काठमाण्डौ . नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हजारौं सहिदले बलिदानी गरेर लेखेको संविधान नै धरापमा जाने खतरा बढेको बताएका छन् ।
काठमाण्डौमा बारबर्दिया नगरपालिकाले आयोजना गरेको “जीवनगाथा” पुस्तक विमोचन कार्यक्रममा उनले ठूलो बलिदानपछि प्राप्त भएको उपलब्धि नै गुम्ने खतरा बढेको बताएका हुन् ।
युद्धकालीन समयमा भएको बलिदानीसँगै शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापनका साथै शान्ति सम्झौतालाई सफल पार्न आफूहरुले खेलेको भूमिकालगायतका सबै काम युगान्तकारी भएको प्रचण्डको भनाई छ ।
उनले पार्टीको नेताको र युद्धको परिकल्पनाकारको हैसियतले आफूले उत्पीडित समुदायको विचार र उत्पीडनलाई उजागर गर्न भूमिका मात्रै खेलेको तर तत्कालीन विद्रोह उत्पीडित समुदायको विद्रोह नै भएको बताए ।
युद्धकालीन समय योगदान पुर्याएका व्यक्तित्वका बारेमा विभिन्न पुस्तकहरु प्रकाशित भए पनि सरकारका तर्फबाट वैधानिक ढङ्गले प्रकाशित भएको पहिलो ऐतिहासिक दस्ताबेज भएको भन्दै जीवनगाथा प्रकाशित गर्नेमा बारबर्दिया पहिलो नगरपालिका भएको बताए ।
प्रतिक्रिया