काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना मुद्दामा अदालत पुगेर लिखित जवाफ पेश गरेका छन्। बिहीबार प्रधानमन्त्री ओली स्वयं सर्वोच्च अदालत पुगेर सर्वोच्चमा लिखित जवाफ पेश गरेका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सर्वोच्चमा लिखित जवाफ पेश गरेर प्रधानमन्त्री ओली फर्किसकेका छन्।
प्रधानमन्त्री ओलीले माघ नौ गते आफ्ना कार्यकर्ताको भेलामा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा बहसलाई तमासा भनेको भन्दै उनीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको थियो।
गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री र चार पूर्व(प्रधानन्यायधाीशहरू तथा पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो।
चार पूर्व(प्रधानन्यायाधीशले यसअघि नै अदालत गएर म्याद बुझी लिखित जवाफ पेश गरिसकेका छन्।
प्रतिक्रिया