देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महिला लिग फुटबलकाे समापन आज

देशान्तर

राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलको समापन आज हुँदै छ । त्यसअघि आज दुई वटा खेल हुने छन् । पहिलो खेल एन्फा मैदान सातदोवाटामा हुँदा अन्तिम खेल र समापन समारोह भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने छ । आजको खेलको नतिजाले भने उपाधि समिकरणमा कुनै असर पर्ने छैन ।

आज हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले पुछारमा रहेको चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ ।

यो खेल जित्दा पुलिस तेस्रो स्थानमा रहेर लिग सकाउने छ भने बराबरी वा पराजयले पुलिस तालिकाको पाँचौं स्थानमा रहनेछ ।

यस्तै, लिगको उपाधि जितिसकेको सशस्त्र प्रहरीको एपीएफले दशरथ रङ्गशालामा त्रिभुवन आर्मी क्लबसँग खेलेपछि यो सिजनका महिला लिग सकिनेछ ।

अहिलेसम्मका सबै ११ खेल जितेको एपीएफ ३३ अंकसहित शीर्ष स्थानमा रहेको छ भने उपविजेता आर्मीको २६ अंक छ । आजको खेलमा पनि एपीएफ अपराजित रहँदै प्रतियोगिता सकाउने लक्ष्यमा हुँदा एपीएफविरुद्ध अप्रत्यासित नतिजा निकाल्ने दाउँमा आर्मी रहने छ ।

राष्ट्रिय महिला लिग फुटबलमा तीन वटा विभागीय टोलीहरु आर्मी, पुलिस र सशस्त्रसँगै स्याङ्जाको वालिङ नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ, दोस्रोले ८ लाख रुपैयाँ, तेस्रोले ५ लाख रुपैयाँ र चौथो हुनेले ३ लाख रुपैयाँ पाउनेछन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर र विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन् ।