देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आलियाको ‘गंवुबाइ’ अवतार, दर्शकले गरे खुलेर तारिफ

देशान्तर

काठमाडौँ – अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि भारतीय सिने उद्योग बलिउडमा नेपोटिज्म (परिवारवाद)बारे निकै बहस र चर्चा भयो । नेपोटिज्मको बहसका बेला अभिनेता बाबु–आमाका छोरा-छोरी (जो अभिनयमा छन्ले) आलोचना र गाली सहनु पर्‍यो । नेपोटिज्मको बहस चलिरहँदा सामाजिक सञ्जालमा सबैभन्दा बढी गाली र आलोचना सहनेमध्ये अभिनेत्री आलिया भट्ट पनि पर्छिन् ।

आलियाले अभिनय गरेका चलचित्रहरु बहिष्कार गर्नुपर्ने माग उठ्यो । यसबीच उनी अभिनित चलचित्र ‘सडक २’को ट्रेलर र गीतमा लाइक भन्दा डिसलाइक धेरै आयो । चलचित्र ओटीटी प्लेटफर्ममा रिलिज भयो । बलिउडमा नेपोटिज्मको बहस यसरी चर्किएको थियो कि, आलियाले आफ्नो सामाजिक संजालमा प्रतिक्रिया नै दिन नमिल्ने बनाएकी थिइन् । अत्याधिक मात्रामा गाली र अश्लिल प्रतिक्रिया आउन थालेपछि आलिया सामाजिक संजालबाट केही समय टाढा नै बसिन् ।

अहिले आलियाले अभिनय गरेको चलचित्र ‘गंगुबाई काठियावाडी’को टिजर रिलिज भएको छ । यो टिजरमा आलियालाई मात्रै फिचर गरिएको छ । टिजरमा समावेश भएका दृश्यमा उनले बोलेका संवाददेखि उनको हाउभाउले दर्शकको मन छोएको छ । सोही टिजरका कारण अहिले सामाजिक सञ्जालमा आलियाको कामको प्रशंसा भइरहेको छ ।

दर्शकहरुले आलियाको तारिफ गर्दै भन्न थालेका छन्, ‘परिवारकै कारणले बलिउडमा आए पनि आलिया अभिनयको खानी हुन् ।’ संजयलिला भन्सालीको निर्देशनमा तयार भएको यो चलचित्र ‘दि माफिया क्विन अफ मुम्बई’ पुस्तकमा आधारित छ । सन् १९६० को दशकमा मुम्बइको कमाठीपुरमा बेश्यालय चलाउने गंगुबाइको जीवन कथामा यो चलचित्र बनेको हो ।