देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मन्त्री, भीसी र रेक्टर मिलेर वीर अस्पताल डुबाउँदै

देशान्तर

काठमाडौं । राजनीतिले नराम्रो जरा गाडेको र सधै अस्तव्यस्त रहने वीर अस्पतालमा नयाँ सर्जिकल ब्लक सुरु नहुँदै नयाँ लफडाहरू सुरु भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्वायत्त संस्था भएकोले त्यस ब्लकमा सरकारी चिकित्सकलाई नराखी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले आफैं कर्मचारी भर्ना गर्नुपर्ने भन्दै केही समूह लागि परेपछि नयाँ लफडाको सुरुआत भएको हो ।

चाकडीको भरमा टीका लगाएर वीर अस्पतालमा पसेका र वर्षौंदेखि अखडा बनाएर बसेका डा. दीपेन्द्र श्रेष्ठ र डा. पारसमणि श्रेष्ठले सरकारी स्थायी चिकित्सक आएर आफ्नो लखनउ लुटमा असर परेकोले यो गुटलाई मलजल गरिरहेको स्रोतले बतायो । अर्कोतिर स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र उपकुलपति डा. देवनारायण साह आफ्ना कार्यकर्ता भर्ती गर्ने मौका यही हो भनेर फुरुंग परेका छन् । त्रिपाठी मन्त्री हुनु अगाडि उपकुलपतिसँग सामान्य बोलचाल पनि नगर्ने रेक्टर डा. सुबोध अधिकारी मन्त्रीको आशीर्वाद पाइन्छ भनेर अहिले आएर मन्त्रीको लगौटिया यार भनेर दाबी गर्ने उपकुलपतिका हनुमान बनेर सबै निर्णय सदर गरिरहेको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार सर्जिकल ब्लकलाई राष्ट्रिय ट्रमा सेन्टर जस्तै वीर अस्पतालबाट छुट्ट्याएर आफ्नो अभीष्ट पूरा गर्न विभिन्न गुट लागिपरेसँगै यसो भए त्यस अस्पतालको निर्देशक बन्ने होडमा पनि केही मन्त्री निकट डाक्टरहरू लागिपरेका छन् ।

वीर अस्पताल नेपाल सरकारकै केन्द्रीय अस्पताल मात्र नभई अति विशिष्ट सेवा प्रवाह गर्ने एक मात्र सरकारी अस्पताल भएकोले हचुवाको भरमा यस्ता दूरगामी असर पर्ने निर्णय गर्न नहुने अधिकांश सरकारी चिकित्सकको राय छ ।

सरकारी चिकित्सकमध्ये तहगत सबैभन्दा उच्च चिकित्सक विभागीय प्रमुख हुने प्रचलनलाई हटाई समितिका टीके डाक्टरलाई प्रमुख बनाई सरकारी डाक्टरविहीन अवस्थामा वीर अस्पताल पु¥याउने प्रपञ्चको विरुद्ध निर्णय सच्याउन समयसीमा दिएका सरकारी चिकित्सक संघ पनि यतिबेला आन्दोलनको संघारमा रहेको बुझिएको छ ।

‘एकतर्फ सरकारी स्थायी चिकित्सकलाई विस्थापित गर्न एकपछि अर्को निर्णय पदाधिकारी गर्दैछन् भने आफ्नै निर्णयलाई धोती लाउँदै ६ महिने करारका डा. गौरव ढकाललाई प्राध्यापकमा बढुवा गरेका छन्’, स्रोतले भन्यो । अर्थमन्त्री विष्णु पौडेलका ज्वाईं डा. ढकाललाई यसरी बढुवा गरी पदाधिकारीले मन्त्री खुसी पारे पनि ट्रमा सेन्टरमा भित्रभित्र आगो बल्न थालेको स्रोतले बतायो ।
वीर अस्पतालको भाइबर ग्रुपमा युरोलोजीका डा.अनिल श्रेष्ठले निर्देशक डा. केदार सेन्चुरीलाई मेन्सन गरेर हालसालै गरेको एउटा मेसेज गरियो । उक्त म्यासेजले जो चोर उस्कै ठूलो स्वर भन्ने उखान चरितार्थ भएको स्रोतले जानायो । उनले अप्रेसनमा प्रयोग हुने दुवै लेजर मेसिनलगायत सामानहरू बिग्रेर अप्रेसन ठप्प भएको भनी पानी माथिको ओभानो हुन खोजेका छन् । यथार्थमा चालू हालतमा रहेका करोडांै पर्ने दुवै मेसिन निज श्रेष्ठले नै लापरवाहीपूर्ण चलाएर बिगारेको स्रोतको दाबी छ ।

वीरमा सामान बिगारेर बिरामीलाई भक्तपुरको इवामुरा, बी एन्ड बी र ग्रान्डी अस्पताल पु¥याउन पल्किएका श्रेष्ठले यसअघि पनि अप्रेसन गर्ने लाखौं पर्ने टेलिस्कोपहरू बिगारेर आफूलाई चोखो बन्न सफल भएका थिए । युरोलोजीको विभागीय प्रमुख आफू हुने दाबी गर्दै हिँडेका श्रेष्ठ प्रमुख हुन नपाउनु र एकएक गरेर महँगा औजार बिग्रन थाल्नु स्याल कराउनु र कुखुरा हराउनु एकै पटक परे झैं संयोग मात्र नभएको स्रोतले बतायो ।