धुलिखेल । शिक्षाविद विद्यानाथ कोइरालाले विद्यार्थीलाई चौतर्फी शिक्षण सिकाइमा जोड दिनुपर्ने बताएका छन् । शिक्षा पत्रकार समूहको २१ औँ बार्षिकोत्सवका अवसरमा धुलिखेलमा आयोजित कार्यक्रममा बोल्दै शिक्षाविद कोइरालाले विद्यार्थीको चौतर्फी सिकाईमा जोड दिए मात्रै शिक्षा व्यावहारिक हुने बताएका हुन् ।
‘अहिलेको पुस्ता भर्सटायल छ । भर्सटायल पूस्तालाई जति धेरै व्यवहारिक ज्ञान सिकायो त्यति राज्यलाई फाइदा हुने हो,’ उनले भने, ‘यसका लागि विद्यालय शिक्षादेखि चौतर्फी शिक्षण सिकाईमा जोड दिनुपर्छ । अनि शिक्षालाई अनुसन्धानमुखी पनि बनाउनुपर्छ ।’
शिक्षालाई पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको जोश जाँगरसँग जोड्ने कडीका रूपमा विकास गर्नुपर्ने पनि उनले बताए । तर शिक्षाका मुद्दामा अध्ययन, अनुसन्धान र छलफल गर्ने ‘रिसर्च सेन्टर’को आवश्यकता रहेको उनले बताए ।
यस्तै कार्यक्रममा शिक्षा पत्रकार समूहका संस्थापक अध्यक्ष राजन शर्माले शिक्षालाई पत्रकारिताको एउटा बिटका रुपमा विकास गर्न समूहको उल्लेख्य भूमिका रहेको बताए । शैक्षिक मुद्दा उठाउन र नीतिगत निर्णयमा समूहले उठाएका शैक्षिक मुद्दाहरु महत्वपूर्ण रहेको पनि उनको भनाइ छ ।
समूहको नेतृत्वमा राजनीतिक रंग नदेखिनु शिक्षा पत्रकार समूहको विशेषता रहेको उल्लेख गर्दै उनले शैक्षिक मुद्दालाई आम बहसको विषय बनाउनुपर्नेमा पनि जोड दिए । यस्तै समूहका पूर्वअध्यक्ष सुदर्शन घिमिरेले कोभिड १९ को संकटपूर्ण अवस्थामा पनि शैक्षिक मुद्दाहरुलाई उजागर गर्न शिक्षा पत्रकार समूहले महत्वपूर्ण भूमिका खेलेकाले आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्ने बताए ।
समूहका अध्यक्ष तुला अधिकारीले शिक्षा पत्रकार समूहको गौरवमय इतिहासलाई सम्मान र निरन्तरता दिँदै नयाँ कार्ययोजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । शिक्षालाई बिट पत्रकारिताका रुपमा विकास गर्न २०५६ सालमा शिक्षा पत्रकार समूह स्थापना भएको थियो । समूहको सातै प्रदेशमा प्रादेशिक समिति समेत छन् ।
प्रतिक्रिया