर्गीय संगठनका रूपमा रहेको पत्रकारहरूको संस्था प्रेस चौतारी, नेपालमा गणेश बस्नेतको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । यसअघि संस्थापन पक्षबाट गणेश बस्नेत र माधवकुमार नेपाल पक्षबाट माधव नेपालको छुट्टाछुट्टै प्यानल घोषणा गरिए पनि दुई पक्षबीच भागबन्डामा सहमति भई सर्वसम्मत नेतृत्व चयन भएको हो ।  अध्यक्षमा उठ्ने घोषणा गरेका माधव नेपाललाई वरिष्ठ उपाध्यक्षमा मनाएर सर्वसम्मत बनाइएको छ भने महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा सइन्द्र राई, प्रदेश नं १ उपाध्यक्षमा लीलाराज भट्टराई, २ मा लालबाबु शेष, ३ मा विश्वमणि सुवेदी, ४ मा गणेश पाण्डे, ५ मा सवि प्रियासन चौधरी, ६ मा वीरबहादुर गिरी र ७ मा नरेन्द्र साउद चयन भएका छन् ।  

चौतारीका महासचिवमा राजेश राई तथा उपमहासचिवमा रामकुमार एलन र हीरामान लामालाई निर्विरोध भएको घोषणा एमाले प्रचार बिभाग प्रमुख एंव सचिव योगेश भट्टराईले गरेका थिए । यसैगरी, खुला सचिवमा भरत केसी, अमृतनाथ तिमिल्सिना, रामकृष्ण शर्मा र सुरोजंग पाण्डे, मधेसी सचिवमा भउचप्रसाद यादव, जनजाति सचिवमा देविका घर्तीमगर र दलित सचिवमा हेमकर्ण विकलाई बनाइएको छ । कोषाध्यक्षमा इन्द्र आचार्य तथा लेखा र अनुशासन आयोगका संयोजकमा क्रमशः विक्रम लुइँटेल र जे पाण्डे घोषित भए । अन्य सदस्यहरूको समेत पार्टीले हस्तक्षेप गरी चयन गरेको छ । 

यसैबीच, चौतारीको राष्ट्रिय महाधिवेशनमा टीका लगाइदिएर नेतृत्व चयन गरेको भन्दै प्रेस चौतारी भक्तपुरका अध्यक्षसहित सबै सदस्यले राजीनामा दिएका छन् । पत्रकारको संगठन पार्टीले चलाएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् । प्रेस चौतारी भक्तपुरका अध्यक्षसहित सिंगो जिल्ला समितिले राजीनामा दिएको हो । जिल्ला कार्यसमितिका साथै सल्लाहकारहरूले पनि राजीनामा दिएका छन् ।  चौतारीका १३ सदस्यीय जिल्ला कार्यसमितिका सबै सदस्यका साथै सल्लाहकारहरूले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

 

]]>