देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामान्य नेपालीको असामान्य जीवनगाथा

देशान्तर

काठमाडौं । पर्यटन उद्यमी एवं नेपाल–फ्रान्स उद्योग वाणिज्य संघका अध्यक्ष श्याममोहन श्रेष्ठको जीवनगाथा कम्ता रोचक छैन । यही रोचक जीवनगाथाले श्रेष्ठले पस्तकार दिएका छन् । उनको आत्मवृत्तान्त ‘काठमाडौं–पेरिस–काठमाडौँ–रेल–बस यात्रा’ यतिबेला पठनयोग्य पुस्तकको रूपमा प्रकट भएको छ ।

केही साताअघि राजधानीमा आयोजित एक कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जाभिय लेजे र पर्यटन उद्यमी एवं लेखक कर्ण शाक्यले संयुक्त रूपमा सो पुस्तकको विमोचन गरेका थिए । ‘साहसले डोर्‍याएको जिन्दगी’ उपशीर्षक रहेको उक्त पुस्तकमा लेखक श्रेष्ठले बाल्यकालदेखि जागिरेजीवन र आफूले झेल्नुपरेका आरोहअवरोहलाई रोचक ढंगले प्रस्तुत गरेका छन् ।

सात दशक लामो जीवनयात्रामा आफूले भोगेका अनुभवलगायत विषय समेटिएको आफ्नो आत्मवृत्तान्तबारे जानकारी दिँदै उनले भनेका थिए, ‘काठमाडौंमा मैले आफ्नै जीवन बिताएँ, फ्रान्स बस्दा फ्रान्सेली जस्तै जीवनयापन गरेँ, फ्रान्स सरकारबाट उच्चस्तरको पदक पाउँछु भन्ने कल्पनासमेत गरेको थिइनँ, तर त्यहाँबाट सर्वोच्च पदकसमेत पाएँ ।’

शताब्दी पुरुष जोशीले प्रस्तुत आत्मवृत्तान्तबाट पाँच दशकअघिको नेपालको अवस्था, विश्वमा भएका परिवर्तन र नेपाल–फ्रान्स सम्बन्धका विविध आयामबारे मिहीन ढंगले वर्णन गरिएको उल्लेख गरे । राजदूत लेजेले फ्रान्स–नेपाल सम्बन्ध सुदृढ तुल्याउन नागरिकस्तरबाट उद्यमी श्रेष्ठले निर्वाह गर्नुभएको भूमिका अतुलनीय रहेको बताए । उनले नेपाल–फ्रान्स व्यापार प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेकामा सराह्रना गरे । पर्यटन उद्यमी कर्ण शाक्यले श्रेष्ठसँगका युवावयका अनुभवबारे चर्चा गर्दै पर्यटन उद्योगको विकासमा पनि लेखक श्रेष्ठको भूमिका प्रशंसनीय रहेको बताए ।

श्याममोहन श्रेष्ठ एयरलाइन्स तथा पर्यटन व्यवसायमा एक बहुचर्चित हस्ती, न्यानो आतिथ्य तथा सहयोगी स्वभावको कारण उहाँको प्रशंसकहरूको कमी छैन । उनले अति रोचक ढंगले आफ्नो यौवनावस्थादेखि हालसम्मको जिन्दगीका पानाहरू बुनेका छन् । पुस्तकमा खास कुरा नलुकाइकन इमानदारीका साथ आफ्नो भन्नुपर्ने कुराहरू व्यक्त गरिएको छ । लामो जिन्दगीको क्रममा भोगेका सुख दुःखका अवयवहरू प्रशस्तै दर्शाइएका छन् । कतिपय पारिवारिक पृष्ठभूमिका वर्णनहरू मनन्योग्य छन् ।

मनग्य आम्दानी भइरहेको जागिर छोडेर टाढाको देश फ्रान्ससम्म स्थलमार्गबाट भ्रमणमा निस्कनु र सात महिनापछि सकुशल स्वदेश फर्कनु भनेको एउटा साहसिक कार्यमा गनिन्छ । समयले मानिसमा कति परिवर्तन ल्याउदो रहेछ भन्ने कुरा उनको पुस्तकमा राम्ररी दशाईएको छ । जिन्दगीमा प्राप्त गर्न सकेको उपलब्धि, सफलताहरू तथा जति कोसिस गर्दा पनि पाउन नसकेको सफलताको बारेमा पनि उनले स्पष्ट रूपमा वर्णन गरेका छन् ।

समग्रमा यो पुस्तक एउटा साहसिक, जुझारु, कर्मठ तथा असफलताबाट कति पनि नहच्किने श्याममोहन श्रेष्ठको जीवनको प्रतिविम्ब मान्नु पर्दछ । किताबमा रमाइला प्रसंगहरू अनगिन्ती छन् । यसका साथै यस किताबमा जीवनका गम्भीर क्षण तथा मोडहरू पनि छन् जसलाई उनले सरल ढंगले प्रस्तुत गरेका छन् । कमै नेपालीले वैदेशिक भ्रमणका क्रममा उनले जति जोखिम मोलेका होलान् र उनको जस्तो एडभेन्चरस जीवन पनि धेरैको नहोला । सामान्य नेपालीले भन्दा फरक र लोभलाग्दो जीवन बिताएका श्रेष्ठको आत्मवृत्तान्त पढ्दा उनले चर्को मेहनत गरेको प्रष्ट अनुभूत गर्न सकिन्छ । प्रस्तुत पुस्तक पढ्दै गर्दा जीवन जगत्का विविध पाटाहरू उजागर गर्ने क्रममा विश्वजनीन भूगोल, संस्कृति, सभ्यता र अर्थतन्त्रसमेत आयामिक रूपमा सँगाल्दै पारिवारिक सम्बन्ध, प्रेम, रसरङदेखि दर्शनका फिलिंगाहरूसम्म झिलमिलाएको पाइन्छ । यस पुस्तकले हरेक मानिसमा अन्तर्निहित सार्वभौम सपनाहरू साकार बनाउनको निम्ति साहस, ऊर्जा, इमानदारी र उत्प्रेरणाको स्रोतका रूपमा विशिष्ट भूमिका निर्वाह गर्ने विश्वास गर्न सकिन्छ । सात शीर्षकहरू रहेको पुस्तकमा २७ वटा उपशीर्षकहरू कुल ३३१ पृष्ठमा समेटिएका छन् । लेखक स्वयंले प्रकाशन गरेको पुस्तकको मूल्य चार सय रुपैयाँ राखिएको छ ।