देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भिषण हावाहुरीका साथ वर्षा हुँदा राजमार्ग अवरुद्ध

देशान्तर

रौतहट । भिषण हावाहुरी तथा वर्षाका कारण जिल्लामा लाखौँ मूल्यबरावरको धनमाल क्षति भएको छ । 

आज बिहान ९ः३० बजेदेखि आएएको हावाहुरी र वर्षाले जिल्लाका विभिन्न भागमा ठूलो क्षति पु¥याएको प्रारम्भिक विवरण आइरहेको छ । 

करिब एक घन्टासम्म चलेको भिषण हावाहुरी र वर्षाले गर्दा पूर्व पश्चिम राजमार्गअन्तर्गत चन्द्रपुर नगरपालिकादेखि पश्चिमतर्फको जङ्गलमा रुख ढल्दा सवारी आवागमन अवरुद्ध भएको छ । 

सवारी आवागमन अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले रुख हटाई सवारी सुचारु गरेको थियो । सोही राजमार्गअन्तर्गत पूर्वी भेगको बागमती खण्डको सडकमा समेत रुख ढलेर आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

हावाहुरीका कारण आँप, लिची, मकैलगायतका बालीमा ठूलो क्षति पुगेको छ भने पोल्ने अवस्थामा राखिएका इँटा पानीले भिजेर नष्ट भएका छन् । 

त्यस्तै हावाहुरीले चन्द्रपुर नगरक्षेत्रका अधिकांश सर्वसाधारणका फुसका घरका छानासमेत उडाई क्षति पु¥याएको छ । 

वर्षासँगै आएको हावाहुरीले जिल्लाका विभिन्न भागमा रहेका विद्यालयका छानो उडाउँदा आजको पठनपाठन अवरुद्ध भएको छ । हावाहुरीले जिल्लामा लाखौँ मूल्य बराबरको धनमाल क्षति पु¥याएको स्थानीय बासिन्दाले बताएका छन् । 

जिल्लामा हावाहुरीका कारण भएको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

]]>