इन्टर मिलान इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा लाजिओलाई ३–१ गोलले पराजित गरेर इन्टर मिलान शीर्ष स्थानमा पुगेको हो ।
घरेलु मैदानमा भएको खेलमा इन्टरका लागि रामेलु लुकाकुले दुई तथा लौतारो मार्तिनेजले एक गोल गरे । लाजिओका लागि मिलिन्कोविक–साविकले एक गोल गरे । इन्टर मिलानका लागि खेलको २२ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरी अग्रता दिलाए । खेलको ४५ औँ मिनेटमा उनले गोल गरेर अग्रता दोब्बर पारे ।
मिलिन्कोविक–साविकले ६१ औँ मिनेटमा लाजिओका लागि एक गोल फर्काए । ६४ औँ मिनोटमा मार्तिनेजले गोल गरेपछि इन्टर मिलान ३–१ गोलले विजयी भयो ।
जितपछि इन्टर मिलानको २२ खेलबाट ५० अंक भएको छ । दोस्रो स्थानमा झरेको एसी मिलानको समान खेलबाट ४९ अंक छ ।
आइतबार राति नै सम्पन्न अन्य खेलमा एट्लान्टाले काग्लिएरीलाई १–० ले, रोमाले युडिनेसलाई ३–० ले, साम्पडोरियाले फियोरेन्टिना तथा सासुओलोले क्रोतोनेलाई समान २–१ गोलले पराजित गरेको छ ।
प्रतिक्रिया