पाल्पा । पाल्पाको देवीनगरमा बालुवाको ढिस्कोले पुरेर दुई जनाको ज्यान गएको छ ।
जिल्लाको पूर्वखोला गाउँपालिका–४, देवीनगर बलीपोखराकी १३ वर्षीया पवित्रा सारु र ३६ वर्षीया मायादेवी सिंहको आज (शनिबार) ढिस्कोले पुरेर मृत्यु भएको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।
सारुको घटनास्थलमै र सिंहको गाउँकै मेडिकलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । देवीनगरको छेबकुनमा रहेको बालुवा खानीमा गाउँको समूह मिलेर नौ जना बालुवा लिन गएका थिए । बालुवा खन्ने क्रममा ढिस्को खसेर दुई जनालाई च्यापेको पूर्वखोला–४, देवीनगरका वडा सदस्य मेहरसिंह थापाले जानकारी गराए ।
उनका अनुसार बलीपोखरा गाउँमै बालुवा खानी रहेको छ । गाउँमा घर बन्दै गरेको र समूह मिलेर बालुवा खन्न गएका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी पचभैयाले बताए ।
प्रतिक्रिया